अष्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध

Read Time = 3 mins

क्यानबेरा । अष्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताउनुभएको छ । साथै उहाँले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताउनुभएको छ ।

यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन् । युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली संघका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन् । ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ ।

चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आबद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलब्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँच बाहिर राख्ने बताएको छ । अन्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण संकलन गरेको आरोपमा टिकटकको मातृ कम्पनी विवादमा पर्दै आएको छ । यद्यपि उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको दाबी गर्दै आएको छ ।

गोपनीयता र सुरक्षा चिन्ता जनाउँदै भारतले सन् २०२० मा टिकटक र ‘मेसेजिङ एप वी च्याट’ लगायत दर्जनौं चिनियाँ एपमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो । चीन र भारतबीचको सीमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएपछि नयाँदिल्लीले उक्त निर्णय गरेको थियो । चिनियाँ र भारतीय सेनाबीचको भिडन्तमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने दर्जनौं घाइते भएका थिए ।

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएकामा चीनले त्यसको आलोचना गर्दै त्यसलाई राज्यशक्तिको दुरुपयोग भनेको छ । साथै उसले अन्य देशका कम्पनीलाई अमेरिकाले दबाइरहेको आरोप पनि लगाएको छ । रासस÷एपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?