मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानकी कृषक रमिला बूढा मकै बालीमा अमेरिकन फौजी किराको आक्रमणले सताएपछि चिन्तित हुनुभएको छ ।

हरियाली बनेको मकैखेतीमा किराले सताउन थालेपछि जति मिहेनत र परिश्रम गरे पनि बालीमा क्षति हुँदै गएकाले उत्पादनमा असर पुग्ने उहाँको गुनासो छ ।

कृषक बूढा भन्नुहुन्छ, ”करिब चार रोपनी जमिनमा मकैखेती लगाइएकामा बोटमा किरा लागेर हैरान पारेको छ, गत वर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र किराको प्रकोपले समस्या सिर्जना गर्छ ।”
कृषक बूढा जस्तै जिल्लाका दरवाङ, बाबियाचौर, ताकम, बिम, देविस्थान,ज्यामरुककोट, भकिम्ली लगायतका गाउँमा लगाएको मकैमा मौसमको प्रतिकूलताका कारण फौजी किराको प्रकोप देखिएपछि कृषकहरु चिन्तित भएका छन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा कतै मकै भर्खरै उम्रेको छ । कतै गुवा हाल्दै गरेको र गोडमेल गर्ने समय हुन लागेको छ । यी सबै मकैको बोटमा फौजी किराको प्रकोप बढ्न थालेपछि किसानहरु चिन्तित भएका हुन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलका अनुसार लामो समयको खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी किरा’ को प्रकोप देखिन थालेको हो । विभिन्न स्थानमा उक्त किराको लार्भाले मकैको बोटको पात र गुभा खाएको पाइएको छ । फौजी किरा’को प्रकोप फैलिने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत सिग्देलले बताउनुभयो ।

जिल्लाको रत्नेचौर,ज्यामरुककोट लगाएतका क्षेत्रहरुमा आईपीएम कृषक पाठशाला संचालन गरिएको छ । कृषक पाठशालाका प्रशिक्षक क्षेत्रबहादुर कटुवालले यो वर्ष किराले मकैको बोट खान थालेको र गर्मी बढ्दै जाँदा रोग किराको प्रकोप फैलिन सक्ने जोखिम पनि बढ्दै जाने बताउनुभयो ।
मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत वानियाँका अनुसार वयस्क किराले मकै वा अन्य बालीको पात र गुभामा अण्डा पार्छ । करिब दुई हप्तासम्म लार्भा अवस्थामा रहने यो किराले सबैभन्दा बढी क्षति नै लार्भा अवस्थामा पु¥याउँछ ।

करिब एक हप्ताको वयस्क अवस्थामा उडेर टाढा–टाढासम्म पुगेर अण्डा पार्ने भएका कारण छोटो समयमा नै यसको प्रकोप फैलिने उहाँले बताउनुभयो । एक ठाउँमा देखिनु भनेको धेरै ठाउँमा देखिनु भएकाले यदाकदा देखिँदा बित्तिकै यसको प्रकोपको भय हुने बानियाँले जानकारी दिनुभयो ।

म्याग्दीका विभिन्न छ स्थानीय तहमा रहेका १४ समूहले मकैको बीउ उत्पादन गरिरहेका छन् । ती समूहलाई ‘अमेरिकन फौजी किरा’ को प्रकोपबारे केन्द्रले जानकारी गराएको छ । फौजी किराले रातिको समयमा बढी क्षति गर्ने गरेको कृषि प्राविधिकहरु बताउँछन् ।
‘फौजी किरा’ बढी नै खन्चुवा खालको हुने भएकोले जति बेला पनि मकैको बोट खाइरहेको हुने र त्यो क्रम मकैको घोगा तथा धान चामल लाग्ने बेलासम्म पनि चलिरहने प्राविधिकहरुको भनाइरहेको छ ।

यो किराको लार्भाले धान, गहुँ, कोदो, उखु, तेलहन बाली, लहरे बाली, काउली बाली, भटमास, प्याज, गोलभेँडा, आलु लगायतका बालीहरूमा पनि क्षति पु¥याउने गरेको छ ।

यसको व्यवस्थापनको लागि खेतबारीमा नियमित अवलोकन गर्ने, ‘डेस्मोडियम’ घाँसको गन्ध यो कीरालाई मन नपर्ने भएकाले बालीको बीचबीचमा ‘डेस्मोडियम’ घाँस लगाउने, ‘नेपियर’ घाँसले कीरालाई आकर्षण गर्ने भएकाले खेतबारीको छेउछाउमा ‘नेपियर’ घाँस लगाइ कीरा आकर्षण गरी विषादी प्रयोग गरेर एकै पटक मार्ने लगायतका उपाय अपनाउन कृषि प्राविधिकको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?