लागुऔषधसहित सातजना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित सातजना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका-१३ धाईजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीया अनुजा राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

ईलामको चुलाचुली गाउँपालिका-३ पेल्टिमारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५४ मिलिग्राम र नगद १५ हजार ५ सय ४० रूपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरां सोही ठाउँ बस्ने २७ वर्षीय अमर राई र ३१ वर्षीय अर्जुन राई रहेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ भवानी मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय ६० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश साउद र सोही उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७ सय ३० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-३ बिचपुरी बस्ने २६ वर्षीय करन डगौरा र २४ वर्षीय अजय चौधरी रहेका छन् । उक्त स्थानमा सु.प.प्र.०२००३ प ४२४७ नम्बरको मोटरसाइकल रोकी उभिइरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?