नयाँ वर्षमा प्रवासी बेगखोलबासीले दिए डेढ करोडको विद्यालय भवन उपहार

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । नयाँ वर्षको अवसरमा संसारका विभिन्न देशहरुमा रोजगारीका लागि गएका म्याग्दीको बेगखोलावासीहरुले (प्रवासी वेगखोलावासी) आफ्नो गाउँमा रु डेढ करोडको लागतमा विद्यालय भवन पुननिर्माण गरेर हस्तान्तरण गरेका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण गरी नयाँ बर्षको दिनमा हस्तान्तरण गरिएको हो ।

पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण गरिएको हो ।

विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर वि.स. २०७५ सालदेखि सुरु भएको विद्यालय भवन पुननिर्माण अभियान अन्तरगत विद्यालय भवन निर्माण सम्पन्न भएपछि शुक्रवार एक समारोहका विच विद्यालय भवनको उद्घाटन गरिएको छ ।

भवनको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजा, प्रदेशसभा सदस्यद्धय हरिबहादुर भण्डारी र बिमला गौचनले उद्घाटन गर्नुभयो ।
विद्यालयमा भवन पुननिर्माण समितिले आयोजना गरेको समारोहमा बाजागाजा सहित पुननिर्मित भवनको उद्घाटन गरिएको थियो ।

देश तथा विदेशमा छरिएर रहेका बेगखोलाबासीहरु बेगखोला कल्याणकारी समाजमा गोलबद्ध बनेर विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका थिए ।
अभियानको क्रममा रु १ करोड ५० लाख सहयोग संकलन गरेर विद्यालयको ७ वटा कोठाको भवन पुननिर्माण गरिएको भवन पुननिर्माण समितिका संयोजक योगकुमार फगामीले जानकारी दिनुभयो । विद्यालयमा इन्द्रबहादुर पुर्जा, पदमबहादुर पुर्जा र यमकुमार पुर्जाका तीन दाजुभाइका परिवारले करिब रु १४ लाख लगानीमा कम्प्युटर कक्षाको लागि छुट्टै थप कोठा निर्माण गर्नुभएको छ ।

सहयोगदाताहरुले मन खोलेर सहयोग गरेकै कारण पुरानो र जिर्ण भवनको ठाउँमा सुविधासम्पन्न भवन निर्माण हुन सम्भव भएको पुननिर्माण अभियानका सचिब नगेन्द्र पुर्जा (नक्कु)ले बताउनुभयो ।

अभियानमा आर्थिक सहयोग गर्ने दाताहरुको विद्यालयमा शिलालेखमा अभिलेख राखिएको छ । विद्यालयमा बेगखोलाबासीले चन्दा संकलन गरेर निर्माण गरेको ७ कोठे कक्षाकोठा भवन बाहेक पुननिर्माण प्राधिकरणको शिक्षा इकाई मार्फत रु ३४ लाख लगानीमा ३ कोठे र ६० लाख लगानीमा ४ कोठे थप भवन निर्माण भएको विद्यालयका प्रधानध्यापक दुतबहादुर गर्वुजाले बताउनुभयो ।

प्रवासी बेगखोलाबासीको नेतृत्वमा आर्थिक संकलन गरेर र सरकारी तवरवाट समेत गरि कक्षाकोठा भवन निर्माण सम्पन्न भएपछि विद्यालयको नियमित पठनपाठन समेत सहज भएको प्रअ गर्वुजाले जानकारी दिनुभयो ।

यस विद्यालयले कक्षा ४ देखि नै कम्प्युटर बिषयको समेत पठनपाठन गराउँदै आएको छ । भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले देश तथा विदेशमा रहेका स्थानीयबासीले विद्यालयको भवन पुननिर्माण गर्नुले विकासमा सरकार र समुदायको साझेदारीको नयाँ सन्देश दिएको बताउनुभयो । प्रदेश सभा सदस्यद्धय भण्डारी र गौचनले भौतिक पूर्वाधार शैक्षिक विकासको महत्वपूर्ण पाटो रहेको भन्दै भवनको उचित प्रयोगसंगै विद्यालयको शैक्षिक गुणस्तर सुधारका योजनामा आबश्यक पहल गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र थापा, नेपाली काँग्रेसका नेता चिरञ्जीवि शर्मा, वडा अध्यक्ष बिलबहादुर फगामी, सहित विभिन्न देशमा रहेका बेगखोला कल्याणकारी समाजको प्रतिनिधित्व गर्दै आएका प्रतिनिधिहरु समेतले विद्यालयको विगत र वर्तमानको चर्चा गरेका थिए ।

कार्यक्रममा बेगखोला( इतिहासः हिजो र आज) नामक पुस्तक समेत लोकार्पण गरिएको थियो भने विविध साँस्कृतिक र साँगेतिक प्रस्तुती समेत राखिएको थियो । रोजगारी, पेशा, ब्यवसाय र अध्ययनका लागि बिदेश र स्वदेशका विभिन्न ठाउँमा पुगेका बेगखोलाबासीहरुले आफ्नो गाउँको शिक्षा, सडक, खेलकुद क्षेत्रको विकासका लागि सहयोग भित्र्याउँदै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?