राजनीति विकृत बन्दै गएको कम्युनिष्ट नेताहरूको स्वीकारोक्ति

डिबी शर्मा
Read Time = 17 mins

काठमाडौं । नेपाली राजनीति विकृत बन्दै गएको कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले स्वीकार गरेका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा बोल्दै उनीहरूले राजनीति विकृत बन्दै गएको स्वीकार गरेका हुन् । कम्युनिष्ट पार्टीहरूमा वैचारिक सांस्कृतिक समस्या बढ्दै गएको उनीहरूको स्वीकारोक्ति छ । विचार, सिद्धान्त, मूल्य र आदर्शमा समेत विचलन देखिएको नेताहरूले बताएका छन् । नेताहरू स्वार्थ केन्द्रित बनेको भन्दै राजनीतिप्रति नै वितृष्णा बढिरहेको बेला उनीहरूले यसलाई सुधार्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको बताउनुभयो । विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शभन्दा मान्छेले सेन्टिमेण्टलाई प्रश्रय दिइरहेको उहाँको भनाइ छ । नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीविरुद्ध अनेकौँ प्रकारका प्रहार भइरहेको बताउनुभयो । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कम्युनिष्ट आन्दोलनमा विकृतिको चाङ रहेको दाबी गर्नुभयो । सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको उहाँको भनाइ छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको दाबी गर्नुभयो ।

नेकपा स्थाना दिवससँगै शनिबार पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यलाई समेत स्मरण गरिएको थियो । कर्माचार्यका नामम स्थापित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक केन्द्रीयसभामा आयोजित कार्यक्रममा नेताहरूले उहाँको चर्चा गरेका हुन् । ललितपुरस्थित नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय परिसरमा शनिबार दिउँसो भएको सभामा प्रधानमन्त्री ‘प्रचण्ड’सहित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

विचारमा विचलन देखापरेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य र आदर्शमा विचलन देखिएको दाबी गर्नुभयो । समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने डर पलाएको उहाँले बताउनुभयो । गत निर्वाचनमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शभन्दा मान्छेले सेन्टिमेण्टलाई प्रश्रय दिएकोप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । समाजमा यस्ता गतिविधि बढ्दै जाँदा बुद्धिजीविहरूले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।

‘विचारमा विचलन देखापरेको छ । कम्युनिष्ट आन्दोलनभित्र मात्रै होइन, देशको समग्र राजनीति र आर्थिक विकासको प्रक्रियामा पनि विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर जाने खतरा पैदा भएको छ,’ उहाँले भन्नुभयो, ‘गत निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शका एजेण्डाभन्दा सेन्टिमेण्ट, भावना, आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ । यस्तो बेलामा बौद्धिक पक्षबाट अलि हस्तक्षेप बढ्न जरुरी छ । वैचारिक वहस चलाउन जरुरी छ ।’ प्रधानमन्त्री प्रचण्डले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौती आफूसमक्ष रहेको बताउनुभयो ।

कम्युनिष्ट पार्टीविरुद्ध अनेकौँ प्रकारका प्रहार भइरहेका छन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगत ७४ वर्षदेखि कम्युनिष्ट पार्टीविरुद्ध अनेकौँ प्रकारका प्रहार भइरहेको बताउनुभएको छ । शनिबार पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लोपल्ट सबैभन्दा भयानक आक्रमण २०७७ सालमा भएको बताउनुभयो । २०७७ सालमा कम्युनिस्ट पार्टीका लागि ठूलो षड्यन्त्र प्रयोग गरेर प्रतिक्रियावादीले प्रहार गरेको उहाँको भनाइ छ । ‘हामीलाई दुनियाँ लागेर घेरेर समाप्त पार्न खोजे । जन्मैदेखि कम्युनिष्ट पार्टीविरुद्ध प्रहार भए । लाठी, जेलनेल दमन र षड्यन्त्र भए,’ उहाँले भन्नुभयो, ‘पछिल्लोपल्ट सबैभन्दा भयानक आक्रमण २०७७ सालमा भयो । त्यो साल कम्युनिष्ट पार्टीका लागि ठूलो षड्यन्त्र प्रयोग गरेर प्रतिक्रियावादीले हामीमाथि प्रहार गरेको वर्ष रह्यो ।’

एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाउनुभयो । दाहाल-नेपालले कम्युनिष्ट पार्टीको झण्डा राख्नु नै विकार भएको उहाँको टिप्पणी छ । ‘हामीले पार्टी एकता गरेर दुईतिहाइ पुर्‍यायौँ । तर, टुप्पामा बस्ने नेताहरूलाई सहिसक्नु भएन र बिके,’ उहाँले भन्नुभयो, ‘यतिकै उनीहरूले कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला । सस्तो मूल्यमा बिक ।’ उहाँले सबै पार्टीमा रहेका वामपन्थी र परिवर्तन चाहनेहरूलाई एमालेमा आउन आह्वान गर्नुभयो । कार्यक्रममा एकीकृत समाजवादी छोड्नुभएका मुकुन्द न्यौपाने सहितका नेताहरू एमालेमा फर्किएका थिए ।

राजनीतिमा विकृतिको भारी छ : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा विकृतिको भारी रहेको बताउनुभएको छ । शनिबार नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको दाबी गर्नुभयो । सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको उहाँको भनाइ छ । ‘अहिले नेपालको राजनीतिमा वा कम्युनिष्ट आन्दोलनमा एकभारी विकृतिहरू विद्यमान छन् । व्यक्तिवादको रोग लागेको छ । भ्रष्टीकरणको प्रवृत्ति व्याप्त रहेको छ,’ उहाँले भन्नुभयो, ‘सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छ ।’ वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको उहाँले बताउनुभयो । प्रचण्ड नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको बताउनुभयो । कम्युनिष्ट सरकारविरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको उहाँको भनाइ छ । कम्युनिष्ट पार्टीको सरकार कतिपयलाई पचिरहेको छैन,’ उहाँले भन्नुभयो, ‘अनेकौँ खालका षड्यन्त्र हुन सक्दछन् । हामीले यी सबै कुराप्रति सजग भएर लाग्नुपर्छ ।’

वामपन्थी शक्तिहरू मिल्नुको विकल्प छैन : खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाम पुग्नुभएका सम्मानित नेता खनालले विमानस्थलमा पत्रकारसँगको कुराकानीमा मिलेर जाने कुरा बेग्लै भए पनि एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताउनुभयो । वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको उहाँको भनाइ छ । सम्मानित नेता खनालले राष्ट्रियतामाथि संकट बढिरहेको बताउनुभयो ।

देश गम्भीर ढंगले प्रतिगमनतिर जाँदै छ : भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको दाबी गर्नुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरूपी हावा बगिरहेको बताउनुभयो । ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको उहाँको भनाइ छ । देशभित्र विभिन्न ढंगले चर्चाका आधारमा नयाँ शक्तिहरूको उदय हुनु राम्रो संकेत नरहेको उहाँले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेप्रति इंगित गर्दै उहाँले विचारधारा र सिद्धान्त नभएका मान्छेहरू राजनीतिमा आइरहेको बताउनुभयो । सभापति लामिछानेले रातारात जादु गर्छु जस्तोगरी अभिव्यक्ति दिइरहेको भन्दै चटके मानिसहरूको बारेमा समाजले बेलैमा बुझ्न जरुरी रहेको बताउनुभयो ।

‘यो संविधान र हाम्रो लोकतन्त्र आधा गिलास भरिएको आधा गिलास खाली हो । अब हामीले आधा गिलासलाई जोगाउने हो । आधा गिलास पनि रिस उठेर घोप्ट्याउँछु भन्न थाल्नुभयो भने हेर्नुहोला के भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘देश गम्भीर ढंगले प्रतिगमनतिर जाँदै छ । दक्षिणतिर बडो गम्भीर ढंगले प्रतिगामी हावा बगिरहेको छ । देशभित्र पनि विभिन्न ढंगले चटके शक्तिहरूको उदय भइरहेको छ । जसको सिद्धान्त कुनै छैन । नेतालाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्ने । यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दै छ ।’

हरेक पार्टीभित्र ठूलो वैचारिक सांस्कृतिक समस्या छ : श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीहरूमा वैचारिक सांस्कृतिक समस्या बढ्दै गएको बताउनुभएको छ । नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका नेता श्रेष्ठले विचार धारात्मक सांस्कृतिक समस्या कम्युनिष्ट पार्टीहरूमा बढेको बताउनुभयो । उहाँले हरेक पार्टीले आफूभित्र र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनभित्र ठूलो वैचारिक सांस्कृतिक रूपान्तरणको अभियान सञ्चालन गरे मात्रै समाजवादको लक्ष्य पूरा हुने उहाँको भनाइ छ । ‘कम्युनिष्ट पार्टीहरूको प्रमुख समस्या भनेको वैचारिक सांस्कृतिक हो । विचार धारात्मक सांस्कृतिक समस्या हो,’ उहाँले भन्नुभयो, ‘यो वैचारिक संकटलाई समाधान गर्न ठूलो वैचारिक सांस्कृतिक रूपान्तरण महाअभियान सुरु गर्नुपर्छ ।’

वर्तमान राज्य व्यवस्था असफल भइसक्यो : विप्लव
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको टिप्पणी गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो जिकिर गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भन्नुभयो, ‘आजको संसदीय व्यवस्था असफल भयो, सफल छैन । नेपाली जनतालाई यति धेरै निराश, यति धेरै लज्जित यो व्यवस्थाले बनाइराखेको छ । त्यसैले हामीले योबाट अगाडि बढाउनका लागि नयाँ आधारमा बहस खोजौँ । छलफल गरौँ । हाम्रो यो दृष्टिकोण हो । जनतालाई स्वाधिन बनाउन छ भने जनताको सत्ताबाहेक अरूबाट सम्भव छैन ।’
उहाँले देशलाई स्वाधीन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहसमा जुट्न पनि अन्य कम्युनिष्ट पार्टीहरूलाई आग्रह गर्नुभयो । जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिष्ट पार्टीहरूसँग खुला बहस गर्न चाहेको पनि महासचिव विप्लवको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?