म्याग्दीमा रोकिएका सबै विकास निर्माणका काम सुरु

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । लामो समयसम्म रोकिएर रहेका विकास निर्माणका कामहरु म्याग्दीमा सुरु भएका छन् ।

विगतमा पटक–पटक म्याद थप गरिएपनि निर्माण कम्पनिका प्रतिनिधिहरुको वेवास्ताका कारण अलपत्र परेका म्याग्दीका ठूला विकास योजनाका कामले गति लिन सुरु गरे पछि स्थानीय खुसी भएका छन् ।

जनता र जनप्रतिनिधिहरुको निरन्तरको ताकेता, ठेक्का सम्झौता रद्ध गर्ने चेतावनी, कालोसूचीमा राख्ने प्रक्रिया सुरु जस्ता दवावमूलक कामहरुले निर्माणको जिम्मा (ठेक्का) लिएका ठेकेदार काममा फर्किएका छन् । संघ र प्रदेश सरकारमार्फत सडक, भवन, पुललगायतका ठूला विकास निर्माणका रोकिएको काम सबैतिर सुरू भएको पुर्वाधार कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लाको विकासमा ठूलो महत्व राख्ने योजनामध्ये गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरोला, पश्चिम म्याग्दी हुदै रुकुम जोड्ने मध्पहाडी लोकमार्गको बैकल्पिक बेनी–दरवाङ,दरबाङ–धारापानी सडक, गलेश्वर–भगवती, बेनी–बागलुङ,बेनी अस्पताल,अलपत्र म्याग्दीभित्रका पक्की पुलको काम सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिनुभयो ।

“पटकपटक समय थपिए पनि निर्माण व्यवसायीले योजनालाई पूर्णता नदिएपछि अन्तिम विकल्प खोज्दै थियौं, अहिले सबै काममा फर्किएका छन्, अब रोकिए ठेक्का नै रद्ध र कालोसूची नै अन्तिम विकल्प हो“ पूर्वाधार विकास प्रमुख अधिकारीले भन्नुभयो ।

एक स्थानीय तह एक आधारभूत अस्पताल योजनाअन्तर्गत मंगला र धवलागिरि गाउँपालिकामा निर्माणाधीन भवनलाई समेत समयमै सम्पन्न गर्न प्रकृया अगाडी बढेको छ ।

कार्यालय प्रमुख अधिकारीका अनुसार एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत आठ किलोमिटर सडक कालोपत्रे गर्ने रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती सडकको अनुमगन सहितको कार्य सुरु भएको छ ।

त्यसैगरी बेनी–दरवाङ सडकअन्तर्गत सिमलचौरदेखि लाम्पाटासम्मको कामले गति लिएको छ भने लाम्पाटा–दरवाङ खण्डकको काम रोकिएको अवस्थामा ठेकेदारलाई अल्टिमेटम सहित काममा फर्किन पत्रचार गरिएपछि अहिले काम सुरु भएको छ । अव कुनैपनि म्याद सकिएको आयोजनाको म्याद थप नगरिने समेत पूर्वाधार कार्यालयले जनाएको छ ।

जिल्लामा अलपत्र योजनाका निर्माण व्यवसायीलाई काममा फर्काउन प्रतिनिधिसभा सदस्य खम्वीर गर्वुजा, प्रदेशसभा सदस्यहरू रेशम जुग्जाली, हरिबहादुर भण्डारी, विमला गौचन, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायत स्थानीय तहका जनप्रतिनिधिसमेत सक्रिय भएका छन् ।

निर्वाचित संघ र प्रदेशका सांसद तथा जिल्लाका नेताले विकास योजना कार्यान्वयनलाई गति दिन कार्यालय र निर्माण ब्यवसायी बीचको प्रतिबद्धता कार्यान्वयन तथा प्रतिबद्धता पूरा गर्न आनाकानी गर्नेको ठेक्का रद्ध, धरौटी जफतसम्मको पत्र पठाइएपछि ठेकेदार त्रसिएर काममा फर्किएसँगै अहिले अपुरो योजनाले गति लिएको प्रतिनिधिसभाका सांसद खम्वीर गर्वुजाले बताउनुभयो ।
फोटो ः बेनी–दरबाङ सडकखण्ड अन्तरगत बावियाचौर बजार नजिकै पुगेर पहाड फोड्दै स्काभेटर ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?