काठमाडौं । गत वर्षदेखि चौतर्फी दबाबमा रहेको नेपालको अर्थतन्त्र पछिल्लो सयम सुधारतर्फ लागेको छ । अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार आएको छ । समीक्षा अवधिमा चालु खाता ४४ अर्ब ३१ करोडले मात्रै घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता चार खर्ब ६० अर्ब ७२ करोडले घाटामा थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति पनि एक खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सोधनान्तर स्थिति दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा थियो । नेपाल राष्ट्र बैंकले मंगलबार काठमाडांैमा पत्रकार सम्मेलन गर्दै देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अर्थात् आर्थिक वर्ष २०७९/२०८० को आठ महिनाको तथ्यांकबारे जानकारी गराएको हो ।
तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति सुविधाजनक स्थितिमा रहेकाले बाह्य क्षेत्र सुदृढ भएको छ । २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२० प्रतिशतले वृद्धि भई २०७९ फागुनमा १४ खर्ब एक अर्ब २१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असारमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुनमा १२.१० प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड कायम भएको छ । उक्त विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।
रेमिट्यान्स पनि उल्लेख्य रूपमा बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले बढेर सात खर्ब ९४ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १.३० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई छ अर्ब नौ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६० प्रतिशतले घटेको थियो । त्यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब १८ करोड अर्थात २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा पाँच खर्ब २२ अर्ब ४९ करोड अर्थात् १२.८० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुनमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.१० प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा केन्द्रीय बैंकबाट रिपोमार्फत तीन खर्ब ७७ अर्ब २७ करोड, सोझै खरिद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २० अर्ब ४९ करोड र ओभरनाइट तरलता सुविधा पाँच खर्ब १५ अर्ब ६७ करोड गरी कुल ३६ खर्ब ९७ अर्ब २८ करोड तरलता प्रवाह गरिएको छ ।
त्यस्तै, अल्पकालीन र बैंकका ब्याजदर गत वर्षभन्दा बढे पनि अघिल्लो महिनाको तुलनामा कम हुन थालेको छ । वाणिज्य बैंकबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर ७.१८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको औसत आधारदर २०७९ फागुनमा १०.६४ प्रतिशत, निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाको पुँजी पर्याप्तता नियामकीय न्यूनतम आवश्यक अनुपातभन्दा बढी रहेको छ । २०७९ पुसमा वाणिज्य बैंकको पुँजी पर्याप्तता अनुपात १३.०१ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकको १२.७१ प्रतिशत र ‘ग’ वर्गका फाइनान्सको १७.०५ प्रतिशत रही समग्रमा उक्त अनुपात १३.०६ प्रतिशत रहेको छ ।
मूल्यवृद्धि पनि घट्दो क्रममा रहेको राष्ट्र बैंकको दाबी छ । २०७९ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । तथापी अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ । तर व्यापारघाटाको चक्र भने घट्न सकेको छैन । आयातमा केही कमी आइपनि निर्यात पनि घटेको छ । आर्थिक वर्ष २०७९/०८० को आठ महिनामा कुल वस्तु निर्यात २९.१० प्रतिशतले कमी आई एक खर्ब चार अर्ब ८० करोडमा खुम्चिन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८२.९० प्रतिशतले बढेको थियो । कुल वस्तु आयात १९.१० प्रतिशतले घटेर १० खर्ब ५८ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.६० प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा व्यापारघाटामा १७.९० प्रतिशतले कमी आई नौ खर्ब ५३ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३४.५० प्रतिशतले बढेको थियो ।
‘नेपालमा बैंकहरूको अवस्था सुरक्षित छ’
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ नै बढिरहेको बताउनुभयो । अर्थतन्त्र सुधार हुँदै जाँदा अझै ब्याजदर उच्च रहेको भन्दै उहाँले निक्षेप र कर्जाको ब्याजदर भने घट्दो अवस्थामा रहेको बताउनुभयो । गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको पर्याप्तता तोकिएको सीमामा नै रहेको, पुँजी कोष अनुपात १३ प्रतिशतभन्दा बढी रहेको, खराब कर्जादर गत वर्षभन्दा बढेको भएपनि क्रमिक रूपमा खराब कर्जादर घट्दै जाने बताउनुभयो । तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जोखिम नआउने जिकिर गर्दै उहाँले सबैखाले वित्तीय संस्थाको तथ्यांक बलियो रहेको बताउनुभयो । गभर्नर अधिकारीले पछिल्लो समय केन्द्रीय बैंकका साथै अन्य बैंक तथा वित्तीय संस्थाप्रति उद्योगी व्यवसायी विरोध शैलीप्रति संकेत गर्दै व्यवसायी स्वार्थ पूरा नभए अरूलाई दोष दिने प्रचलन निकै खराब रहेको बताउनुभयो । केन्द्रीय बैंकले कोरोनाबाट निकै प्रभावितलाई सहजीकरण र सहुलियतको नीति लिएको, कुनै बैंक वित्तीय संस्थाले दिएको कर्जा उठ्ने सम्भावना नै छैन भने त्यस्ता ऋणीलाई सहुलियत/सहजीकरण नगर्न भनेको उहाँको भनाइ थियो ।
गभर्नर अधिकारीले भन्नुभयो, ‘विगतको तुलनामा केन्द्रीय बैंकले गरेका कारबाही हेर्ने हो भने यो वर्ष निकै धेरै छ । राष्ट्र बैंक व्यवसायीलाई मार्ने गरीभन्दा पनि सजग र सचेत गराउने गरी अघि बढेको हुनाले कर्जा दुरुपयोग गर्नेलाई कानुनले दिएको पूर्ण अधिकार प्रयोग गर्दै कारबाही नगरेको हो । पछिल्लो समयमा उद्योगी व्यवसायीले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा तिर्दिनँ भन्नुजस्तो अराजकता अरू केही हुन सक्दैन, व्यवसायीका त्यस्ता गतिविधिले पनि बैंकहरूलाई सहज कर्जा दिन हुँदो रैनछ भनेर सचेत गराएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच