कचनकवलमा सर्पदंशबाट ज्यान गुमाउनको सङ्ख्या शून्य, एक वर्षमा २४५ जनाको सफल उपचार

हिमालय टाइम्स
Read Time = 3 mins

पार्थ मण्डल/झापा

दक्षिणी झापाको कचनकवलमा स्थापना गरिएको सर्पदंश उपचार केन्द्रले एक वर्षमा २४५ जनाको सफल उपचार गराएको छ । दक्षिणी भेगमा सर्पदंशको उपचार केन्द्र नहुँदा त्यहाँका मानिसले अकालमै ज्यान गुमाउँदै आएका थिए ।

स्थानीय तथा विद्यार्थीको दबाबपछि कचनकवल गाउँपालिकाले २०७८ असार ३ गते कचनकवल– ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानी हाताभित्र सर्पदंशको उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।
केन्द्रले एक वर्षमा १४१ महिला र १०४ पुरुष गरी २४५ जनाको सफल उपचार गराएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले जानकारी दिनुभयो ।

बर्खा लागेसँगै कचनकवलमा विषालु सर्पको बिगबिगी बढ्छ । जसकारण बर्सेनि यहाँका मानिसले समयमा उपचार नपाएर अकालमै ज्यान गुमाउँदै आएको बताउँदै उहाँले भन्नु भयो, ‘सर्पदंश उपचार केन्द्र स्थापना भएपछि एक वर्षमा कसैले पनि ज्यान गुमाउनु परेन, ६ वटा जटिल केस आउँदा पनि ती बिरामीलाई सफल उपचार गराई घर फर्काएका छौँ ।’

केन्द्रमा कचनकवलबासीसहित छिमेकी पालिका भद्रपुर, बाह्रदशी, छिमेकी राष्ट्र भारत विहारका विभिन्न स्थानबाट सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेको उहाँको भनाई छ । यसअघि सर्पदंशका बिरामीहरुलाई मेचीनगरस्थित चारआली सर्पदंश उपचार केन्द्र लैजानु पर्ने बाध्यता थियो ।

यता केन्द्र स्थापना भएको पहिलो वार्षिक उत्सवको अवसरमा शुक्रबार सर्पदंश उपचार सेवामा खटिने दुई जना प्राविधिक स्वास्थ्य कर्मचारीलाई सम्मान गरिएको छ । उपचार सेवामा खटिने हृदयनारायण शाह र मोहम्मद नवाज नुरीलाई सम्मान गरिएको थियो ।

स्वास्थ्य शाखा प्रमुख यादवको अध्यक्षता तथा कचनकवल ६ नम्बर वडा अध्यक्ष चिन्तामणि खरेलको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा ६ नम्बरका निवर्तमान वडा अध्यक्ष कुलबहादुर कार्की, इलाका प्रहरी कार्यालय बनियानीका वरिष्ठ प्रहरी नायब निरीक्षक नरबहादुर तुम्बाहाम्फे, नेपाली काँग्रेस प्रदेश (१)का सभापति दिलबहादुर कार्की लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन स्थानीय शिक्षक रत्नकुमार बुढाथोकीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँहरूले सर्पदंश उपचार केन्द्रलाई अलग्गै भवनको प्रबन्ध गरी भेन्टिलेटर सहितको सुविधा थपेर देशकै नमुना बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?