आफूतिर फर्केर हेर्दा

Read Time = 20 mins

✍️ तिलकप्रसाद लुइँटेल

गत पाँच गतेको अंकबाट क्रमशः
मानिसलाई प्रकृतिले भाषाको शक्ति र सिक्ने खुबी दिएको छ भन्ने माथि नै चर्चा भयो । अरू प्राणीसँग सीमित भाषा छ, प्राकृतिक रूपमा जानेका कुराले उनको जीवन चल्छ । साँच्चै भनौँ भने मानिसको जीवन एउटै भाषाले मात्रै चल्न साध्य छैन । जति धेरै भाषा जान्यो, आजको जीवन उति नै सजिलो छ । पत्याउन अलिक सजिलो नहोला तर आज मानिसले सुख पाएको छ भनेर मानौँ भने पनि बहुभाषाकै कारण हो र दुःख पाइएको छ भन्ने हो भने पनि बहुभाषाकै कारण हो । भाषामा बोली र भाव दुवै समावेश हुन्छन् । पशुप्राणीको त्यस्तो हुँदैन, जन्म हुन्छ उसकै माउका प्रयासले र जीवन चल्छ उसकै प्रयासले ।

जन्मिएपछि माउले गर्ने पालन बाहेक अरू कसैको सेकताप उसलाई चाहिँदैन । कहिल्यै नदी नदेखेका पशुप्राणीलाई नदीमा हेलिदिँदा ऊ आफैँ पौडिन सक्छ, मान्छे त्यस्तो हुँदैन । मानिसका छोराछोरीलाई जन्मिन पनि समाजको सहयोग चाहिन्छ र उसलाई निकै मिहिनेत गरेर खान, हिँड्न सिकाउनुपर्छ । सहयोगबाट नै सिकाइ हुन्छ र सिकाइले नै जीवन चल्छ । छोटकरीमा भन्नुपर्दा नसिकेसम्म मानिसले केही पनि जान्दैन र सिकेपछि मानिसलाई असम्भव केही पनि छैन । जन्मदेखि मृत्युका घडीसम्म चल्ने मानिसको सिकाइ कहिल्यै समाप्त हुँदैन ।
सिकेर नै मानिसले उडेर विश्व घुम्छ, पानीमा पौडेर समुद्र मुनि पुग्छ, ग्रह नक्षत्र गन्छ, भूतभविष्य भन्छ, के पो गर्न सक्तैन ? मानिसले पाउने सबै सफलतामा उसका भाषिक सामथ्र्यसँगै सिकाइ वा शिक्षा छ, शिक्षा वा सिकाइसँगै प्रविधि पनि छ । मानिसका जीवनबाट प्रविधि हटाइदियो भने कुनै मानिस बाँच्तैन । मानिसबाहेकको प्राणीले कुनै प्रविधिको प्रयोग गर्दैन, त्यसैले प्रकृतिजीवी हो र मानिसको जीवन प्रविधिविना सम्भव छैन, त्यसैले ऊ प्रविधिजीवी हो । प्रविधिका क्षेत्रमा धेरै उन्नति गरेका देशलाई हामी विज्ञानका क्षेत्रमा उन्नति गरेका मान्छौँ ।

हामीले पुराना भनेर थन्क्याएका संस्कृतका ग्रन्थहरूमा यातायात, ढुवानी, युद्ध आदिका क्षेत्रमा प्रविधि प्रयोग भएको चर्चा मनग्गे पाइन्छ । त्यति ठुलो प्रविधिको चर्चा भएपछि सानातिना दैनिक प्रयोगका साधन थिएनन् होला र ? आजका डोजर आदिको आविष्कार गर्ने देश महादेशहरूका विषयमा जानकारी नहुँदै एउटै सिङ्गो ढुङ्गाले बनेका भवनहरूको भग्नावशेष भेटिनुले पनि त्यस बेलाका प्रविधिको सङ्केत पाइन्छ ।

हामीले आफ्ना देशमा प्राचीन समयमा भएकै प्रविधिका विषयमा पनि विश्वास गर्न नसकेको हुन सक्छ । शिक्षाको सुरुवात देश, काल र परिवेश सुहाउँदो भएमा सार्थक हुन्छ । संसारका कुनै जाति, भाषा, धर्म वा समाजले आफूलाई आफू भर्खरै उदाएको, नयाँ भन्न रुचाउँदैन ।

विज्ञानको सम्बन्ध ज्ञानसँग रहन्छ । उत्कृष्ट वा विशिष्ट ज्ञान नै विज्ञान हो । विज्ञान चिन्तनसँग पनि सम्बन्धित हुन्छ र प्रविधिसँग पनि यसको सम्बन्ध हुन्छ । प्रविधिलाई नै हामीले विज्ञान माने पनि केही भएन । सानातिना उपकरण, घरायसी काममा प्रयोग गरिने औजार, हतियारदेखि लिएर ठूला ठूला मेसिनसम्म मानिसले जेजति साधन प्रयोग गर्छ, ती सबै प्रविधि हुन्, प्रविधि मान्न नसके पनि प्रविधिका पूर्वाधार तिनै हुन् । मानिसको जीवन प्रविधिसँग जति नजिकियो, हामीले ती समाजलाई उति नै सुशिक्षित र उन्नति गरेका मान्यौँ ।

वास्तवमा जीवन चलाउन जहाँ सजिलो हुन्छ, मानिसले त्यही ठाउँ रोज्छ, जहाँ प्रविधि सहज उपलब्ध हुन्छ, मानिसले रोज्ने ठाउँ त्यही हो ।
जहाँ प्रविधि उन्नत अवस्थामा छ, त्यहाँ काम गर्न सजिलो छ, कमाइ धेरै छ मानिस त्यस्तै ठाउँमा रहन रूचाउँछ । नेपाली युवाले देश छोडेर विदेश रोज्नुको एउटा कारण विश्वका अन्य देश प्रविधिले सम्पन्न हुनु पनि हो कि जस्तो लाग्छ । भाषाको जस्तै प्रविधिमा पनि जुन मानिस धेरै थरी प्रविधि प्रयोग गर्न सिपालु छ, ऊ उति नै सजिलो गरी जीवन निर्वाह गर्न सक्छ । हामीले आफ्ना देशमा प्राचीन समयमा भएकै प्रविधिका विषयमा पनि विश्वास गर्न नसकेको हुनसक्छ ।

शिक्षाको सुरुवात देश, काल र परिवेश सुहाउँदो भएमा सार्थक हुन्छ । संसारका कुनै जाति, भाषा, धर्म वा समाजले आफूलाई आफू भर्खरै उदाएको, नयाँ भन्न रूचाउँदैन । आफू नै पुरानो, आफ्नै पुर्खाले समाजका सबै पक्षमा योगदान पुर्‍याएका, आफ्नै जाति, भाषा, धर्म, संस्कृतिले ईश्वरलाई भेटेको भन्न पछि पर्दैनन् । अरू समाजका र आफूलाई विज्ञानसम्मत धर्म भएको मान्नेहरू राजनीति समेत धर्मका आडमा गर्दै हुन्छन् तर हामी आफ्नै शिक्षा, धर्म र राजनीतिलाई आफैँ घृणा गर्छौं ।

धर्म, राजनीति, शिक्षा, सिर्जना साहित्य सबैको उद्देश्य समाजलाई सजिलो बनाउने हो । चलिरहेको अवस्था नै लोकव्यवहार हो । लोकको स्तर उच्च गराउनुपर्दा लोकव्यावहारलाई ख्याल गरिएकै हुनुपर्छ । किनभने खाने कुरा, बस्ने ठाउँ र लाउने लुगा नभइकन मानिस बाँच्दैन । नबाँचेपछि न साहित्य, शिक्षा, धर्म, राजनीति चाहियो न अन्य जुनसुकै कामको अर्थ रहृयो । खानुबाँच्नु नै जनजीविका हो । शिक्षामा विधि पनि र प्रविधि पनि सिकाइन्छ, त्यसले जनजीविकालाई सहयोग पुग्छ । त्यसलाई व्यावहारिक शिक्षा पनि भनिन्छ । त्यसैका बलमा मौलिक परम्पराका साधनहरू परिमार्जित हुँदै नयाँ रूपमा प्रस्तुत हुन्छन् । त्यसै शिक्षाले जीवनपद्धति सजिलो बनाउनाले व्यावहारिक शिक्षा भनिन्छ र त्यसको खाँचो सधैं रहन्छ ।

जनजीविकालाई नै व्यवस्थित गर्ने, क्रमशः राज्यमा रहेका सबै समुदायको विद्यमान स्थितिलाई सुधार गर्ने काम नै राजनीतिको हो । यद्यपि हिजोआज आएर राज्यमा राजनीतिक सिद्धान्त, वाद, प्रणाली र व्यवस्था भिन्न भिन्न छन् । सायद त्यसो भएर नै होला एउटै सिद्धान्तका अनुयायीहरूमा पनि अनेकौँ चिरा, गुट, उपगुटको लबी भएको देखिन्छ । त्यसो हुँदाहुँदै कुनै सिद्धान्तले चलनभित्र रहेका सम्पूर्ण कुरालाई पूरै परिवर्तन गर्न सकेको छैन, कहिल्यै सक्दैन पनि । किनभने त्यहाँ रहेको चलन परापूर्वकालदेखि व्यवहारले खार्दै र हितकारीलाई स्वीकार गर्दै हानिकर पक्षलाई त्याग्दै आएको हुन्छ ।

समग्रमा भन्ने हो भने राजनीति पनि व्यावहारिकताको परिणाम हो र जहिलेसुकै असल राजनीतिले उचित परम्पराको अपेक्षा गरेकै हुन्छ । प्रयोगमा सफल भएपछि राज्यका नियममा स्वीकृत भएर सिद्धान्त बन्छ । यसो भएर सिद्धान्त र व्यवहारमा एकरूपता आउँछ । सिद्धान्त र व्यवहारमा फरक पर्न जाँदा सिद्धान्त असफल हुन्छ । हिजोआज सिद्धान्त त राम्रो छ, अगुवा नेताहरूमात्रै खराब भएर हाम्रा पार्टीको बदनाम भएको हो भन्ने गरेको सुनिन्छ ।

सिद्धान्तमा भ्रष्टाचारको अवसर रहेपछि त्यसबाट लाभ लिन जुनसुकै युगमा कोही न कोही तयार हुन्छ । सिद्धान्त र व्यवहार फरक परेपछि कठिनता उत्पन्न हुन्छ र शान्ति हराउँछ । बेलायत आदि हामीले आज विकसित मानेका देशहरूमा नियम उल्लंघनको समस्या कमै सुनिन्छ, व्यवहारसिद्ध परम्परालाई नै देशका नियम कानुनमा समेटेर यसो भएको हुनुपर्छ ।

मानिसको मतभिन्नताले नै सबै वस्तुको नाम र परिभाषा फरक पर्छ । चाहे त्यो विज्ञान प्रविधिको होस्, राजनीति होस् वा धर्मको । मानिस भएपछि नै धर्म अधर्मको कुरा आउँछ । धर्म भन्ने नाम दिएर गरिएको विभिन्न सम्प्रदाय, आचरण र सामाजिक व्यवहार त्यस्तै स्थान विशेषको व्यवहारबाट विकसित भएका हुनुपर्छ । ती सबैको लक्ष्य समाजको हितका लागि हुनुपर्छ । कालान्तरमा तिनीहरूमा भएका मतभेदले मानिसको एकता हुनुपर्ने ठाउँमा फाटो, वैमनश्य, कलह, झगाडा हुँदै काटाकाट र मारामार भएको पनि देखिन्छ । ईश्वरको र धर्मको अर्थ अत्यन्तै विस्तृत, बृहत् हुनाले बुझ्न सजिलो छैन, बुझाउन सजिलो छैन ।

यो सन्दर्भ ईश्वरको र धर्मको नभएर प्राचीन ग्रन्थहरूको हो । ती ग्रन्थहरूको उद्देश्य भुक्ति, मुक्तिसँग सम्बद्ध छ । धर्मले भुक्ति र मुक्ति दिन्छ भन्ने कुरा धेरै ठाउँमा उल्लेखित छ । भुक्ति भन्नाले जीवनमा चाहिने उपभोग, उपभोग्य सबै कुरा पर्छन् । जीवन नभए अरू केही पाइन्न, जीवन पाएपछि सुखशान्ति र अन्तमा मुक्तिसमेत पाइन्छ भन्ने प्राचीन शास्त्रको विचार हो । त्यसैले जीवनमा चाहिने सबै पाटाहरू शास्त्रमा पाइन्छन् । केवल मुक्तिका लागि ती प्राचीन ग्रन्थहरू सीमित भएका छैनन् । यद्यपि आध्यात्मिक मान्यताको लक्ष्य आत्मालाई परमात्मामा मिलाउने हो तर त्यसभन्दा पहिले यो धर्ती र यहाँको जीवनका पक्षमा बोलेका छन् ।

ज्ञानको परिमार्जन हुँदै विज्ञान बन्यो, विज्ञानले जीवनका सबै पाटाहरूको अध्ययन गर्ने बाटो खोल्यो । प्रविधि पनि दैनिक जीवनका औजार, हतियार, साधन र उपकरणहरू परिमार्जित हुँदै बनेका हुन् अझैसम्म अगाडि बढिरहेकै छन् । त्यसो हुँदा जुन समाजले पढ्न लेख्न जान्यो, अरूलाई सिकायो । समाज नै विज्ञान वा प्रविधिको जन्मदाता हो । भाषा, सिकाइ र प्रविधि एक अर्काका पूरक हुन् । तिनमा राजनीति, धर्म र शिक्षा साहित्य, सञ्चारसेवा आदि विचारका सबै पक्षका हुन् । साधनको प्रयोग सँगसँगै रहेको हुन्छ । यी सबै कुराको समन्वय प्राचीन ग्रन्थमा छ ।

विश्वको पुरानो ग्रन्थ भनी युनेस्कोले ऋग्वेदलाई मान्यो । पुरानो ग्रन्थ हुनका लागि पुरानो समाज चाहियो । पुरानो समाज थियो भने पुराना लेखक थिए तथ ऋग्वेद लेखियो । लेख्न सक्ने थिए भने पढ्न सक्ने पनि थिए । गाँस, बासको सुविधा नभइकन मानिसले पढ्न सक्तैन । एकाधले सके पनि सारा राज्य नै यति सुशिक्षित हुँदैन । समाज वा राज्यले शिक्षाका क्षेत्रमा लेख्ने पढ्ने कामका लागि पहिले गाँस बासका क्षेत्रमा काम गरेकै हुनुपर्छ ।

आज हामी किन पछि पर्‍यौँ त ? आफ्नो ठाउँमा प्रयोग भएर विकास हुँदै आएका ज्ञानलाई ज्ञान नमानेर अर्काका देशबाट आएकालाई ज्ञान मान्यौँ, अर्काका देशबाट आएका विज्ञानलाई विज्ञान भन्यौँ, अर्काका देशबाट आयात गरेको प्रविधिलाई प्रविधि मान्यौँ, आफ्ना शिक्षालाई शिक्षा मानेनौँ अर्काले दिएको शिक्षालाई पढ्न थाल्यौँ ।

जति विकसित समाज उति नै सुशिक्षित हुन्छ, पछाडिएको समाज शिक्षामा पछि नै परेको हुन्छ । आजको मानिस प्रविधि विना बाँच्तैन भने उस बेला प्रविधि नै प्रयोग गर्नुपथ्र्यो । ऋग्वेदको सिर्जना भएको भौगोलिक क्षेत्रभित्र हाम्रो देश पर्दछ । त्यसो हुँदा हामीले विज्ञान भने पनि वा प्रविधि माने पनि त्यस क्षेत्रमा हाम्रो देश विश्वमा सबैभन्दा अगाडि रहेछ भन्ने कुराको अर्को प्रमाण खोज्नै परेन । कुनै पनि समाज यहाँको भन्दा धेरै उन्नति गरेको तर अभिलेख नलेखीकन बसेको पक्कै हुन सक्तैन ।

आज हामी किन पछि पर्‍यौँ त ? आफ्नो ठाउँमा प्रयोग भएर विकास हुँदै आएका ज्ञानलाई ज्ञान नमानेर अर्काका देशबाट आएकालाई ज्ञान मान्यौँ, अर्काका देशबाट आएका विज्ञानलाई विज्ञान भन्यौँ, अर्काका देशबाट आयात गरेको प्रविधिलाई प्रविधि मान्यौँ, आफ्ना शिक्षालाई शिक्षा मानेनौँ अर्काले दिएको शिक्षालाई पढ्न थाल्यौँ । यसबाट सबैभन्दा ठुलो काम त हामीले के गर्‍यौँ भने हाम्रा आफ्ना पुर्खालाई मूर्ख मान्यौँ र अर्काका पुर्खालाई विद्वान् भनी पुज्यौँ । जसले आफ्ना पुर्खालाई नपत्याएर हेप्यो, उसले आफ्नै बाउलाई नपत्याएर हेपेको पनि हो । आफ्नै बाउआमालाई नपत्याउनेले आफूलाई पत्याउने आधार के ?

आफैँले आफूलाई पत्याउँदैन भने उसलाई कसले पत्याउने ? बिग्रेको मोटर, बिग्रेको रन्दा मेसिन, बिग्रका पाइपका टुटीहरू दिएर नयाँ सिसाका गिलास साट्नुहोस् भन्दै दिन दिनै आउने मानिसले आफ्नो बुद्धि प्रयोग गरेर व्यापार गर्‍यो । उसले बनाउन मिल्ने सामान दिनुभनेको सायद होइन, कसैले बनाउनका अल्छिले अलिअलिमात्रै बिग्रेका पनि दिएका होलान् । हाम्रो अवस्था ठीक त्यस्तै भयो । अझ, बिग्रेका सुनका सिक्काहरू माटाको गिलासमा साट्न पाइन्छ भनेको जस्तै भएको छ ।

समाजको विकासक्रममा कसले कस्ता साधन, औजारहरू चलायो, त्यो किटानीसँग भन्न सम्भव छैन, तर तिनैलाई सजिलो बनाउँदै आजका छरिता औजारहरू बनेका हुन् भनेर विश्वास गर्ने हो भने आफूमाथि विश्वास हुन्छ । आफूलाई आफूले विश्वास गर्ने भए आफ्नै आमाबुबालाई विश्वास गर्दै कुलपुरूष, गोत्र पुरुषसम्म पुग्न सक्नुपर्छ र आफ्नै पुर्खाका अभिलेख पढेर समय सुहाउँदो परिवर्तन वा परिमार्जनलाई आत्मसात् गर्न सक्नुपर्छ । आफ्नो भूमि, आफ्ना साधनमा भरोसा र सम्मान गर्न सक्नुपर्छ । यसो हुन सकेमा अझै पनि अवसर छ । आफूसँग भएको ज्ञानबुद्धि, स्रोतसाधन र अवसरलाई नदेखेर अर्काले हिजो अस्ति विकास गरेको मात्रै राम्रो भनियो भने आज चुहिएको घर भोलि भत्कन्छ । अर्काको टलक्क परेको घरलाई राम्रो भनेर उसकै प्रशंसा र स्याहार गर्दैमा त्यसको अधिकार आफूले पाइन्न । अस्तु ।
(लुइटेल पूर्वीय वाङ्मयका अन्वेषक, चार वेदलगायत संस्कृतका महत्वपूर्ण तीसौं ग्रन्थहरूका अनुवादक, विश्लेषक र सामाजिक सेवामा संलग्न हुनुहुन्छ ।)

https://ehimalayatimes.com/2023/04/109750/

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?