सुदूरपश्चिममा ‘लम्पी स्कीन’ रोगले धमाधम पशु मर्दै, १० हजार बढी सङ्क्रमित

फाईल तस्बिर

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । सुदूरपश्चिममा नयाँ संक्रामक रोग ‘लम्पी स्कीन’ पशुमा देखिन थालेपछि दुधालु पशुले दूध घटाउँदै जाँदा किसान चिन्तित बनेका छन् । प्रदेशका हरेक जिल्लामा एक/एक सयको संख्यामा यो रोगका कारण पशु मरिसकेका छन् । गत वर्षदेखि देखा परेको यो रोग हाल व्यापकरुपमा फैलिसकेको छ ।

कैलाली कञ्चनपुर हुँदै पहाडी र हिमाली जिल्लामा लम्पी स्कीन रोग देखा पर्न थालेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ । हालसम्म यस रोगबाट प्रदेशका सबै जिल्लामा गरी १० हजार बढी पशु सङ्क्रमित भएको विवरण प्राप्त भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुचिकित्सक डाक्टर हेमराज अवस्थीले बताउँनु भयो ।

‘यो रोग सबैतिर फैलिसकेको छ । अहिले पशुको खरिदविक्री नगर्न र एक स्थानबाट अर्को स्थानमा पशु स्थानान्तरण नगर्न र उचित सावधान अपनाउन सके मात्र संक्रमण र मृत्युदरमा कमि ल्याउन सकिन्छ । नभए अझ भयावह अवस्था आउन सक्छ ।’ रोगको सङ्क्रमण फैलिन नदिन किसानले सजग हुनुपर्ने पशु चिकित्सकको सुझाव छ ।

रोग देखा परेका गाई गोरुलाई अलग्गै राखेर सरसफाई र आवश्यकताका आधारमा पशु चिकित्सक वा प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्ने उहाले बताउँनु भयो । सरुवा रोग भएकाले अरु पशुमा सङ्क्रमण फैलिन नदिन पशुपालक किसानलाई रोगबारे जानकारी दिने र निदानका उपायबारे जानकारी दिन आवश्यक भइसकेको छ ।

सबैभन्दा बढी यस रोगबाट गाई, गोरु र बाच्छाबाच्छी प्रभावित भएका छन् । केहि भैँसीमा समेत यो रोग देखा परेको छ । रोगलाई महामारीका रुपमा फैलिन नदिन किसानलाई सर्तक गराइनुपर्ने सरोकारवाला बताउँछन् । लम्पी स्कीन रोग विशेष गरी लामखुट्टे, टोक्ने झिङ्गा, किर्नालगायतबाट सर्ने गरेको छ । यस रोगको ठोस उपचार पद्धति नभएकाले लक्षणका आधारमा पशुको उपचार हुँदै आएको पशु चिकित्सकले बताएका छन् ।

पक्स भाइरस समूहको लम्पी स्कीन डिजिज भाइरसबाट सर्ने रोग हो । कैलालीमा यो रोग गत वर्षदेखि देखा परेको हो । जिल्लाभित्र गत वर्ष मात्र यो रोगका कारण पाँच सय बढी पशु प्रभावित बनेका थिए । यो वर्ष भने हरेक जिल्लामा एक/एक सयको संख्यामा पशु मरिसकेको विवरण प्राप्त भएको पशुचिकित्सक अवस्थीले बताउँनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?