एनआईसी एशिया बैंक लुम्बिनी शाखामा तालाबन्दी

Read Time = 6 mins

रुपन्देही । एनआईसी एशिया बैंक लुम्बिनी शाखामा आइतबार तालाबन्दी गरिएको छ । बैंकले ज्यादती गरेको भन्दै व्यवसायी तथा सेवाग्राहीले तालाबन्दी गरेका हुन् ।

बैंकबाट ऋण लिएका होटल आकाश इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक उमाशंकर मिश्राले बैंकबाट आफू पीडित भएको गुनासो गर्नु भयो । उहाँले असोज मसान्तसम्म बैंकमा कुनै बाँकी वक्यौता नभए पनि त्यसपछि बैंकले १० लाख तिर्न आग्रह गरेको र आफूले तिरेको बताउनु भयो ।

उहाले भन्नुभयोे, ‘बैंकको आग्रहअनुसार १० लाख तिरे तर, पछि फेरी ९ लाख तिर्न भनियो, ९ लाख रुपैयाँ तिर्न पनि तयार भए र रकम जुटाउनतर्फ लागे । तर, केही दिनपछि मलाई बैंकले ३० लाख जम्मा गर्न भन्यो ।’ अहिले होटल तथा पर्यटन व्यवसाय ठप्प भएको असहज परिस्थितिमा बैंकले झन ज्यादती गरेको उहाँको भनाइ छ ।

‘९ लाख रुपैयाँ जम्मा गरेपछि केही दिनका लागि किस्ताको भाका सर्ने आशा लिएर घर फर्किएँ र मलाई पुनः बैंकले फोन गरेर भन्यो ‘९ लाखले पुग्दैन ३० लाख जम्मा गर्नुपर्छ नत्र लिलामी प्रक्रियामा जान्छौं ।’ उक्त रकम तत्काल जम्मा गर्न नसक्ने बताउँदै मैले किस्ता तिर्ने भाका माग गरेको हुँ ।’ बैंकले कुनै मुद्दामा नजानुस्, हामी तपाईमाथि विश्वासघात गर्दैनौं भने पनि आफूलाई झुक्याएको मिश्राको भनाइ छ । होटल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको उहाँले बताउनु भयो ।

आर्थिक संकटले आफूले बैंकको किस्ता तिर्न नसकेको र १० लाख बुझाएमा तत्कालका लागि लिलामी प्रक्रियामा नजाने र किस्ता तिर्न बैंकले केही समय उपलब्ध गराउने आश्वासन दिएर झुक्याएको मिश्राको भनाइ छ ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले बैंकको ज्यादतीविरुद्ध तालाबन्दी गरिएको बताउनु भयो । उहाँले एनआईसी एशिया बैंकले उद्योगी व्यवसायी र सेवाग्राहीलाई दुःख दिएको बताउनु भयो । उहाँले भन्नुभयोे, ‘बैंकले सेवाग्राहीको सम्पत्तिमाथि आँखा लगाउने गरेको छ । ८/९ प्रतिशत ब्याजदरमा ऋण दिने भनेर बैंकले सम्झौता गर्ने अनि १८ प्रतिशतसम्म ब्याज लिन्छ । ’

स्थानीय ईशा खड्काले बैंक जिम्मेवारीबाट पन्छिन खोजेको बताउनु भयो। उहाँले सेवाग्राही अब चुप लागेर नबस्ने बताउनु भयो । स्थानीय होटल व्यवसायी अकरामुद्दिन खानले बैंकले व्यवसायीको मनोबल गिराउने कार्य गरेको बताउनु भयो । उहाँले बैंकले व्यवसायीलाई अनावश्यक टर्चर दिएको बताउनु भयो ।

होटल व्यवसायी मेघनाथ आचार्यले एनआईसी एशिया बैंकले झुटको खेती गरेको बताउनु भयो । एउटा व्यक्तिले ऋण तिर्छु भन्दाभन्दै व्यवसायीलाई झुक्याइएको उहाँकाे भनाइ छ । उहाँले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताउनु भयो ।

विरोध तथा तालाबन्दी कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, सचिव एवं प्रवक्ता लक्ष्मण भण्डारी, सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, विष्णु गौतम, रविन्द्र शर्मा घिमिरे, होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य विरेन्द्र ज्ञवाली, लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्याल, अधिवक्ता प्रख्यात बन्जाडेलगायतको उपस्थिति रहेको थियो ।

तालाबन्दीपछि बैंक प्रशासनले समस्या समाधानका लागि छलफल गर्न तयार रहेको भन्दै सोमबारका लागि समय दिएपछि एक घण्टासम्म लगाइएको ताला खोलिएको छ । घटनाबारे बुझ्दा एनआईसी एशिया बैंक लुम्बिनी शाखा प्रबन्धक प्रविन रायमाझीले सोमबार छलफल गर्ने भनी सहमति भएको बताउनु भयो । बैंक कानूनी प्रक्रियाअनुसार नै अघि बढेको बताउँदे उहाँले सोमबार छलफल हुने बताउनु भयो ।

बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले पनि नियमअनुसार नै बैंक अघि बढेको दावी गर्नु भयो । आफू हाल काठमाण्डौंमा रहेको बताउँदै सोमबार रुपन्देही आएर छलफल गरी निष्कर्श निकाल्ने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?