एपिएफको दोस्रो जित

हिमालय टाइम्स
Read Time = 4 mins

विराटनगर । विभागीय टिम नेपाल आर्मी र एपिएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरूवात गरेका छन् । आर्मीले पहिलो जित निकाल्दा एपिएफले दोस्रो पटक जित हासिल गरेको हो । लिगकम नकआउट नियममा सञ्चालित प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश बनाउँदै आर्मी विजयी भएको हो ।

विराटनगर जुटमिलको खेल मैदानमा जारी प्रतियोगितामा १५६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १५ दशमलब १ बलमा ३ विकेट गुमाई पूरा गर्‍यो । आर्मीका बसिरले विस्फोट ब्याटिङ गर्दै टिमको जितको आधार तय गर्नुभएको छ । उहाँ ३३ बलमा ४४ रन बनाउँदै अविजित रहनुभयो । उहाँले ६ चौका र १ छक्का हिर्काउनुभयो । खेलको म्यान अफ द म्याच पनि उहाँ नै घोषित हुनुभयो ।

राष्ट्रिय खेलाडीले भरिपूर्ण आर्मीका हरि चौहानले २६ बलमा ३८ रन बनाउनुभयो । उहाँले २ छक्का र ५ चौका हिर्काउनुभयो । सन्दिपले १५ बलमा ३६ रन बनाउँदा राजेश पुलामीले १० बलमा २४ रनको पारी खेल्दा उहाँले २ छक्का र २ चौका हिर्काउनुभयो ।

बलिङमा वाइआरसिसीका भिष्म सहनीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिनुभएको थियो । हरिशले २ ओभरमा २० रन खर्चेर १ विकेट लिनुभयो ।

जवाफमा वाइआरसिसी १९ दशमलब ५ बलमा अलआउट भई १५५ रनमा समेटियो । वाइआरसिसीका सोनु अन्सारीले ३७ बलमा अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले ६ छक्का र ४ चौका हिर्काउनुभयो । अभिषेक चौधरीले २६ बलमा ३१ रन बनाउनुभयो । उहाँले २ छक्का र २ चौका हान्नुभयो । सिद्धान्त लोहनीले १६ बलमा २८ रन रनको पारी खेल्दा अरू कुनै पनि ब्याटरले दोहोरो अंक छोएनन् ।

बलिङमा आर्मीका जितेन्द्र मुखियाले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिनुभएको थियो । विक्रम सोब, सुमी श्रेष्ठले समान २-२ विकेट लिनुभयो भने आकाश चन्द र नरी चौहानले समान १-१ विकेट लिनुभयो । यस्तै, दोस्रो खेलमा एपिएफले दोस्रो जित हात पारेको छ । आफ्नो दोस्रो खेलमा भारत विहारको राहुल ११ नरपथगञ्जलाई ५ विकेटले स्तब्ध बनाउँदै एपिएफले दोस्रो जित निकालेको हो ।

१३९ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १८ दशमलब २ बलमा ५ विकेट गुमाई पूरा गयो । जवाफमा नरपथगञ्ज १९ ओभरमा अलआउट भई १३८ रनमा समेटियो । म्यान अफ द म्याच एपिएफका विपिन खत्री घोषित हुनुभयो । पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ४ विकेटले हराउँदै एपिएफले जित दर्ता गराएको थियो । बुधबारको पहिलो खेल वाइआरसिसी र नरपथगञ्जबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल आर्मी र एपिएफबीच हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?