‘ग्याँसमा पनि स्वचालित मूल्य प्रणाली हुन्छ’

Read Time = 3 mins

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ग्याँसमा स्वचालित मूल्य कायम गरिने बताउनुभएको छ । आयल निगममा आधिकारिक ट्रेड युनियन कर्मचारी संघको नवौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले ग्याँसमा रहेको घाटा न्यूनीकरणका लागि ग्याँसमा पनि स्वचालित मूल्य कायम गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको हो ।

तथापि हाल अन्तर्राष्ट्रिय बजारमा एलपी ग्याँसको मूल्य घट्न थालेको र आगामी दुई-तीन महिनासम्म घट्ने अनुमान रहेको थानीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्याँसको मूल्य घटेर ब्रेक इभनमा आउने अनुमान छ । त्यसो भयो भने हामी स्वचालित मूल्य प्रणाली कायम गर्नेछौं ।’ हाल ग्याँसमा प्रतिसिलिण्डर पाँच सय ४४ रुपैयाँ घाटा रहेकाले घाटा रहे पनि पूर्तिका लागि मूल्य बढाउँदा उपभोक्तालाई मर्का पर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा भाउ घट्नासाथ नेपाली बजारमा स्वचालित मूल्य प्रणाली कायम गर्ने तयारी अवस्थामा रहेको उहाँको भनाइ थियो । तर, ग्याँसमा स्वचालित मूल्य निगमको एक्लो प्रयासले मात्रै सम्भव नहुने पनि थानीले बताउनुभएको छ । निगमले २०७१ असोजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा स्वचालित मूल्य प्रणाली कायम गरेको थियो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन चाँडै ल्याउने गरी गृहकार्य भइरहेको बताउनुभयो । ऐनको मस्यौदा अर्थ मन्त्रालयबाट पास भई रायका लागि कानुन मन्त्रालय पुगिसकेकाले चाँडै सबै प्रक्रिया पूरा गरी ऐन जारी हुने उहाँले बताउनुभयो ।

कर्मचारी संघका अध्यक्ष मधुमास कोविन्द पुनले एमाले र माओवादी केन्द्रनिकट कर्मचारी एउटै संघमा आबद्ध रहेको र संघ नै निगमभित्र आधिकारिक ट्रेड युनियनका रूपमा रहेको बताउनुभयो । संघका अर्का अध्यक्ष छविलाल अगस्तीले निगमको हितमा कार्य गर्ने कार्यकारी निर्देशकलाई फूलमाला लगाएर स्वागत गर्ने तर प्रतिकूल काम गरे विरोधमा उत्रिने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?