बाँकेमा ‘जेब्रा क्रसिङ’ रङरोहन गर्दै ट्राफिक प्रहरी

हिमालय टाइम्स
Read Time = 4 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक क्षेत्रमा रहेका जेब्रा क्रसिङ रंग्याउन सुरु गरेको छ । सडक सुधार अभियानअन्तर्गत विभिन्न संघ संस्थाहरूसँग मिलेर कार्यालयले कोहलपुर क्षेत्रमा रहेका विभिन्न सडकहरूमा जेब्रा क्रसिङ तथा सुरक्षा चिन्हहरू रंगरोहन गर्न थालेको हो । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सुरक्षाका लागि सुरक्षा चिन्ह निर्माण तथा रङरोहन सुरु गरिएको कार्यालय प्रमुख तिलकबहादुर सुनारले बताउनुभयो । यस्तै, जिल्लाका अन्य स्थानमा पनि यो अभियान सञ्चालन गरिने उहाँको भनाइ छ ।

उहाँका अनुसार बाँके जिल्लामा रहेको सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनाका लागि कोहलपुर लगायतका क्षेत्रमा रहेका सडकहरूमा रङरोहन सुरु गरिएको हो । बाँके जिल्लालाई सवारी दुर्घटना मुक्त बनाउने अभियानअन्तर्गत विभिन्न संघसंस्था तथा विद्यालयहरूसँग मिलेर काम सुरु गरिएको बताउनुभयो । ‘दुर्घटना न्यूनीकरणका लागि अभियान थालिएको छ । यो अभियानमा सहयोगीहरू जोडिरहनु भएको छ । सबैको साथको आशासमेत गरेका छौँ,’ उहाँले भन्नुभयो ।

सोही अभियानअन्तर्गत आइतबार कोहलपुर चौराहास्थित कार्यालयको अगाडि रहेको जेब्रा क्रसिङ क्षेत्रमा रङरोहन गरिएको छ । भोलिन्टियर सोसाइटी अफ बाँकेको आयोजनामा उक्त क्षेत्रमा पुरिएका जेब्रा क्रसिङमा सेतो रंग लगाउने काम सम्पन्न भएको उहाँको भनाइ छ । सोसाइटी र कार्यालय मिलेर आगामी दिनमा पनि यस्ता ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरणसम्बन्धी काम गरिने उहाँले बताउनुभएको छ । सो कार्यका लागि सहयोग तथा समन्वय पञ्चमुखी अंग्रेजी माध्यमिक विद्यालयले गरेको कार्यालयले जनाएको छ । पञ्चमुखी स्कुलका सञ्चालक किशोरराज मल्लले विद्यालयले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको बताउनुभयो ।

भोलिन्टियर सोसाइटी अफ बाँकेका अध्यक्ष दीपककुमार शाहीका अनुसार संस्थाले भोलिन्टिएर रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ । जेब्रा क्रसिङ रङरोहन कार्यको लागि पनि विद्यालयको सहयोग मागिएको उहाँले बताउनुभयो । विभिन्न निकायबाट सहयोग मागेर सार्वजनिक हितका लागि संस्थाले काम गर्ने उहाँको भनाइ छ । भोलिन्टियर सोसाइटी अफ बाँकेका सचिव दिनेशराज न्यौपानेका अनुसार सोसाइटीले बाँके जिल्लामा विभिन्न क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । उक्त कार्यमा कोहलपुर नगर प्रहरी र ट्राफिक प्रहरीको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?