वैद्य-बास्तोला नेतृत्वको पार्टीबीच एकता

सबै कम्युनिष्ट पार्टीहरूलाई एकता प्रक्रियामा आउन आहृवान

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)बीच पार्टी एकता भएको छ । शुक्रबार एक कार्यक्रमबीच दुई दलको एकता भएको हो । पार्टी एकताको औपचारिक घोषणा अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आउँदो मे १ मा हुने नेकपा बहुमतका नेता हेमन्तप्रकाश वलीले जानकारी दिनुभयो । कुनै समय तत्कालीन नेकपा माओवादीमा सँगै रहनुभएका वैद्य र बास्तोला पुनः एकठाउँमा आउनुभएको हो । दुई दलले गत साउनमै पार्टी एकीकरण गर्ने सहमति गरेका थिए ।

पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६-६ जना गरी १२ जनाको संयोजन समिति बनाइएको थियो । समितिमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव वैद्यसहित सिपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश रहनुभएको थियो भने नेकपा बहुमतबाट संयोजक बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य हुनुहुन्थ्यो ।

पहिलो संविधानसभा चुनावमा सबैभन्दा ठूलो शक्तिका रूपमा उदाएको तत्कालीन नेकपा माओवादी विभिन्न फुटको शृंखलाबाट गुज्रिएको छ । पहिलोपटक वैद्य समूह २०६९ साल असार ४ मा विभाजित भएको थियो । शान्ति र संविधानको बाटो कि जनविद्रोहमा जाने भन्ने विषयले माओवादीमा विभाजन शृंखला सुरु भएको थियो । त्यसपछि २०७२ असोज ३ गते संविधान जारी भएलगत्तै बाबुराम भट्टराईले माओवादी छाड्दै नयाँ शक्ति गठन गर्नुभयो । त्यसपछि रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव लगायतका नेता पार्टीमा फर्किनुभयो । तीमध्ये थापाबाहेक अरू नेता माओवादी केन्द्रमै हुनुहुन्छ । थापा भने नेकपा एमालेमा रहनुभएको छ । वैद्य समूहमा पनि पटक-पटक विभाजन भयो ।

वैद्य समूहबाट नेत्रविक्रम चन्द लगायतका प्रभावशाली नेताहरू छुट्टिएर नेकपा गठन गर्नुभएको थियो । केही समय भूमिगत भएर हिंसात्मक गतिविधि मच्चाएको उक्त समूह सरकारसँगको शान्ति प्रक्रियामा आएपछि पुनः विभाजित भयो । चन्द संसद्वादमा फसेको भन्दै असन्तुष्ट पक्षका नेताहरूले नयाँ पार्टी गठन गरेका थिए ।

मसाललाई पनि एकतामा ल्याउन वार्ता भएको छ : वैद्य
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)ले नेकपा बहुमतसँगको पार्टी एकता अहिलेको राज्य व्यवस्थाको विरोधमा रहेको बताउनुभएको छ । शुक्रबार धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँगको पार्टी एकताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले यो एकता प्रक्रियामा नेकपा मसाल पनि सामेल हुने विश्वास व्यक्त गर्नुभयो । वैद्यले भन्नुभयो, ‘यो एकता अहिलेको राज्य व्यवस्थाको विरोध र विकल्पमा भएको छ । हामी दक्षिणपन्थी संशोधनवादविरुद्ध लड्दै क्रान्तिको झण्डालाई उचो बनाउने छौँ ।’
उहाँले अन्य कम्युनिष्ट पार्टीलाई पनि एकताबद्ध गर्दै जाने प्रयास भइरहेको जानकारी दिनुभयो । यसैक्रममा नेकपा मसालसँग पनि वार्ता गरेको वैद्यले बताउनुभयो । ‘हामीले मसालका कमरेडहरूसँग पनि वार्ता गर्‍यौँ । उहाँहरूले तपाईंहरू अगाडि बढ्नुस् हामी पनि सल्लाह गरेर यो प्रक्रियामा सामेल हुन्छौँ भन्नुभएको छ । मलाई आशा छ उहाँहरूलाई पनि आबद्ध गर्नेछौँ ।’ उहाँले अन्य कम्युनिष्ट पार्टीलाई पनि आबद्ध गर्दै एकता महाधिवेशनमा अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले नेकपा मसालसँग पनि एकताको लागि छलफल गरेको तर केही विषयमा विमति कायमै रहेकाले अहिले एकता हुन नसकेको बताउनुभयो । उहाँले अन्य सबै कम्युनिष्ट पार्टीहरूलाई एकता प्रक्रियामा आउन आहृवान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?