सिन्धुली । वरिपरि हरियाली वनजंगलले घेरिएको, चराचुरुंगीहरूको मधुर स्वरलहरी । निर्मल जल, जलमै फूलेका कमलका फूल । स्वच्छ, हराभरा वातावरण । सबै प्रकारको सौन्दर्यताले भरिपूर्ण । यो मनमोहक दृश्य हो, ‘ऐतिहासिक पञ्चकन्या पोखरी’ क्षेत्रकोे । ऐतिहासिक तथा धार्मिक पोखरी सानै भए पनि यसले प्रदान गर्ने आनन्द उत्कृष्ट छ । प्रकृतिसँग रमाउनेहरू पुग्नैपर्ने यो ठाउँ सदरमुकाम सिन्धुलीमाडीको पश्चिमतर्फ २० किलोमिटर दूरीमा पर्दछ । मरिण गाउँपालिका-५ घाटा पुछारस्थित मरिणखोलाको किनारमा रहेको यस पोखरीले दृश्यावलोकन तथा भ्रमण गर्न आउने पर्यटकको मनै लोभ्याउँछ ।
स्थानीयवासीका अनुसार १ वैशाख २०८० अर्थात् नयाँ वर्षको दिन मात्रै पाँच हजार जना आन्तरिक तथा बाह्य पर्यटक पोखरी र प्रकृति सौन्दर्यतामा रमाएर फर्किएका छन् । अरू बेला पनि फाट्टफुट्ट समूहमा आइरहन्छन् । कमलामाई नगरपालिका-३ चपौलीकी सुनिता दर्नालले २०८० सालको पहिलो दिन यसै पोखरी स्थलमा बिताउनुभयो । प्राकृतिक सौन्दर्यतामा रमाउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य लागेको र यहाँ घुम्न आउन धेरै खर्चिलो नभएकाले आफ्नो रोजाइमा यही स्थान परेको उहाँले बताउनुभयो ।
अहिलेसम्म पोखरी क्षेत्र पुग्ने पर्यटकलाई प्रवेश शुल्क तिर्नु पदैन । यहाँ, वनभोजस्थल, शौचालय र खानेपानीको व्यवस्था छ । सडक सञ्जाल सहज भएकाले एकदिनमै घुमघाम गरेर फर्कन सकिने भएकाले पनि पर्यटकको बाक्लो उपस्थित देखिएको उहाँको धारणा छ । पोखरीछेउमै पञ्चकन्या मन्दिर छ । बेला-बेलामा यहाँ मेला पनि लाग्छ । मन्दिरको दर्शन गर्न र प्रत्येक वर्ष धान्यपूर्णिमाका दिन मेला भर्न श्रद्धालु आउँछन् । पोेखरीको आफ्नै ऐतिहासिक, सामाजिक तथा धार्मिक मूल्य र मान्यता रहेको पाइन्छ ।
यहाँ, घुमेर मनोरञ्जन लिन मात्रै होइन, आफूलाई इच्छाएको माग्ने आस्था र विश्वासका साथ रुद्री, सत्यनारायणलगायत पाठपूजा, आराधाना र दर्शन गर्न पनि आउने गर्दछन् । बाह्रै महिना पोखरीमा उत्तिकै पानी हुनु र कमलको फूल फूलिरहनु यहाँको विशेषता हो । यो पोखरीबाट पानी निकास हुँदैन ।
पञ्चकन्या पोखरीसँग सम्बन्धित किंवदन्ती अनौठा र रमाइला लाग्दा छन् । स्थानीय शम्भु माझीका अनुसार प्राकृतिक पोखरीको नामकरण त्यहाँ बस्ने पाँच कन्या र उहाँहरूले गरेको चमत्कारका आधारमा राखिएको हो । ‘पोखरीमा पाँचवटी देवकन्याहरूको बास थियोे । रोपाइँ गर्न हिल्याएर धानको बिउ राखिदिएको खेतमा रोपाहार बनेर आउँथे । कसैले खेती लगाउन नसके पञ्चकन्यालाई भाकेर गुहारेपछि भोलिपल्ट खेत रोपिएको हुन्थ्यो,’ बुढापाकालाई उद्धृत गर्दै उहाँले सुनाउनुभयो ।
अर्का स्थानीय केदार माझीले भन्नुभयो, ‘गाउँ पातलो थियो । भोजभतेर, काजकिरियाका लागि भाँडा अपुग हुँदा पञ्चकन्यामा रहेको मन्दिरमा आएर मागेपछि पाइहाल्ने । फेरि काम सकिएपछि ल्याएर राखिदियो, एकछिनपछि हेर्दा भाँडा छैन । आवश्यकता पर्दा सोहीअनुरूप माग गर्दा पाइन्थ्यो, हामीले सुनेको किंवदन्ती हो यो ।’
पछि मानिसहरूले भाँडा सफा नगरी राखिदिने र पञ्चकन्याहरूलाई हलीगोठालेहरूले जिस्क्याउने गरेकाले अलप भएका किंवदन्ती स्थानीय ज्येष्ठ नागरिक सुनाउँछन् ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चकन्या पोखरी प्रचार-प्रसारको कमी र उचित संरक्षण तथा व्यवस्थापनको अभावमा ओझेलमा थियो । पछिल्लो समय यहाँको स्थानीय सरकारले विकास गर्न चासो देखाएसँगै सञ्चारमाध्यममा पोखरीको प्रचारप्रसार हुन थालेपछि पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको मरिण गाउँपालिका-६ हस्पिटलचोककी बासिन्दा मेनुका आरणले बताउनुभयो । ‘पोखरीको संरक्षण र विकास गर्न मरिण गाउँपालिकाले लगानी गर्न थालेको छ । यसको अझै उचित व्यवस्थापन गरी आकर्षण थप्ने र व्यापक रूपमा मिडियाबाट प्रचारप्रसार गरेर पर्यटक भित्र्याई आम्दानीसँग जोड्नु आवश्यक छ,’ उहाँले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष विमर्श मोक्तानका अनुसार वनभोज स्थल, गेट निर्माण, मन्दिर निर्माण, खानेपानीको व्यवस्था लगायतका काम थालेपछि पोखरी क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो । जिल्लाकै एक मात्र प्राकृतिक पोखरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी पालिकाको आम्दानीको स्रोत बनाउने र जिल्लाको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ । पोखरीको विकासका लागि गुरुयोजना बनाई काम अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच