पार्टीहरू नेपाली जनताका लागि थारा गाई बने ?

Read Time = 18 mins

✍️ देवीभक्त ढकाल

नेपालका सबै पार्टीहरूको राजनीति गणतन्त्रपछि बुझी नसक्नु र खपिनसक्ने गरी नकारात्मक भएको छ । भ्रष्टाचारले आफूलाई भ्रष्ट नेताहरूका माध्यमले राजनीतिमा जब स्थापित गर्छ त्यो अवस्थामा राजनीति सरल रेखामा होइन बक्र रेखामा विचरण गर्छ । बक्र रेखामा विचरण गर्ने राजनीतिमा जनताका चाहना, आवश्यकता र समस्याप्रति नेताहरूको दृष्टिकोण पनि बक्र हुन्छ । त्यही बक्र दृष्टिकोण र भ्रष्ट चरित्रले नेपालको आर्थिक सामाजिक संरचना, प्रशासनिक संरचना, न्यायिक संरचना साथै विकासका संरचनाहरू स्वतः नष्ट र ध्वस्त भएका छन् ।

जतासुकै अराजकता, विधिविहीनता, मूल्यवृद्धि, अनियन्त्रित बजार अर्थतन्त्र, बेरोजगारी, अत्यधिक आयातमा निर्भर अर्थतन्त्रमा नाफा खोरहरूको बिगबिगी र निर्वाचनको स्वच्छताप्रति चरम जनअविश्वास जस्ता धेरै नकारात्मक विशेषताहरू लथालिंग देखिएका छन् । भ्रष्टाचारका संयन्त्रहरूबाहेक अन्य नियामक संयन्त्रहरू अत्यन्तै कमजोर छन् । न्यायालयहरूलाई नै राजनीतिले अन्यायलयमा रूपान्तरण गरेको दुर्भाग्यपूर्ण स्थितिको चकचकी छ । समग्रमा भन्नुपर्दा सबै पार्टीका नेताहरू प्रजातान्त्रिक पद्धति प्रति विश्वास जगाउन र राज्यव्यवस्थालाई व्यवस्थित गरेर विधिको शासन स्थापित गर्न पूर्णतःअसफल प्रमाणित भएका छन् । दुर्भाग्य असफलतालाई नै उनीहरू सफलता भन्दै आफू र आफ्नो पार्टीको गुणगानमा व्यस्त र मस्त छन् ।

अहिले सर्वसाधारण जनसमुदाय इतिहासमै असहाय र किंकर्तव्यविमूढ छ । सबै पार्टीका नेताहरूको एउटै चरित्र छ त्यो हो भ्रष्टाचार नियन्त्रण तर लक्ष र उद्देश्य भने सबैको भ्रष्टाचार गरेर धन जम्मा गर्ने । नेपालमा भ्रष्टाचार र राजनीतिको सुमधुर सम्बन्ध बनाउन नेताहरू सफल भएका कारण जनताका चाहाना र आवश्यकताहरू अलपत्र छन् । नेपालमा भ्रष्टाचार आजका मितिसम्म उपचार असम्भव भएको रोगको रूपमा परिचित छ । भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रमुख एजेन्डा बनाएर भर्खरै अस्तित्वमा आएको रवि लामिछानेको पार्टीको ढाकाराम र दुर्गा प्रसाईंबीचको दुई करोड रकमको लेनदेनसँग सम्बन्धित वार्तालापले हिजो भ्रष्टाचार नियन्त्रण गर्छन् भनेर आशावादी बन्दै मतदान गर्ने नेपाली जनसमुदायलाई झन् निराश बनायो ।

सबै पार्टीका नेताहरूको गन्तव्य नै भ्रष्टाचार र निजी सम्पत्तिको वृद्धि भएको कुरा नयाँ अस्तित्वमा आएको पार्टीको क्रियाकलापले समेत पुष्टि गर्‍यो । यो घटनाले राजनीतिमा आउनेहरू सबै भ्रष्टमात्रै हुन्छन् भन्ने नजिर बन्यो ।

सबै पार्टीका नेताहरूको गन्तव्य नै भ्रष्टाचार र निजी सम्पत्तिको वृद्धि भएको कुरा नयाँ अस्तित्वमा आएको पार्टीको कृयाकलापले समेत पुष्टि गर्‍यो । यो घटनाले राजनीतिमा आउनेहरू सबै भ्रष्टमात्रै हुन्छन् भन्ने नजिर बन्यो । भ्रष्टाचारबाट देश र समाज मुक्त हुन्छ भनेर विश्वास गर्नेहरूलाई यो घटनाले थप निराश बनायो । राजनीतिभित्र मौलाएको भ्रष्टाचाररूपी आर्थिक शोषणबाट जुन देश ग्रस्त हुन्छ त्यहाँ विकृतिहरूको जन्म स्वतः हुन्छ । पदमा रहँदा अवैध आम्दानीको सम्भावना देखेपछि मानिस पद लोलुप हुन्छ । ऊ कहिल्यै नअघाउने मानवरूपी रक्षस र कहिल्यै नभरिने भकारी बन्छ ।

उसको मौद्रिक भोक असिमीत हुँदा नै ऊ ब्रहृमनालसम्म भ्रष्टाचार गर्न पाउने कुर्सीमा बस्ने आकांक्षा राख्छ । यस्तो मनस्थितिका नेताहरूको भाषणे विकासको प्रलोभनमा मतदान गर्दा गर्दै हाम्रो मत नै हाम्रो दुर्भाग्य बन्यो । हामीले सधैं गलत र भ्रष्टलाई मात्रै मतदान गर्‍यौँ । भ्रष्टहरूलाई मतदान गर्न बाध्य हुने अवस्था नै हाम्रो दुर्भाग्य हो । किनकि उम्मेदवारहरूको पार्टी फरक हुन्छ तर सबै पार्टीहरूले भ्रष्टबाहेक इमानदार र नैतिकवानलाई उम्मेदवार नै बनाउँदैनन् । सबै पार्टीबीच भ्रष्टाचारको विषयमा अघोषित सम्झौता भएको अनुभूति हामी सबैसँग छ । त्यसको एउटै कारण हो नेपालका सबै पार्टीहरूलाई भ्रष्टहरूले कब्जा गरेका छन् । एउटा पार्टीको भ्रष्टले अर्को पार्टीको भ्रष्टलाई सहयोग गर्छ तर पार्टीभित्रको सदाचारी भने उसको शत्रु हुन्छ । सबै पार्टीहरूका नेताहरूको एउटै सिद्धान्त छ र एउटै गन्तव्य छ त्यो हो भ्रष्टाचार ।

विगतका काम र व्यवहारबाट निराश भएको मतदातालाई भ्रष्टले निर्वाचनको मुखमा आएर अब यसपटक त म सुध्रिएँ भन्छ । निर्वाचन जित्छ फेरि उस्तै । झन् अर्को कार्यकाल चर्को भ्रष्टाचार गर्छ । नातावाद र कृपावादको सञ्जाललाई मजबुत गर्दै जनताको विकासका सपनाहरूलाई फेरि पनि बज्रपात गर्छ । एउटै व्यक्ति तीन-चार दशक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्छ । उसको सांसद सदस्य बन्ने एकाधिकारको जग नै भ्रष्टाचार हो । जसले नेपालमा बारम्बार उम्मेदवार बन्ने अवसर पाउँछ त्यो अवसर पाउने भाग्यमानी भ्रष्टबाहेक सदाचारी हुनैसक्दैन ।

फेरि टिकट झुक्किएर योग्य, इमानदार र सदाचारीले पायो भने उसले कुनै हालतमा निर्वाचन जित्न नसक्ने संस्कृतिको विकास सबै पार्टीका नेताहरूको सहकार्यमा हुँदै आएको छ । नेपालको संसदीय निर्वाचनले दिएको साझा सन्देश के हो भने सबै पार्टीबाट उम्मेदवार छनौटको प्राथमिकतामा भ्रष्टहरू पर्छन् । त्यसैले निर्वाचनको प्रतिस्पर्धा नै भ्रष्टहरूबीच हुन्छ । निर्वाचनमा उम्मेदवार हुने अयोग्यता हो नैतिकता र सदाचार । अब मतदाताले छनौट कसरी राम्रो र योग्यलाई गर्ने ? हाम्रो दुर्भाग्य जुन पार्टीले निर्वाचन जिते पनि भ्रष्टले जित्ने अनौठो साझा संरचना बनेको हुनाले जुन पार्टीले जिते पनि सरकारमा र जिम्मेवारीमा हुनेहरूको साझा उपलब्धि भनेको भ्रष्टाचार नै हो । जहाँ भ्रष्टाचार हुन्छ त्यहाँ कुशासनले डेरा जमाउँछ । हाम्रो वर्तमान राजनीतिक समस्या भनेको भ्रष्टाचार र त्यसले जबर्जस्त उत्पादन गरेको कुशासन हो । सबै दलबीच देश बनाउने विषयमा प्रतिस्पर्धा छैन । बरू उनीहरूको प्रतिस्पर्धा भ्रष्टाचारको विधि र आकार-प्रकारमा नयाँ विकृति सिर्जना गर्नुमा छ ।

सबै पार्टीका नेताहरूबीच भ्रष्टाचारका सम्बन्धमा अघोषित र अदृश्य सम्झौताको कार्यान्वयनमा देखिएको इमानदारी नै देश र जनताको दुर्भाग्य बनेको छ । जुन जोगी आए पनि कानै चिरेको, जुन पार्टीको भए पनि भ्रष्ट नै हुन्छ । नेता सबै पार्टीका भ्रष्टैभ्रष्ट तसर्थ जनता भोग्छन् कष्टैकष्ट । जो भ्रष्ट छ उसले भ्रष्टाचारका रूपमा सम्पत्तिमात्रै जम्मा गरेको छैन् । थुप्रै भ्रष्ट ठेकेदार, व्यापारी उद्योगपति साथै विभिन्न क्षेत्रका माफियासँग सुमधुर सम्बन्ध बनाएको छ । राजनीति नै भ्रष्टाचार कसरी गर्ने रणनीति र भ्रष्टहरूसँगको साँठगाँठको कुशलता भएको छ । भ्रष्टहरू चिनेको भोटमा भन्दा किनेको भोटमा विश्वासमा गर्छन् । किनेपछि निश्चित पाइन्छ मागेपछि के निश्चित भन्ने दृष्टिकोणबाट परिचालित राजनीति नै हाम्रो गरिबी, पछौटेपन र अभावको कारण हो । भ्रष्टहरूले निर्वाचन कहिल्यै नहार्ने नेताको रूपमा आफ्नो छुट्टै छवि बनाएका छन् ।

सबै पार्टीहरूमा यस्तै नेता र नेताहरूको वर्चस्व हुँदा चार पाँच दशकसम्म युवाहरूको पालो आउँदैन । तिनै पालो नआउने तर विद्रोहको हिम्मत नराख्ने देशभरका अवसरहरूबाट वञ्चित अभागीहरूको प्रतिनिधि पात्र हुन् तनहुँका गोविन्द भट्टराई । उनी नेताहरूको शोषण, थिचोमिचो र अन्यालाई सहेर नेताहरूलाई निरन्तर भ्रष्टाचार गर्ने अवसर दिनेबाहेक उनका अन्य कुनै व्यक्तिगत कमजोरी सार्वजनिक नभएका योग्य, आज्ञाकारी र भ्रष्ट नेताहरूभन्दा राम्रो शैक्षिक, सामाजिक र राजनीतिक योग्यता भएका नेता हुन् । उनका समकालीन साथीहरू पन्ध्र-बीस वर्षअघि माननीयमात्रै भएका छैनन् कैयौं पटक मन्त्री भइसकेका छन् ।

तर, उनी सांसदसम्म बन्ने बाटो पाएनन् । यो अन्याय कसले गर्‍यो ? कांग्रेसको केन्द्रीय नेतृत्व र तनहुँको जिल्ला नेतृत्वले ? अझ भन्नु पर्दा कांग्रेसका रामचन्द्र, शेरबहादुरहरूलाई आजीवन सांसद सदस्य बन्नुपर्ने रोगको सिकारका कारण देशभरका गोविन्द भट्टराईहरू जस्ता होनहार कार्यकर्ताप्रति आफ्नै नेताहरूबाट अन्याय भएको छ । आफ्नै कार्यकर्तालाई न्याय दिन नसक्ने पार्टीका नेताहरूले जनतालाई न्याय दिन्छन् भनेर एउटै व्यक्तिलाई तीन-चार दशकसम्म लगातार भोट हाल्नु जनताको पनि कमजोरी हो । यो रोग कांग्रेसमा मात्रै नभएर सबै ठूला तथा साना पार्टीहरूमा सिद्धान्तको रूपमा विकास भएको छ । हामीले राम्रो विषयलाई अनुकरण गर्दैनौं तर खराब विषयलाई अनुकरण गर्ने हाम्रो राजनीति र अर्थनीतिको चरित्र बनेको छ ।

राम्रो विषयलाई नेताहरूले अनुकरण गरेको भए नेपाल विकसित देश हुन्थ्यो । तर, नेताहरूले खराब विषयलाई अनुकरण गर्दा नेपालले विश्वमा भ्रष्ट देशको उपमा पाएको छ । त्यसमा भ्रष्ट नेताहरू हीनताबोध होइन गर्व गर्छन् । रविको पार्टीले स्वर्णिम जस्तो सबैले आशा र भर गरेको अहिलेसम्मको परीक्षणमा कतै नचुकेको र कतै नचुक्ने विश्वासिलो प्रतिबद्धता गर्ने जबर्जस्त विकल्प दिएको बेलाको टिकट गोविन्द जस्ता पीडित तर नयाँ उम्मेदवारहरूका लागि कतै मृत्युपछि घाटमा पुर्‍याएको औषधि त बन्दैन । पार्टीहरूलाई नेताहरूले अहिलेसम्मको अनुभव र भोगाइसमेतको आधारमा थारो गाई बनाएका छन् । सरकारमा रहँदा डेलिभरी दिन नसक्ने नेताहरू र तिनका उम्मेदवारलाई जनताले किन विश्वास गर्ने ? यो प्रश्नको उत्तर दिने सक्षम नेताको खोजीमा जनता छन् ।

दशकौंसम्म प्रतिबद्धतालाई उपेक्षा गर्ने पार्टीहरूका उम्मेदवारलाई मतदान गर्दा जनता आजित छन् । थारो गाईलाई नै भोट हाल्नुपर्छ भन्ने विषयलाई जनताले कसरी स्वीकार गर्छन् ? त्यस विषयलाई भविष्यको जिम्मा दिनुको विकल्प छैन ।

यो हुनु पनि पर्छ । दशकौंसम्म प्रतिबद्धतालाई उपेक्षा गर्ने पार्टीहरूका उम्मेदवारलाई मतदान गर्दा जनता आजित छन् । थारो गाईलाई नै भोट हाल्नुपर्छ भन्ने विषयलाई जनताले कसरी स्वीकार गर्छन् ? त्यस विषयलाई भविष्यको जिम्मा दिनुको विकल्प छैन । गाईलाई घाँस दूधको आसले हालिन्छ । यदि दूध दिँदैन भने उसलाई घाँस हाल्ने जाँगर कसरी आउला । नेताहरूले पार्टी रूपी गाईको दूध त के गहुँतसम्मबाट पनि जनता वञ्चित भएका कारण सत्तामा राइँदाइँ गर्ने कुनै पार्टीहरूले यथास्थितिमा निर्वाचन जित्ने आधार गुमाएका छन् । विगतका नेताहरूले जनताको पक्षमा काम नगरेका कारण विगतमा सरकार सञ्चालन गर्ने पार्टीहरू आमजनताबीच अलोकप्रियमात्रै छैनन् जनता उनीहरूप्रति आक्रोशितसमेत छन् ।

रविको पार्टीले ब्याउने सम्भावना भएको गाईलाई विकल्पको रूपमा उभ्याउँदा जनताले थारो गाईलाई फेरि भोट हाल्लान् ? कांग्रेसका नेताहरूले त कांग्रेस रूपी थारो गाईलाई जनताले आवश्यक पर्दा गहुँत पनि नदिन अवस्थामा पुर्‍याएपछि गोविन्दलाई निर्वाचनमा प्रतिस्पर्धाको अवसर दिनुभनेको गरिबले हात्ती दानमा पाएजस्तो अवस्था हो । गोविन्द जस्तो इमानदार कार्यकर्तालाई करोडौं खर्च नगरीकन नजितिने रोग सल्काएर गरिब कार्यकर्तालाई जबर्जस्त प्रतिस्पर्धीसँग चुनावमा होम्नु भनेको कांग्रेसभित्रको ऊर्जालाई दुरुपयोग गर्ने रणनीति हो ।

यहाँ गोविन्द हार्दा रामचन्द्र र शेरबहादुर हार्ने स्वर्णिमले जित्दा परिवर्तनको सशक्त सम्भावना बोकेको कांग्रेसले नै होनहार प्रमाणित गरेको युवाले जित्ने अवस्थामा गोविन्दलाई दिएको अवसर कांग्रेसले प्रकारान्तरले उनलाई अक्षम प्रमाणित गरेर युवाहरूको तेजोबध गर्ने उदाहरणीय पात्र बनाउने अवस्थामा कांग्रेसलाई नै परिवर्तनको शक्ति मान्ने अधिकांश मतदाताहरूलाई निराश बनाउने हतियार गोविन्दजस्तो निष्कलंकित पात्र बन्नु नेपाली राजनीतिको अन्धकार भविष्यको कारण र परिणाम दुवै हो भन्दा के अन्यथा हुन्छ ? गाईले घाँस पाउने आघार नै उसले दिने दूध र गहुँत हो भन्ने कुरालाई दलका नेताहरूले हृदयतः आत्मसात गर्नुको विकल्प के राजनीतिको शब्दकोशमा छ ?

Subscribe
Notify of
guest
5 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद काे इराला ।
कुलप्रसाद काे इराला ।
2023-04-11 10:42 am

आज मलाई ´ स्वस्थानी व्रत कथा´ किन लेखिएछ भन्ने कुराकाे रहस्य खुलाे ।खाेल्ने काम मेरा सहकर्मी मित्र देवीभक्त ढकालले गरे ।नेपाली जनताका लागि नेता पद्धति सबै थारा गाई साबित भएकाे उहांका धारणाले मलाई हाम्रा तीर्थ,व्रत,संस्कारले नै सुर असुर आदित्य र दैंत्य भनेर विभाजन गरेकाे यथार्थ रहेछ ।हिजाे राजा र पन्च स्वर्गमा थिए यिनले बिराेध गरे।भारच,अमेरिका युराेपजस्ता ब्रह्मा विष्णु र महादेवले साथ दिए ।अब इन्द्रासन प्राप्त भएपछि त्याे सातपुस्तापछिसम्म कसरी लैजाने र अाफूहरू अनन्तकाल सुखभाेग गरअं सातपुस्तापछिका लाई पनि ऐन्द्रपदमा बहाली गराउने भन्ने चिन्ता छाेडेर देश,जनता जस्ता थाेत्रा कुरामा वरदानी शक्ति भएका कसरी लागून् त देवी जी?

TP Mishra
TP Mishra
2023-04-11 3:29 pm

Janata laino ho?

Basu Dev Dhakal
Basu Dev Dhakal
2023-04-11 6:29 pm

स्वस्तिप्रजाभ्यः: परिपालयन्तां न्याएन मार्गेण मही महीशाः ।
गाे ब्राम्हणेभ्यः शुभमस्तु नित्यं लाेकाः समस्त सुखिनौ भवन्तु।। –संस्कृत नीति श्लाेक
सवै मानिसकाे भलाइ शक्तिशाली “नेताहरु” द्वारा कानुन र न्यायका साथ हाेस। सवै दिव्यांगहरु विद्वानहरुकाे साथ सफलता वनीरहाेस र सारा संसार सुखी रहुन्। ( हाम्रा पुरुषाले यसरी नियम नै वनाएर छाडका छन् नि साेही अनुसार गरे हामीले गुनासाे गरिरहनु पर्ने थिएन।) हाल देवीभक्त भाइले समय सान्दर्भिक विषयलाइ पर्गेल्दै दौडाउनु भएकाे कलम दौडिनै रहनेछ। धन्यवाद।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?