बदलिन नसकेका वर्ग

हिमालय टाइम्स
Read Time = 7 mins

राणाशासन हटाउने आन्दोलनमा पनि जनताको स्तर उकास्ने नारा अगाडि सारिएकै थियो । त्यसैले प्रजातन्त्र आयो । त्यसपछि ११७ सालमा पञ्चायती व्यवस्थाको सुरुवात गर्दा पनि त जनताकै नाममा नाराहरू लगाइएको थियो, संसदीय प्रणालीका असफलताका कारण बताउने गरिएको थियो र पाठ्यपुस्तकहरूमा यस्तै कुरा राखेर विद्यार्थीलाई घोकाइएको थियो । ती विषय कतिले पत्याएरै पढेका थिए भने कतिले कथा पढ्नका लागि पढ्ने गरेको थिए । पञ्चायतकालमा भएका केही प्रतिनिधि आन्दोलनमा पनि जनतालाई तपाईंहरूको जीवनस्तर उकास्न भन्ने गरिएको थियो । चाहे २०२८ सालको झापा आन्दोलन होस् वा २०३१ सालको ओखलढुंगा सशस्त्र क्रान्ति नै किन नहोस्, सबैका अन्तर्यमा यस्तै विना प्रतिबिम्बित भएको थियो । २०३६ सालको देशव्यापी विद्यार्थी आन्दोलन होस् कि २०४२ सालको सत्याग्रह होस् तिनमा पनि जनतालाई नै नारामा समेटिएको थियो । २०४६ सालको जनआन्दोलन त सफल आन्दोलन नै भइहाल्यो । त्यसमा जनता नै अगाडि आएका थिए आफ्नो शक्तिका लागि । आन्दोलनमा संलग्न पहिलो पुस्ताका धेरैको मृत्यु भइसक्यो र केही बाँकी भए पनि वयोवृद्ध अवस्थामा हुनसक्छन् ।

त्यसबेलाको दोस्रो पुस्ता अहिले पहिलो पुस्ता र तेस्रो पुस्ता दोस्रो पुस्ता बनिसकेको छ । जो हालको तेस्रो पुस्ता छ उक्त पुस्ताले २०४६ सालको जनआन्दोलन देख्न र भोग्न पाएर हाल त्यसबारेमा सुन्ने र पढ्ने अवसरमात्र पाइरहेको छ ।

जनताकै मुक्तिको नाम गरेर माओवादीले सशस्त्र विद्रोह थालनी गरेको थियो । अन्तर्राष्ट्रिय कारण र समर्थनसमेत भएकोले त्यस विद्रोहले भयावह रूप लियो, वर्णन यहाँ सविस्तार सम्भव छैन । माओवादी पार्टीले विभिन्न जातीय प्रदेशहरूको नारा त्यतिबेला नै अघि सारेको थियो र ताम्सालिङ, नेवा, थरूहटलगायत पहिचानको आश्वासन दिएको माओवादी अन्ततः शान्ति प्रक्रियामा आएपछि भनाइ र गराइमा पृथक देखिन थाल्यो । हाल निर्धारण गरेका सात प्रदेशहरू विनापहिचान नामकरण भए, मधेस प्रदेशमा भने स्थानीयता झल्किएको छ । पाँच वर्षसम्म नाम राख्न नसकेको भनेर आलोचना व्यहोर्दै आएको नम्बर-१ प्रदेशले बल्ल दोस्रो कार्यकालमा नाम जुराउन सक्यो ‘कोशी प्रदेश’ भनेर । काम खोज्नेभन्दा नाम खोज्नेहरूका कारण हाल उक्त क्षेत्रमा पहिचानसहितको नाम चाहियो भनेर आन्दोलन भइरहेको छ ।

यही क्रममा एकजनाको मृत्युसमेत भइसकेको छ । आन्दोलनमा कत्तिको तुक होला ? त्यो राजनीतिक विषय बन्न जाला तर नामभन्दा पनि काम खोज्नुपर्ने हो जनताले । जनता भनेको माध्यम मात्र बनिदिने गरेको छन्, तिनलाई कसले कसरी परिचालन गर्ने हो त्यसरी नै अगाडि बढ्ने गरेका छन् । नेपालका कम्युनिष्टहरूले गाउँगाउँबाट उठ, बस्ती-बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ.... भनेर नेपालका प्रायः ठाउँका बासिन्दालाई आन्दोलित गरेको थियो । त्यो नारा अहिले सार्थक बन्न सकेको छ कि छैन ? उनीहरूले समेत मूल्यांकन गर्ने गरेका छैनन् ।

फेरिन नसकेको मुहार खलियन, हलिया, दलित, अन्य वर्ग आरक्षणबाट आएको छ तर कमलरी हलिया, खलियाहका लागि आरक्षण पनि छैन । जसलाई त्यसबेला जे-जे दिन्छौं भनेर विद्रोहमा लगाइएको थियो अहिले मुख्य आश्वासनबमोजिमका ती दिन नसकिएका हुन् । यसका दुईवटा कारण ! एउटा सत्तामा पुगेपछि विद्रोहमा संलग्न पक्षको मनस्थिति परिवर्तन् भयो र हलिया-हलिया नै रहिरहे, कमलरी कमलरी भइरहेका छन् ? अनि खलिया हरू खलिया नै छन् । अर्को कारण ती आश्वासन असम्भव थिए र अहिले पूरा हुनसकेका छैनन् । तत्कालीन विद्रोही शक्तिका वर्गमित्र पार्टीहरूले न उनीहरूका त्यस्ता आश्वासनको चर्को विरोध गरेको थिए ।

सैद्धान्तिक रूपमा भिन्न वा अर्को शब्दमा उनीहरूकै शब्द सापट लिएर भन्ने हो भने वर्गशत्रुमा पर्ने नेपाली कांग्रेस तटस्थ दृष्टिकोण राखेर बसेको थियो, अहिले वर्गमित्र भइरहेको छ । यही हो राजनीतिमा कोही स्थायी शत्रु र स्थायी मित्र हुँदैन भनेको । पहिचानको भलिभाँती आश्वासनका पोका बाँड्ने पार्टी अहिले कोशी प्रदेशको नाममै पहिचान छ भन्ने जवाफ दिएको छ । त्यो वास्तविक हो तर उसले पहिले दिएको आश्वसनका आधारमा भन्ने होभने चाहिँ त्यस प्रतिक्रियामा कृत्रिम प्रतिक्रिया छ । भावनामा निष्कपट नहँुदासम्म हलिया, कमलरी, खलिया कोहीको अवस्थामा सुधार आउँदैन र सुधार ल्याऊँ भनेर चाहने हो भने चाहिँ तिनको अवस्थामा सुधार आउन कति पनि बेर लाग्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?