अमर्यादित बन्दै विद्यार्थी

हिमालय टाइम्स
Read Time = 8 mins

विद्यार्थी देशका गहना हुन् । भविष्यका कर्णधार हुन् । हालका विद्यार्थीकै काँधमा देशको भविष्य रहेको छ । तर विद्यार्थीकालबाटै आफ्नो बाटो बिराउँदा त्यस्ता विद्यार्थीले देशलाई कता पुर्‍याउँछन्, त्यो भनिरहन आवश्यक छैन । विद्यार्थीका अराजक गतिविधि पछिल्लो समय बढ्दै गएका छन् । अझ तराईका जिल्लामा त यो खुलेआम नै देखिन थालेको छ । विद्यार्थीमाथि राजनीति हाबी बन्दा त्यस्ता गतिविधि बढी हुने गरेको देखिएको छ ।

पढाइ हुने समयमा विद्यार्थी राजनीतिमा केन्द्रित रहँदा परीक्षाको समयमा चिटको भरमा पास हुनुपर्ने अवस्था अहिलेका अधिकांश विद्यार्थीमा देखिएको छ । त्यसमा अझै राजनीतिक दल र प्रहरी प्रशासनको पनि साथ देखिँदै आएको छ । जसले गर्दा पढ्न नपर्ने र चोरीकै भरमा पास भइन्छ भन्ने प्रवृति विद्यार्थीमा हावी बनेको छ । यो विषय बारा जिल्लाको हो । कलैयास्थित रामराजा बहुमुखी क्याम्पसमा बिहीबार विद्यार्थीहरूले तोडफोड गरे । विद्यालयको भौतिक संरचनामा क्षतिमात्र पुर्‍याएनन् प्राध्यापकमाथि हातपात नै भयो विद्यार्थीबाट । कारण परीक्षाको समयमा चिट चोर्न नपाएको रिसको आवेग । विद्यालयका शिक्षकहरूले परीक्षामा कडाइ गरी चिट खोसेपछि अराजक विद्यार्थीहरूले सो घटना घटाएका हुन् । उक्त घटनामा केही विद्यार्थी पक्राउ परे भने केही फरार छन् । तर प्रहरीले कुनै कारबाही नगरी पक्राउ परेका विद्यार्थीलाई केही घण्टामै छाडिदिँदा यो घटनाले विद्यार्थीको मनोबल अराजकतामा उच्च बन्न पुगेको छ । यसको परिणाम अन्य विद्यार्थीलाई पुनः अराजक घटना घटाउन बल पुग्ने देखिन्छ ।

यो त एक प्रतिनिधि घटनामात्र हो । एसईईदेखि तराईमा हुने कुनै पनि परीक्षामा हाल यस्ता घटना अति सामान्य बन्दै गएका छन् । यस्तै कारणले देशमा गुणस्तरभन्दा गुणस्तरहीन विद्यार्थीको जमात बढ्दै गएको छ । जसका कारण प्रायः सबैका हातमा शैक्षिक योग्यताका प्रमाणपत्रहरू देखिन्छन् । तर, तिनको महत्व चाहिँ विगतकोे तुलनामा घट्दै गएको छ, ऊ बेलाको प्रवेशिकाको जति मानमर्यादा हालको स्नातकोत्तरको पनि बन्न सकेको छैन । हाल जे जति नेपालीहरूसँग शैक्षिक योग्यताका प्रमाणपत्र छन् ती सहज रूपमा आफैंले गहिरो अध्ययन गरी प्राप्त गरेका होइनन् भन्दा अतियुक्ति नहोला ।

तीमध्ये धेरैले त चिट चोरेर अमर्यादित रूपमा हात पारेका प्रमाणपत्र छन् । चिट चोर्न नपाएको झोकमा परीक्षा केन्द्रमै तोडफोड गरेको उदाहरणले जनमानसमा कस्तो सन्देश देला ? त्यो अनुमान गर्न अब गाह्रो छैन । पढाइको महत्व हुने समय थियो पहिले । त्यसकारण पढेलेखेका मानिसहरूको समाजमा इज्जत पनि थियो, मानिस पढाइमा तल्लीन हुन्थे । ज्ञानको तिर्खा लाग्नेहरू घर छाडेर टाढाटाढा गएर पढ्थे । अहिले टोल-टोलमा शैक्षिक संस्था खुलेका छन् । विद्यार्थीको संख्या त जनसंख्या वृद्धि सँगसँगै प्रतिदिन बढिरहेकै छ, तर शिक्षाको गुणस्तर भने प्रतिदिन खस्किँदै गएको छ ।

पास हुनु भनेको चोर्नु होइन । चोर्न पाउनु अधिकार पनि होइन । चोर्नु अमर्यादित काम हो र अमर्यादित काम गर्न पाइँदैन । तैपनि परीक्षार्थीले चोर्न पाउनुलाई आफ्नो अधिकारसँग जोड्ने गरेका छन् । अध्ययन नगर्ने, ज्ञान आर्जन नगर्ने र परीक्षामा संलग्न भएर चोर्ने तारतम्य मिलाउने विद्यार्थीहरूले चोरेर पास नै गरे पनि तिनले पाएका त्यस्ता प्रमाणपत्रबाट प्राप्त गर्ने चाहिँ के ? भन्ने प्रश्न उठ्छ । तिनले प्रमाणपत्र त पाउँलान् तर ज्ञान पाउँलान् त ? पहाडी जिल्लामा पनि चिट चोराउने र चोर्ने कार्य कुनै बेला हुन्थ्यो तर हाल त्यो प्रवृत्ति विस्तारै पन्सदै गएको छ ।

तराईका जिल्लाका परीक्षा केन्द्रहरूबाट प्रहरीले बोराका बोरा चिट, गाइड, गेसपेपरहरू खोसेर जम्मा पार्ने गर्थे । अहिले ती ठाउँहरूमा त्यो प्रवृत्तिमा कमी आएको छ । तर विद्यार्थीमाथि राजनीति हाबी हुँदा ती घटना बेलाबेलामा दोहोरिने गरेका छन् । आजकाल शिक्षाको महत्व घटेर यो अराजकाता निम्तिएको हो । कोरानापछि त जो-जो विद्यार्थीहरू जुन-जुन तहमा अध्ययनरत थिए तिनलाई स्वतः माथिल्लो कक्षामा उकालियो । ‘कोराना ब्याच’ भनेर तिनलाई उपहास गर्ने गरिएकै छ । विभिन्न जुम र अनलाइनबाट पठनपाठन गर्ने/गराउने गरियो, त्यस्तो पठनपाठन भौतिक उपस्थिति जत्तिको प्रभावकारी हुन सकेन ।

चोर्ने-चोराउनेहरूलाई अहिले प्रविधिले पनि सहयोग पुर्‍याएको छ । यस्ता अमर्यादित कार्यका लागि मोबाइलको व्यापक दुरुपयोग हुनेगरेको छ । परीक्षा सुरु भएको केही मिनेटभित्र प्रश्नपत्र बाहिरिन्छन् । परीक्षा हलभित्र विद्यार्थीहरू चोर्ने अधिकार खोज्छन् । उनीहरूले खोजेको सो अधिकार पाएनन् भने विरोधमा उत्रिन्छन् । विद्यालय तोडफोड गर्ने, शिक्षहरूमाथि कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिनेजस्ता काम विद्यार्थीले गर्दा पनि यसलाई अपराध होइन भन्दै छाडिनुले प्रहरी प्रशासनको मिलेमतो कहाँसम्म छ भन्ने कुरा प्रष्ट देखिन्छ । राजनीतिक दलले पनि राम्रो कुरालाई प्रोत्साहन गरी नराम्रो कुरालाई नराम्रो हो भनी भन्न सक्नुपर्छ । त्यसलाई ढाकछोप गर्दा कुनै बेला ठूलै घटना नघट्ला भन्न सकिँदैन । विद्यार्थीको आडमा यस्ता घटना घटाउनेलाई प्रोत्साहनभन्दा कारबाहीको दायरामा ल्याउनै पर्छ र अराजकताको अन्त्य हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?