वैशाख २४ गते नेपाल व्यवसाय शिखर सम्मेलन

Read Time = 3 mins

काठमाडौं । अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र भन्ने नाराका साथ नेपाल व्यवसाय शिखर सम्मेलन २०८० हुने भएको छ । सरकार तथा विभिन्न साझेदार संघ संस्थासँगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले यही वैशाख २४ गते काठमाडौंमा सम्मेलन आयोजना गर्ने भएको हो ।

सिबिफिन अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न हुने सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेसनल फाइनान्स कर्पोरेसन(आइएफसी)का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेण्टका सल्लाहकार कमर सलिम, अर्बपति तथा सांसद विनोदकुमार चौधरी, सांसद डा. स्वर्णिम वाग्ले, गभर्नर महाप्रसाद अधिकारी, उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनी, विश्व बंैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्भोसा, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणालगायतको सहभागिता रहने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवं बैंकिङ अवस्था, चुनौती तथा समाधानका उपायहरूमा गहन छलफल हुने सिबिफिन अध्यक्ष गोल्यानले बताउनुभएको छ ।

पछिल्लो समय उद्योगी व्यवसायीको मनोबल घटेको, विभिन्न कारण मागमा संकुचन आई उत्पादन प्रभावित भएका जस्ता समस्या समाधानका विषयमा समेत सरोकारवालाको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट समापन हुने सम्मेलनमा आर्थिक, बंैकिङ एवं व्यावसायिक क्षेत्रका विभिन्न शीर्षकमा गरिने व्यापक छलफल, बहसबाट प्राप्त निष्कर्ष सरकारलाई बुझाउने सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

सो अवसरमा सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले ठूला घर र गाडी हुनुमात्रै आर्थिक समृद्धि नभएको भन्दै जनता धनी भए पनि सरकार गरिब रहेको बताउनुभयो । विकास र समृद्धिका लागि अन्य क्षेत्र पनि बैंक तथा वित्तीय संस्थाजस्तै पारदर्शी हुनुपर्ने उहाँको भनाइ थियो । सरकार चलाउन पनि ऋण लिनुपर्ने विद्यमान अवस्थाप्रति उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो । सरकार, सिबिफिन र नेपाल बिजनेस इन्ष्टिच्युटको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?