भू-माफियाले गिद्धे नजर लगाएपछि मर्धर सिमसार क्षेत्र बचाउन संघर्ष समिति गठन

हिमालय टाइम्स
Read Time = 3 mins

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ मा रहेको मर्धर सिमसार क्षेत्रको जमिन भू-माफियाले हत्याएपछि मर्धर सिमसार बचाउ संघर्ष समिति गठन भएको छ ।

मर्धर सिमसार क्षेत्रमा बसेको स्थानीयहरूको भेलाले शिवप्रसाद आचार्यको संयोजकत्वमा १७ सदस्यीय सिमसार क्षेत्र बचाउ संघर्ष समिति गठन गरेको स्थानीय युवा सुदीप गिरीले जानकारी दिनुभएको छ । समितिको सहसंयोजकमा राजन कार्की र सचिवमा सरोज बछार रहनुभएको छ ।

यसैगरी समितिको सदस्यहरूमा सुदिपराज गिरी, थिरकुमारी कार्की, सबिता आचार्य, राजु पराजुली, धुब्र घिमिरे, अमृत सापकोटा, जोखन बिक, शेरबहादुर तामाङ, थलराज भारती, तेजबहादुर महत, जंगबहादुर थापा, कुमार पहाडी, बिनोद कार्की, र बिद्या सापकोटा रहनुभएको छ ।

समितिले सिमसार क्षेत्रको संरक्षणका लागि सोमबारदेखि नै नगर प्रमुख लगायतका जनप्रतिनिधिहरूसँग छलफल गरेर काम अगाडि बढाउने संघर्ष समितिका संयोजक आचार्यले जानकारी दिनुभयो। समितिले सोमबार १० बजे चन्द्रपुर नगरपालिकाका नगर प्रमुखलगायत जनप्रतिनिधिहरूसँग छलफल तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिका संयोजक आचार्यले बताउनुभयो ।

जिल्लाकै ऐतिहासिक र्मधर सिमसार क्षेत्रलाई भू-माफियालले आफ्नो नाममा गरेपछि स्थानीय नागरिकहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । भू-माफियाले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा १० कठ्ठाका दरले २० टुक्रा गरेका छन् ।

र्मधर सिमसार क्षेत्र माफियाको नाममा गएपछि र्मधरको विकासका लागि प्रदेश सरकारले दिएको एक करोड ५० लाख रुपैयाँ फिर्ता भएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । सिमसारको सुख्खा स्थान कब्जा भएकोमा पछिल्लो समय माफियाले पानी भएको क्षेत्र समेत बिभिन्न २० जनाको नाममा नामसारी गरेकाछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?