आर्मी र पुलिस विजयी

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाल आर्मी र नेपाल पुलिस विजयी भएका छन् । विराटनगरको शहीद रंगशालामा भएको खेलमा आर्मी र पुलिस विजयी भएका छन् भने कोशी र मधेस प्रदेशबीचको खेल बराबरी खेल्दै अंक बाँडे ।

कोशी र मधेस प्रदेशबीच भएको खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेल्दै १-१ अंक बाँडेका छन् । कोशीका लागि विसु घिमिरे र मनोज चौधरीले गोल गर्नुभयो भने मधेस प्रदेशका लागि पंकज दाहाल र राहुल साहले गोल गर्नुभयो । खेलको म्याद अफ द म्याच कोशीका मनोज चौधरी हुनुभयो ।

दोस्रो खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई ८-० गोलअन्तरमा पराजित गरेको छ । पुलिसका लागि महेश धामीले ५ गोल, आयुष साह, केशव जोशी र रोहित लामाले समान १–१ गोल गर्नुभएको छ । म्यान अफ द म्याच पुलिसका महेश धामी हुनुभयो ।

त्यस्तै, तेस्रो खेलमा नेपाल आर्मीले कर्णाली प्रदेशलाई १३-० फराकिलो गोल संख्यामा पराजित गरेको छ । आर्मीका रोमन रानाले ६ गोल, प्रदीप राजवंशीले ३, अमरबहादुर गुरुङले २ गोल, रजिञ्त राउत, देवसिंह धामीले समान १-१ गोल गरेका थिए । म्यान अफ द म्याच आर्मीका रोमन राना हुनुभयो ।

आर्मी २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ । पुलिस १ खेल जित्दै ३ अंक प्राप्त गरेको छ । कोशी र मधेस प्रदेशको १-१ अंक तालिका रहेको छ । चैत २७ गतेसम्म हुने प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुसिल, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।

प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश, दोस्रो खेल नेपाल आर्मी र गण्डकी प्रदेश तथा तेस्रो खेल नेपाल पुलिस र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?