संकटाले एनआरटीलाई हरायो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बुधबार भएको खेलमा संकटा क्लबले न्यु रोड टिम (एनआरटी) लाई पराजित गरेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा संकटाले एनआरटीमाथि २-१ को जित निकालेको हो । संकटाको जितमा जुनिअर एन्कुंगे र मनिष डाँगीले एक/एक गोल गर्नुभयो । एनआरटीका लागि निकोलस संगले एक गोल फर्काउनुभयो ।

खेलको २२ औं मिनेटमा संकटाले जुनियर ओंगुने एनकुंगेको गोलमा अग्रता लिएको थियो । कर्नरमा आएको बललाई गोलरक्षक पुजन होनाले समात्न नसक्दा जुनियरले सहजै गोल गर्नुभएको थियो । ३७ औं मिनेटमा मनिषले संकटाको अग्रता दोब्बर पार्नुभयो । नेल्सन कोन्फोरको थ्रु पासलाई मनिषले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्नुभयो ।

दोस्रो हाफको सुरुवातमै संकटाले पाएको सुन्दर अवसरमा फरवार्ड युसुफ अथ्रिसले गोल गर्न सक्नुभएन । वन भर्सेस वनको स्थितिमा उहाँले गर्नुभएको प्रहार पोस्टबाट बाहिर गएको थियो । ६२ औं मिनेटमा एनआरटीले गोल फर्कायो । दोस्रो हाफमा मैदान आएका लाल्जुनामाको प्रहार पोस्टमा लागेर फर्केपछि निकोलस सर्ज संगले खाली पोस्टमा गोल गर्नुभयो ।

चर्च ब्वाइजको प्रशिक्षकमा महर्जन
बालगोपाल महर्जन ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको मुख्य प्रशिक्षक बन्नुभएको छ । उहाँले प्रदीप हुमागाईको स्थान लिनुभएको हो । नेपाली यू-१९ लाई साफ च्याम्पियन बनाएका महर्जनले राष्ट्रिय फुटबल टोलीलाई बंगबन्धु गोल्ड कप तथा दुई वर्ष अघि स्वदेशमा पहिलो थ्री नेसन्स कपको उपाधि दिलाउनुभएको थियो ।

सात खेल खेलको चर्च ब्वाइज १३ अंकका साथ ‘ए’ डिभिजन लिग अंक तालिकाको तेस्रो स्थानमा छ । पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्दै गरेको टोलीले उत्कृष्ट सुरुवात गरेको थियो । चर्च ब्वाइजले आठौं चरणमा बिहीबार साँझ दशरथ रंगशालामा फेन्ड्स क्लबको सामना गर्दा महर्जन टच लाइनमा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?