साउदीलाई हराउँदै ओमान सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । साउदी अरेबियालाई हराउँदै ओमानले काठमाडौंमा जारी एसिसी प्रिमियर कपमा स्थान बनाएको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा साउदी अरेवियालाई ७२ रनले हराउँदै ओमानले सेमिफाइनलमा स्थान बनाएको हो ।

समूह ‘ए’ मा रहेको ओमानले तीन जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो । जितको लागि ३६७ रनको विशाल लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २९४ रनमा अल आउट भयो । साउदीका ओपनर अब्दुल वहिदले ८६ बलमा १४ चौका र एक छक्कासहित ९५ बनाउनुभयो ।

यस्तै, साद खानले ८० बलमा १० चौका र एक छक्कासहित ७८ रन बनाउनुभयो । कप्तान हिशाम शेखले ३२ बलमा चार चौकासहित ३६, अब्दुल वहिद १५ बलमा दुई चौका र दुई छक्कासहित २५ रन बनाउनुभयो ।

ओमानका बिलाल खानले ८.५ ओभरमा ७५ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो । जिशान मकसुदले १० ओभरमा ४१ रन खर्चेर दुई विकेट तथा जय ओडेराले नौ ओभरमा ६१ रन खर्चेर तीन विकेट लिनुभयो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६६ रन बनाएको थियो ।

ओमानका ओपनर जतिन्दर सिंहले ७९ बलमा ११ चौका र दुई छक्कासहित ८८ रन बनाउनुभयो । मोहम्मद नदिमले उत्कृष्ट अन्त्य गर्दै ३८ बलमा छ चौका र चार छक्कासहित ७१ रनमा अविजित रहनुभयो । नसिम खुशी ६ बलमा १२ रनमा अविजित रहनुभयो ।

पहिलो विकेटका लागि जतिन्दर सिंह र कश्याप प्रजापतीले १७.२ ओभरमा १२५ रन रन बनाउनुभएको थियो । कश्याप ५३ बलमा ६ चौका र दुई छक्कासहित ५१ रनमा आउट हुनुभयो । शोएब खानले ७० बलमा आठ चौका र दुई छक्कासहित ६८ रन बनाउनुभयो । यस्तै कप्तान जिशान मकसुद ४९ बलमा चार चौका र दुई छक्कासहित ५४ रनको अर्धशतकीय पारी खेल्नुभयो ।

तीव्र गतिका बलर अब्दुल वहिदले १० ओभरमा ६४ रन खर्चेर दुई विकेट लिनुभयो । तीव्र गतिका बलर अतिफ उर रहमानले नौ ओभरमा ८० रन खर्चेर तीन् विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?