महत्वपूर्ण दान मतदान : नेताहरूले सधैं किन गर्छन् अपमान ?

प्रा. देवीभक्त ढकाल
Read Time = 19 mins

मतदान कलियुगका मानिसहरूबाट हुने महत्वपूर्ण आवधिक दान हो । मत अर्थात भोट आधुनिक राजनीति विज्ञानले आविष्कार गरेको विवादास्पद विषयको सर्वमान्य समाधान हो । प्रजातान्त्रिक व्यवस्थाले निश्चित अवधिपछि हुने मतदानरूपी दानमा आमनागरिक सहभागी हुने अनिवार्य व्यवस्था गर्छ । यस्तो व्यवस्थामा दान दिनेहरूलाई कानुन, व्यवहार र परिस्थितिले बाध्य बनाउँछ तर दान लिनेहरूले दानलाई अत्यधिक सदुपयोग गर्ने वाचालाई भने पूरा नगर्दा कानुन, नियमले बाध्न नसक्ने अनौठो परिस्थिति विद्यमान छ । मतदानमा देवता वा पुरोहितलाई दान गर्दाको जस्तो परिणामको अनिश्चितता हुँदैन । परिणामलाई धेरै समय प्रतीक्षा गर्नु पर्दैन ।

यस्तो दानबाट लाभान्वित हुनेले पद पाउँछ भने दानदाताहरूले भने अभाव, गरिबी र पछौटेपनबाट पुरस्कृत हुँदै आएको विषयमा नेपाली जनता उदाहरण हुन् भन्दा अत्युक्ति हुँदैन । खासगरी अविकसित देशहरूमा मतदान लिने र दिने दुवै पक्षले यसको महत्वलाई नजरअन्दाज गरेका छन् । मतदानको दुरुपयोगको प्रभाव जनताको जीवनस्तरबाट मापन गर्न सकिन्छ । दान लिनेको दानको दुरुपयोगको मापनको काम पदधारीहरूबाट अधिकारको दुरुपयोगबाट उनीहरूले नातेदार, परिवार र आफ्नो नाममा राखेका सम्पत्तिको यथार्थ छानविन र तहकिकातले मात्र गर्छ ।

प्रजातान्त्रिक पद्धतिमा मतदानलाई उच्च कोटीको दान मानिन्छ । यो दान लिने नेपाली पात्रहरू प्रायः सबै बेइमानी देखिए । दान दिने पात्रहरू प्रायः सबै योग्य छन् भन्दा अत्युक्ति हुँदैन । फेरि मतदान नगर्नु असामाजिक मानिन्छ भने दान लिनेहरूसँग चरित्र, इमानदारी, नैतिकता, सदाचार नहुँदा मतदान गर्नेहरूको कथा-व्यथा छुट्टै छ । अहिले तनहूँ, चितवन र बाराका चुनाव क्षेत्रहरूमा वैशाख १० गते उप-निर्वाचन हुँदैछ । विगतमा विजयी भनिएका तथाकथित उम्मेदवार र निर्वाचनका ठालुहरूको अपरिपक्वताको परिणाम हो यो उपनिर्वाचनमा जनताको सास्ती र ढुकुटीको दुरुपयोग । आफ्नो नागरिकताको समेत पत्तो नभएका रवि लामिछानेका कारण र निर्वाचन आयोगको गैरजिम्मेवारीले गर्दा चितवनमा उपनिर्वाचन गर्नुपर्‍यो ।

राजनीति एउटा नियमित विश्वासघात गरिने र गर्न सकिने खेल हो भनेर जनतालाई सधैं ठग्नेहरूलाई अब जनताले चेतावनी दिन पार्टीभन्दा माथि उठेर योग्य, सक्षम उम्मेदवार छान्ने संस्कृतिको विकास गर्नुपर्ने बाध्यात्मक अवस्थामा नेपाली मतदाताहरू छन् ।

चितवनको निर्वाचनमा विजयी उम्मेदवार र नियामक निकायहरूको राष्ट्रघात हो । तनहूँ र बाराको उपनिर्वाचनका उम्मेदवारहरू फरक तर कारण एउटै छ । एकपटक प्राप्त पदलाई आजीवन बनाउने रोगले नै नेपाली राजनीतिलाई भ्रष्टीकरण गरेको छ । राजनेताले सय वर्षको योजना बनाउनुपर्नेमा चार महिनापछि राष्ट्रपति, उपराष्ट्रपति बन्ने विषय थाह नभएर निर्वाचनमा प्रतिस्पर्धी हुनुभनेको नेपाली राजनेताहरूमा भविष्य द्रष्टाको योग्यता शून्यताको प्रमाण हो । चार महिना पनि सांसद सदस्य नबन्ने व्यक्तिले म जनताको प्रतिनिधित्व पाँच वर्ष गर्छु भनेर कसम खानु र त्यो कसमलाई चार महिनामा उल्लंघन गर्दा नै उपनिर्वाचनको भारी जनताले बोक्नुपर्‍यो ।

यस्तो भार राज्यलाई बोकाउने व्यक्तिहरू समाजमा उपेक्षित हुनुपर्नेमा उल्टै पुरस्कृत किन ? यो उच्च राजनीतिमा रहेका मतदाताहरूको विवेक शून्यता हो । उपराष्ट्रपतिका अर्का कच्चा खेलाडीको राष्ट्रघात पनि इतिहासले बिर्सने छैन । तर, राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल जो चार महिनापछिको आफ्नो परिस्थितिसम्म आकलन गर्न असमर्थ देखिए । उनैलाई लामो समयसम्म जिम्मेवारी दिँदा नै देशले काँचुली फेर्न नसकेको हो भन्नेहरूको तथ्यलाई नकार्न सकिँदैन । तर, उनको भने अप्रत्याशित रूपमा काँचुली फेरिएको जगजाहेर छ । तनहूँ र बारामा भएको उपनिर्वाचनको भार बोकाउने राष्ट्रघातको जिम्मेवारी अहिले राष्ट्रपति र उपराष्ट्रपतिमा पदासीन दुवै रामहरूको अदूरदर्शी कर्मको रूपमा इतिहासले सुरक्षित गर्ने नै छ ।

सन्निकट उपनिर्वाचनमा उम्मेदवार तपाईंको नजिकैको नातेदार, छिमेकी, साथी, इष्टमित्रमात्रै होइन आफ्नै गुरु वा चेला नै हुनसक्छ । उसले तपाईंसँग भोटको याचना नगरिकन पार्टी सदस्यताको दासतालाई स्वीकार गरेर मतदान गर्नु आत्महत्या हो । उम्मेदवारका लागि मतदाता भगवान हुन् । भगवानको आराधना नगरिकन फल मिल्छ ? त्यसैले निर्वाचन क्षेत्रमा रहेका सबै घरहरू उसका लागि मन्दिर हुन् । ती मन्दिर रूपी घरमा बस्ने भगवान रूपी मतदातालाई भक्तिभावले खुशी जसले गराउँछ उसैलाई मात्र मत दिऊँ । भोट माग्न घरमा नआउनेलाई किन मतदान गर्ने ? फेरि कतै हक अर्काले दुरुपयोग गर्ने विषयले पनि मतदाता चिन्तित छन् ।

विधानमै कसैले मत माग्ने अधिकार पाउँछ भने मतदाताले म अमुक याचकलाई भोट दिन्न भन्न किन नपाउने ? नमागीकन दिने भोट र सल्लाह हाम्रो सन्दर्भमा दुवै घातक भए । आफ्नो र पराइमा विभेद नगर्ने र मत माग्न घरमा आउनेलाई मात्र मतदान गरौं । राजनीति एउटा नियमित विश्वासघात गरिने र गर्न सकिने खेल हो भनेर जनतालाई सधैं ठग्नेहरूलाई अब जनताले चेतावनी दिन पनि पार्टीभन्दा माथि उठेर योग्य र सक्षम उम्मेदवार छान्ने संस्कृतिको विकास गर्नुपर्ने बाध्यात्मक अवस्थामा नेपाली मतदाता छन् ।

परिवर्तन सधैं नेताहरूको पक्षमा हुने रोगको मुख्य उपचार मतदाताहरूको सचेतना र जागरुकता हो । तनहुँको उपनिर्वाचन नेपाली राजनीतिमा फरक शैलीमा तरंगित हुँदैछ । जागिर नखाएर घुस खाएकाहरू र जागिर खाएका र अब घुस खान्न र खान दिन्न भन्नेबीचको वाकयुद्धमा प्रवेश गरेको छ । गगन थापा जस्तो समाजले हिजो आशा गरेको व्यक्तिले निर्वाचनमा हलुका तर्कका साथ जनतामाझ प्रस्तुत हुँदा जनता झन् निराश बने । यसको दुष्प्रभाव गोविन्द भट्टराई जस्तो निष्ठाको प्रतिमूर्तिलाई पर्नु दुर्भाग्य हो । तनहुँको उपनिर्वाचनमा यस्ता विषयवस्तुले प्राथमिकता पाउनु भनेको कांग्रेस अझै सुध्रँदैन भन्ने जनताले बुझे भने त्यो निश्चय पनि अन्यथा हुँदैन ।

राजनीति गर्दै आएकाहरूको भ्रष्टाचार, कुशासनको एकाधिकारलाई कायम गर्ने तर्क दिने कि कांग्रेसले अबका दिनमा अख्तियार गर्ने क्रान्तिकारी योजनाहरूलाई कार्यान्वयन गरेर विगतका जघन्य गल्तीहरूलाई अब सुधार गर्छौं भनेर जनतालाई आश्वस्त गर्ने ? माइक समातेपछि जे पनि बोल्नुहुन्छ र पद पाएपछि जे पनि गर्नुहुन्छ भन्ने सोचले पुराना पार्टीहरू आफ्नै कारणले भित्रभित्रै मक्किएका छन् । नयाँ पार्टीहरूका नेताहरूसँग अगाध विश्वासका कारण जनताले तिनीहरूको पक्षमा मतदान गरेका किमार्थ होइनन् । पुराना र ठूला भनिएका पार्टीहरूका नेताहरूको व्यक्तिवादी दृष्टिकोण, भ्रष्टाचार र कुशासनले जन्माएको चरम असन्तुष्टि हो नयाँ तर अल्लारे नेतृत्वलाई पनि विश्वास गर्नुपर्ने मतदाताहरूको बाध्यता ।

नयाँ पार्टीहरूको लहर होइन यो पुराना पार्टीहरूप्रतिको असन्तुष्टिको बौछार हो । भ्रष्टाचारले आक्रान्त देशमा अझै पनि घुमाउरो भाषामा हामीले निर्माण गरेको भ्रष्टाचारको अखडा खबरदार कब्जा नगर भन्ने हुंकारले देशको भविष्य अझै अन्धकारतिर निर्देशित छ भन्ने पुष्टि हुन्छ । घुसले चुलिएकाहरूले खुलमखुला भन्न थाले तिमीहरू जागिर खाएर घर बनाएर राजनीतिमा आएका हौ, हामीले जागिर खाएनौं घर पनि बनाएका छैनौं त्यसैले निर्वाचन जितेर घुस खान पाउनुपर्छ भन्ने कुरालाई घुमाउरो भाषा प्रयोग गरेर पूर्वजागिरेहरूप्रति राजनीतिमा दशकौंदेखि तर मार्नेहरूको आक्रोश छ ।

रवि लामिछानेको पार्टी किन जन्म्यो ? किन हुर्कियो र चितवन जस्तो ठाउँमा कांग्रेस र एमालेका हस्तीहरूलाई कसरी र किन धुलो चटायो ? माओवादीको एक्लो स्वघोषित सिंहलाई किन डाँडो कटायो ? पुराना पार्टीहरूले यसको सिंहावलोकन गर्दै सुध्रने कि आक्रोश पोख्ने ? शेरबहादुर, खड्गप्रसाद, पुष्पकमल, माधव नेपालले दिनदिनै छिनछिनमा समीकरण बदल्न हुने तर कसैले पार्टीको क्रियाकलाप र हिंसात्मक व्यवहारलाई अब सहन्न, कुशासन र भ्रष्टाचारको साक्षी बन्न सक्दिन भनेर नयाँ शैलीमा नेपाली राजनीतिलाई रूपान्तरण गर्दै जनताका अतृप्ति चाहनालाई पूरा गर्न राजनीतिलाई सुधारको बाटोमा डोहोर्‍याउन खोज्यो भने के त्यो अपराध हो ?

वर्तमान भ्रष्टाचार र कुशासनको राजनीतिका विरुद्धमा आमूल परिवर्तन ल्याउने योजना र योजनाकारप्रति आक्रोशित हुनुभनेको भ्रष्टाचारको निरन्तरताको चिन्तन हो । पुराना पार्टीहरूको अवस्था थप संकटग्रस्त हुने संकेत हो । विगतका गल्तीलाई कान सामातेर माफी माग्नु त कता कता तिमीहरूले जागिर खायौ, जागिरले घर बनायौ, हामीले जागिर खाएका छैनौं, घर बनाएका छैनौं त्यसैले हामीले घुस खाने र घर बनाउने पेशा बनाउँदै आएको राजनीतिको प्रवाहलाई नबिथोल भन्ने भनाइले पुराना पार्टीका नेता कार्यकर्ताहरूको हामी सुध्रिँदैनौं भन्ने प्रमाण हो ।

हाम्रो घुस खाने रोजीरोटी नखोस भनेर जहाँ आश र भरोसा गरेका मध्येका नेताहरू कुर्लन्छन् भने जनता कसरी आशावादी हुने ? पार्टीभित्रै विद्रोह गरेर होस् वा नयाँ पार्टी र नयाँ समीकरणबाटै किन नहोस् यदि तिनीहरूले व्यवहारबाट नै इमानदारी देखाउन सके भने पुराना पार्टीहरूका घुस अड्डाहरू सबै नयाँ पार्टीहरूले कब्जा गर्ने कुरा अनौठो हुनेछैन । तर, नयाँ पार्टीले पनि पुरानाकै शैलीमा सरकारका कार्यालयहरूलाई फेरि पनि घुस अड्डा नै बनाउने हो भने ती सक्कली स्वघोषितहरूसँग पनि नेपाली जनताको कुनै साइनो हुँदैन ।
पुराना पार्टीहरू र नयाँ पार्टीको निर्वाचनको रणनीतिलाई विश्लेषण र मूल्यांकन गर्दा राजनीतिमा शुद्धीकरणको संकेतसम्म देखिँदैन ।

नेपालमा परिवर्तनलाई छेक्ने र विकृतिलाई बोक्ने अदृश्य शक्ति सक्रिय छ । निर्वाचनले त्यो अदृश्य शक्तिलाई नाङ्गेझार पार्नुपर्छ । राजनीतिलाई मुखमा राम ! राम ! बगलीमा छुरा हुनेहरूको कब्जाबाट मुक्त गर्न सहज छैन ।

निर्वाचनमा आफू निर्वाचन जित्न केन्द्रीकृत हुनुपर्छ । निर्वाचनमा आफ्ना योजना, कार्यक्रम राख्ने र तिनीहरूलाई हामीले निम्न विधिका माध्यमले सम्पन्न गर्दछौं भनेर जनतालाई आश्वस्त पार्नु नै प्रजातान्त्रिक पद्धतिको सुन्दर पक्ष हो । तर, यहाँ राजनीति आफू जित्नभन्दा अर्कोलाई हराउनमा केन्द्रीकृत किन हुन्छ ? आफ्नो योजना र कार्यक्रमहरूको सफलताको रणनीति र पैरवीभन्दा विरोधीहरूको विरोधमा यदि निर्वाचन प्रचारप्रसार हुन्छ भने यसले सुधार होइन थप विकृति उत्पादन गर्छ । वर्तमान विकृतिले आक्रान्त समाजमा विकृति थप्ने नेता र कार्यकर्ताप्रति जनताको घोर आपत्ति छ ।

अमुक व्यक्तिले भ्रष्टाचार रोक्छु र सुशासन कायम गर्छु भनेर निर्वाचनमा प्रतिस्पर्धा गर्नु अपराध हो ? आफूसँग भएको बौद्धिक शक्तिलाई संरक्षण गर्ने कुनै योजना नहुनेहरूले बौद्धिक व्यक्तिहरूले चुपचाप गुलामी गरेर बस्नुपर्छ भन्ने तर्कले पार्टीका नेताहरूको विवेक भ्रष्टाचारले कति लिलाम गरेको रहेछ भन्ने कुरालाई खुलस्त गर्छ । खुलेयाम भ्रष्टाचारको पक्षमा अभिमत प्रकट गर्नेहरूरूको घोषणापत्रमा फेरि भ्रष्टाचार नियन्त्रण र सुशासनका विषय समावेश गरेर जनतालाई उल्लु बनाउनेहरू जनताका वास्तविक शत्रु हुन् भन्ने विषयमा जनता द्विविधामा छैनन् । जनताको सचेतनाको स्तरलाई वृद्धि नगरिकन राजनीतिमा नत शुद्धीकरण हुन्छ न यसले राजनीतिलाई दिशानिर्देश गर्छ ?

नेपालमा परिवर्तनलाई छेक्ने र विकृतिलाई बोक्ने अदृश्य शक्ति सक्रिय छ । निर्वाचनले त्यो अदृश्य शक्तिलाई नांगेझार पार्नुपर्छ । राजनीतिलाई मुखमा राम ! राम ! बगलीमा छुरा हुनेहरूको कब्जाबाट मुक्त गर्न सहज छैन । गरिबहरूलाई समानताको नारा दिएर धेरै कम्युनिष्टहरू विनोद चौधरीको हाराहारीमा पुगे । कांग्रेसमा निमुखालाई न्याय र गरिबलाई आयको सिद्धान्तका ओठे प्रवक्ताहरूले आफू र आफ्नाको मात्रै व्यवस्था गरेर पद र धनमा तर मारेका छन् ।

कांग्रेस र कम्युनिष्टहरू यस्तै विकृतिलाई निरन्तरता दिन दशकौंदेखि सहकार्य गरेको अवस्थामा आमूल परिवर्तनको एजेण्डा बोक्ने इमानदार व्यक्तिहरू आफ्नो फाँचोको लागि होइन जनताको खाँचोलाई पूरा गर्ने नियतले राजनीतिमा आउँछन् र आएका हुन् भने तिरस्कार किन ? नेपाली राजनीतिको वैकल्पिक शक्तिको उत्पादनको कारक नै कांग्रेस र कम्युनिष्टहरूको भ्रष्टाचार र कुशासन हो । हिजो थोरैमात्र जनताको पक्षमा काम गरेको भए वैकल्पिक शक्ति किमार्थ जन्मने थिएन । रवि लामिछाने जस्ता जन्माउनेहरूले उनीहरूलाई गालीमात्रै गरेर सक्किने कि सुध्रने ?

Subscribe
Notify of
guest
6 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद काे इराला ।
कुलप्रसाद काे इराला ।
2023-04-18 9:16 am

लेख सारगर्भित तर अलि लामाे भयाे ।दान सदुपयाेग र दुरुपयाेग दुवै हुन्छन् ।अचेलका ढाेंगी पुराेहितले बेलुका भट्टी रित्याएजसरी मतदान लिएकाले देश रित्याए ।कन्यादान लिनेले पनि धेरैले कन्याकाे सदुपयाेग गरेपनि कतिपयले दुरुपयाेग गरेका खबर हामीले सुनेका र देखेका पनि छाैं ।काग कराउँदैछ पीना सुक्दैछ भन्ने उखान र राजनीतिकर्मीकाे चरित्र,मतदाताकाे दानशीलता र हाम्राे लेख्ने बानीअका विचमा कतै युद्धकाे घाेषणात भएकाे छैन कि ?

Shantikrishna Adhikaree
Shantikrishna Adhikaree
2023-04-18 10:26 am

तपाईंसँग भोटको याचना नगरिकन पार्टी सदस्यताको दासतालाई स्वीकार गरेर मतदान गर्नु आत्महत्या हो । उम्मेदवारका लागि मतदाता भगवान हुन् । भगवानको आराधना नगरिकन फल मिल्छ ? त्यसैले निर्वाचन क्षेत्रमा रहेका सबै घरहरू उसका लागि मन्दिर हुन् । ती मन्दिर रूपी घरमा बस्ने भगवान रूपी मतदातालाई भक्तिभावले खुशी जसले गराउँछ उसैलाई मात्र मत दिऊँ । भोट माग्न घरमा नआउनेलाई किन मतदान गर्ने ?
सरको यो लेख मतदाताले पढ्नै पर्ने देखिन्छ।

गोविन्दराज विनोदी
गोविन्दराज विनोदी
2023-04-18 3:30 pm

सान्दर्भिक लेख । मतदाता र मत प्राप्तकर्ता दुवैथरीले पढ्नुपर्ने !!!

Cholendra kumar pandit
Cholendra kumar pandit
2023-04-19 3:41 pm

समग्र लेख राम्रो छ।सबै नेता भ्रष्ट भन्दा चन्द्र भण्डारी जस्ता पनि पर्ने भए।अरु सबैलाई ठोकेको ठीक छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?