सम्मानित नेताको दर्जा दिए झलनाथ एमालेमै फर्किन तयार छन् : नेता न्यौपाने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्नुभएको छ ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले पार्टी परित्याग गरेको औपचारिक घोषणा गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपा (एकीकृत समाजवादी) ले परिचय दिएपनि पहिचान दिन नसकेको आरोप लगाउनु भयो । उहाँले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको आरोप लगाउनु भयो । उहाँले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गर्नुभयो ।

उहाँले भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा हो भन्ने सोचेर आफूले नेकपा (एकीकृत समाजवादी पार्टी परित्याग गरेको घोषणा गर्नुभयो ।

नेकपा एसका दुई तिहाइ शक्ति त्यहाँबाट अलग हुने तयारीमा रहेको उहाँले बताउनु भयो । उहाँले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताउनु भयो । उहाँले नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (एकीकृत समाजवादी) ले परिचय दियो तर पहिचान दिन सकेन । सदैव आफ्नो आफ्नो स्वार्थमा निहीत भएको आभाष भएको मलाई लाग्यो, विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलग भइ वस्तुगत परिस्थितिको ठोस विश्लेषण नगरी माक्सवादका दुईचार शब्द निकालेर अवसरवादीमा आधारित भयो । सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने, मैले मिति २०७९ माघ २१ र २२ को केन्द्रिय समितिको बैठकमा आफ्नो धारणासहति फरक मत राखेको थिएँ । हालसम्म कुनैपनि छलफल नभएकाले त्यहाँ बसिरहन सकिनँ । यस्तो पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्ने सोचेँ, भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा हो ।’

नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ—नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?