चिनियाँ परियोजनाको विरोधको निहितार्थ

Read Time = 13 mins

✍️ श्रीमन नारायण

विगतका दिनमा चिनियाँ निर्माण कम्पनीहरूको बारेमा नेपालमा एउटा आमधारणा विकसित भइसकेको थियो कि चिनियाँ निर्माण कम्पनीहरू समयमै आफ्नो ठेक्कालाई सम्पन्न गर्छन्, यिनले निर्माण गरेका भौतिक संरचनाहरू ठोस हुन्छन् तथा चिनियाँहरू अनुशासित, मिलनसार र व्यावहारिक पनि हुन्छन्, तर उपरोक्त धारणा अब आधारहीन र मिथ्या सावित भइरहेका छन् । चिनियाँ ठेकेदारहरू अब दोब्बर-तेब्बर समय लगाएर आफ्नो जिम्मेवारीका ठेक्काहरू सम्पन्न गरिरहेका छन् । यसका निम्ति स्थानीय जनताले नेपाल सरकारलाई र नेपाल सरकारले पटक-पटक चिनियाँ निर्माण कम्पनीलाई ताकेदा गर्नुपर्ने हुन्छ ।

अब चिनियाँ ठेकेदार, इन्जिनियर तथा मजदुरहरू स्थानीय नेपालीसित झैझगडा र मारपिटका घटनासमेत गर्ने गर्दछन् । अतिथि सत्कारका लागि ख्याति कमाएको नेपालमा अब चिनियाँहरूकै गतिविधिकै कारण नेपाली जनताको आक्रोश बढ्दै गएको छ । चिनियाँ ठेकेदार इन्जिनियर, कर्मचारी तथा मजदुरसित नेपालीहरूको विवादको घटना सामान्य विषय भइसकेको छ । हालै मुग्लिङ-पोखरा सडकखण्ड निर्माणको ठेक्का लिएको चिनियाँ निर्माण कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी’ लिमिटेडका इन्जिनियर र स्थानीय नेपालीबीच हात हालाहालको घटनासमेत भएको पाइएको छ । चिनियाँहरूले नेपाली जनतालाई हेप्ने, उपेक्षा गर्ने गरेका कारण स्वाभिमानी नेपालीको रिस उठेपछि विवाद र मारपिटको घटनासमेत उत्पन्न भएको पाइन्छ । यस घटनालाई चिनियाँ ठेकेदार र इन्जिनियरको नेपालीप्रतिको हेपाहा प्रवृत्तिको विरुद्धमा बुझ्नुपर्ने हुन्छ ।

टेन्डर सकार गर्ने बेलामा चीनका प्रतिष्ठित निर्माण कम्पनीहरूको नाम हुने गर्दछ । टेन्डर सकार गर्दा तत्काल पाइने रकम आफ्नो गोजीमा राखी हिँडिदिन्छ र अपेक्षाकृत कमजोर चिनियाँ निर्माण कम्पनीको हातमा त्यो टेन्डर बिक्री गरिदिने गर्दछन् ।

विगतका दिनमा चिनियाँ निर्माण कम्पनीहरू टेन्डर कबोल गर्ने बेलामा अन्य निर्माण कम्पनीहरूको तुलनामा कम रकममा ठेक्का सकार गर्दथे । टेन्डर सकार गर्ने बेलामा चीनका प्रतिष्ठित निर्माण कम्पनीहरूको नाम हुने गर्दछ । टेन्डर सकार गर्दा तत्काल पाइने रकम आफ्नो गोजीमा राखी हिँडिदिन्छ, अपेक्षाकृत कमजोर चिनियाँ निर्माण कम्पनीको हातमा त्यो टेन्डर बिक्री गरिदिने गर्दछन् । कमजोर चिनियाँ निर्माण कम्पनीहरूसित पर्याप्त मात्रामा ठूल-ठूला उपकरणहरू हुँदैनन्, पैसाको पनि अभाव हुन्छ, फलस्वरूप निर्धारित समयमा परियोजनाको निर्माण कार्य सम्पन्न भइरहेको हुँदैन ।

ठेक्का हात पारेको नयाँ कम्पनीले कम मोलमा ठेक्का सकार गरेकाले घाटा लाग्ने अवस्था उत्पन्न भएको भन्दै आफ्ना निम्ति भेरिएसन अडरको नाममा थप समय र थप रकमको माग गर्न थाल्छन् । चिनियाँ ठेकेदारहरू यसका निम्ति नेपालका आफ्ना शुभेच्छु र समर्थकको सहयोग लिन खोज्छन्, त्यहाँबाट पनि सम्भव नभए नेपालस्थित चिनियाँ दूतावासबाट हस्तक्षेप गर्न लगाउँछन् । अन्ततः ठेक्काको समय बढ्न जान्छ र ठेक्काको रकम पनि । नेपालमा चिनियाँ ठेकेदारहरूले समयमै ठेक्का सम्पन्न नगर्नुको प्रमुख कारण त्यो नै मानिन्छ । चिनियाँ निर्माण कम्पनीकै देखासिकी गर्दै नेपाली ठेकेदारहरू यस प्रक्रियालाई अपनाएका छन् । फलस्वरूप नेपालका अनगिन्ति निर्माण कार्य अधुरो अवस्थामै छन् ।

विगत डेढ-दुई दशकदेखि त नेपालको शासन सत्तामा चीन समर्थक राजनीतिक शक्तिको बढ्दो प्रभावकारी भूमिकाका कारण चिनियाँ निर्माण कम्पनीहरूलाई विना ‘ग्लोबल टेन्डर’ नै दर्जनौं ठेक्का प्रदान गर्ने काम भएको छ । चिनियाँ निर्माण कम्पनीहरूले यसरी हात पारेको ठेक्कामध्ये एउटा पनि समयमा पूरा भएको उदाहरण छैन, जब कि विश्वका प्रायः सबैजसो देशहरूमा ‘ग्लोबल टेन्डर’ आहृवान गरी देशलाई आर्थिक लाभ पुग्ने गरी समयमै निर्माण कार्य सम्पन्न गर्ने विश्वव्यापी मान्यता प्राप्त गरेका निर्माण कम्पनीलाई मात्रै ठेक्का दिने गरिन्छ । नेपालले पनि ग्लोबल टेन्डरको मूल्य-मान्यता, परम्परालाई नै निरन्तरता दिनुपर्छ । हाम्रो देशमा पनि पहिला यस्तै हुनेगरेको थियो तर चीनको राजनीतिक विचारधाराबाट प्रभावित नेपालका राजनीतिज्ञहरू उत्तरी छिमेकीको नाम मात्रै सुने पनि स्वामीभक्ति देखाउन कन्जुस्याइँ गर्दैनन् ।

मुग्लिङ-पोखरा सडकखण्ड निर्माण परियोजनाअन्तर्गत सडकलाई फराकिलो पार्ने काम भइरहेको छ । सडक फराकिलो गर्ने कार्य हुँदा स्थानीय जनताले केही समयका निम्ति स्वास्थमाथि नकारात्मक असर पार्ने (धुलो, धुवाँ, धुप र घाम)को अत्यधिक सामना गर्नुपर्ने हुन्छ । निर्माण कार्यमा जति बढी विलम्ब हुने गर्दछ त्यसको प्रतिकूल प्रभाव तिनको स्वास्थ्यमा पनि पारिरहेको हुन्छ । सडकविस्तारको जिम्मा लिएको चिनियाँ निर्माण कम्पनीका इन्जिनियरलगायत कर्मचारीको रूखो एवं अशिष्ट व्यवहारका कारण स्थानीय जनता दुःखी र आक्रोशित हुनु स्वाभाविकै हो ।

परियोजनाको निर्माण कार्य लम्बिँदै जाँदा स्थानीय जनता आक्रोशित हुनु स्वाभाविक नै हो । आफ्नो समस्या र पीडालाई चिनियाँ निर्माण कम्पनीका इन्जिनियर सामु गुनासो पोख्दा उनले स्थानीय नेपाली जनतालाई सम्झाई-बुझाई गरी शान्त्वना र आश्वासन दिनुपर्नेमा उल्टै अभद्र व्यवहार गर्न थाले । फलस्वरूप बादविवाद बढ्न गएको थियो । स्थानीय नेपाली जनताले बाध्य भएर चिनियाँ इन्जिनियरको प्रतिवाद गरेका थिए । चिनियाँहरूले आफ्नो पुरानो बानीलाई यहाँ पनि निरन्तरता दिए तथा नेपाल सरकारका भौतिक पूर्वाधार (निर्माण) मन्त्रीलाई गुनासो गरे ।

दशकौं अघि मेलम्ची खानेपानी परियोजनाको निर्माणको सुरुङ निर्माणको ठेक्का लिएको चिनियाँ निर्माण कम्पनीले दशकौंसम्म ठेक्का ओगटिराख्यो तर काम पूरा गर्न सकेन । मेलम्ची परियोजनाको निर्माण स्थलमै पनि चिनियाँ ठेकेदार, मजदुर र स्थानीयबीच मारपिटको घटना भएको थियो ।

झिना-मसिना विवादलाई पनि अतिरञ्जित रूपमा पेश गरी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनका कम्पनी लिमिटेडले नेपालका मन्त्रीलाई गरेको पत्राचारमा आफ्नो नागरिकको भौतिक सुरक्षाको माग गर्दै यस्ता घटनाको निरन्तरता सैहृय नहुने चेतावनी नै दिएको छ । यस्ता खाले घटनाका कारण परियोजनाको कार्य प्रगतिमा बाधा उत्पन्न भएको त्यसको जवाफदेही चिनियाँ निर्माण कम्पनीको नहुने भन्दै आफ्नो ढिला–सुस्ती, कमीकमजोरी र असफलतालाई ढाक-छोप गर्ने काम गरेको छ । चिनियाँ निर्माण कम्पनीहरूले समयमै परियोजनाको निर्माण गर्न सकिरहेका हुँदैन केवल आफ्नो असफलताको निम्ति बहानामात्रै खोजिरहेको छ ।

दशकौं अघि मेलम्ची खानेपानी परियोजनाको निर्माणको सुरुङ निर्माणको ठेक्का लिएको चिनियाँ निर्माण कम्पनीले दशकौंसम्म ठेक्का ओगटिराख्यो तर काम पूरा गर्न सकेन । मेलम्ची परियोजनाको निर्माणस्थलमा नै चिनियाँ ठेकेदार, मजदुर र स्थानीयबीच मारपिटको घटना भएको थियो । झापाको दमकमा निर्माणाधीन औद्योगिक पार्क पनि चिनियाँहरूद्वारा निर्माण भइरहेको छ । त्यहाँ पनि स्थानीय जनताले कतिपय विषयलाई लिएर विरोध प्रदर्शन गरेका थिए । सप्तरीमा पनि पूर्व-पश्चिम राजमार्गको निर्माणको ठेक्का लिएको चिनियाँ निर्माण कम्पनीका कर्मचारी र स्थानीय नेपाली मजदुरबीच विवाद भएको थियो । यस्ता विवाद र झगडा सामान्य भइसकेका छन् ।

अहिले पनि नारायणघाट-बुटवल बाटो भएर आउ-जाउ गर्ने यात्रुहरूले धुलो र धुवाँको अत्यधिक सामना गर्नुका साथै समय पनि बढी बिताउन बाध्य छन् । चिनियाँ निर्माण कम्पनीले नारायणगढ-सुनवल-बुटवल र नारायणगढ-मुग्लिङ सडकखण्डको विस्तार तथा निर्माणको जिम्मा लिएको छ तर निर्माण कार्य कछुवाको गतिमा बढेको देखिन्छ । यसले गर्दा नेपाली जनतालाई नै कष्ट पुगिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि समयमा हुन सकेन । कलंकी-चाबहिल सडक खण्डको विस्तार पनि सम्पन्न भएको छैन ।

निर्धारित समयमा परियोजनाको निर्माण सम्पन्न नहुँदा नेपालको समय र पैसा पनि बढी खर्च भइरहेको छ । उल्टै नेपालीलाई नै हेप्ने काम पनि भइरहेको छ । आगामी दिनमा नेपालले ग्लोबल टेन्डरमार्फत र ख्याति कमाएको विश्वका निर्माण कम्पनीलाई मात्रै टेन्डर दिनुपर्छ । नेपालीहरू आफ्नो आक्रोश र अपमानलाई सहन गर्न नसकेपछि मात्रै विरोध गर्दछन् । आफ्नो आत्मसम्मान र स्वाभिमानसित सम्झौता गर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?