‘विज्ञापन क्षेत्रको दायरा बढाउनुपर्छ’

Read Time = 4 mins

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारणसभामा बोल्दै उहाँले अझै पनि विज्ञापन व्यवसायीको दायराभन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै त्यस्ता व्यवसायीलाई दायरामा ल्याउन आवश्यक रहेको बताउनुभएको हो ।

मन्त्री रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याउन लागेको जानकारी गराउँदै सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विज्ञापन व्यवसायीको ठूलो भूमिका छ । विज्ञापन क्षेत्रको दायरा बढाउँदै जानुहोला । सरकारको राष्ट्रिय नीतिले पनि विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउने विषय समेट्नेछ । नेपालमा अन्तर्राष्ट्रियस्तरबाट सामान बेच्ने गरेका छन् तर विज्ञापन दिने कुरा सम्भव हुन सकेको छैन । त्यसलाई पनि कानुनी दायरामा ल्याउनु आवश्यक छ ।’

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले वर्तमान अवस्थामा विज्ञापन बजारलाई विस्तार गरेरमात्रै सञ्चारमाध्यमलाई धान्न सक्ने अवस्था नभएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारणसभामा उहाँले पछिल्लो समय सञ्चारमाध्यमको अनियन्त्रितरूपमा गुणात्मकभन्दा संख्यात्मक विस्तार सुधार गर्न आवश्यक रहेको बताउनुभयो । करिब तीन करोड जनसंख्या भएको मुलुकमा दुई सय ३० टेलिभिजन दर्ता भएको र एक सय २५ टेलिभिजनले आवेदन दिएको हुुमागाईंले जानकारी गराउनुभयो । सञ्चारमाध्यमको अस्वस्थ विस्तारलाई विज्ञापन बजारले धान्न नसक्ने भन्दै उहाँले विज्ञापन बोर्डले आगामी तीन महिनामा विज्ञापन बजारलाई व्यवस्थित गर्ने बताउनुभयो । सञ्चारमाध्यमहरू अहिले संकटमा रहेको अध्यक्ष हुमागाईंको भनाइ छ ।

उहाँले विज्ञापन व्यवसाय बोर्डले चाहेरमात्रै पनि सुधार हुन नसक्ने स्पष्ट पार्नुभयो । विज्ञापन बजार नबढेसम्म सञ्चारमाध्यम बाँच्न नसक्ने र सञ्चारमाध्यम नबाँचेसम्म देशको लोकतन्त्र पनि बाँच्न नसक्ने भन्दै लोकतन्त्र बचाउन पनि विज्ञापन बजारको दायरा बढ्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले अस्थिर सरकारको अस्थिर नीतिको असर निजी क्षेत्रले भोग्नुपरेको गुनासो गर्नुभयो । नीति स्पष्ट नहुँदा अझै व्यवसाय गर्ने वातावरण नभएको भन्दै उहाँले बैंक ब्याजदरमा भएको वृद्धिले व्यवसायीलाई थप समस्या बनाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?