अबको लगानी खेलमा

हिमालय टाइम्स
Read Time = 9 mins

नेपालको खेल इतिहासमा नेपाली क्रिकेट खेलाडीहरूले नवीन इतिहास रचेकोमा हामी बधाई दिन्छौं । नेपालको खेल क्षेत्रमा ठूलो लगानी छैन, भौतिक पूर्वाधार र सहुलियत अत्यन्त न्यून छ । प्रायोजन गर्ने व्यावसायिक, व्यापारिक, औद्योगिक घरानाहरू नेपालमा समृद्ध छैनन् । उत्पादन क्षेत्र प्रतिदिन दरिद्र हुँदै गएको छ । खेल क्षेत्रमा लगानी विनाखेलको स्तर भएन, हुनसकेन, वा हुनुपर्छ भन्नु अन्धकारमा जंगार तर्नु अथवा खोलामा पसेर गीत गाउनु जस्तै हुनेछ । नेपालको सन्दर्भमा त्यही भइरहेको छ । नेपाल यति कमजोर सुविधा उपयोग गर्दै भए पनि अब क्रिकेट खेलमा भारत र पाकिस्तान जस्ता विश्वविजयीसँग प्रतिस्पर्धा गर्ने भएको छ । यसैकारण यस पुस्ताका नेपाली क्रिकेट खेलाडीहरू, प्रशिक्षक र व्यवस्थापनमा संलग्न सबै जना बधाईयोग्य रहेका छन् । खेलमा त्यसै र सहज विजय संभव हुँदैन । खेल भावना पहिलो हो भने दोस्रो खेलाडीको लगन र सामथ्र्य, तेस्रो हो प्रशिक्षण र चौथो हो समग्र व्यवस्थापन । यसका लागि आवस्यकता अनुसार आर्थिक भौतिक आधार राज्यले नै प्रदान गर्नु अनिवार्य छ ।

नेपालको खेल यात्राले करिब आठदशक पार गरेको छ । नेपालको मौलिक खेल बाघचालदेखि डण्डीवियोसम्म अथवा कपर्दीदेखि झ्यारमानेसम्म छन् । नेपालभित्रैका परम्परागत खेल र पछि अन्यत्रबाट भित्रिएका फुटबल, बास्केट बल, बुद्धिचाल, गल्फ, कुस्ती, शारीरिक सुगठन, खो खोखो, फुटसल, क्यानोनिङ, घुरा, भाले जुधाई, गट्टा, खोपी हक्की, लड् टेनिस, हृयाण्डवल, घोड दौड, हात्ती खेल पोलो, डुंगा चालन प्रतियोगिता, छेलो, भारत्तोलन, व्याडमिन्टन, तारा हान्ने अनेक छन् । नेपालको खेल इतिहासमा फुटबल सबैभन्दा पुरानो लोकप्रिय रहे पनि यसले अझै उपल्लो परिचय दिन भने सकेको छैन । दक्षिण एसियाली देशहरूमध्ये नेपाल कमजोर नभए पनि खासै सफलता पाएको देखिँदैन । अन्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको दोस्रो चरण पुग्ने सामथ्र्य फुटबलसहित अन्य धेरै खेलले गर्न सकेका छैनन् । तर जुडो, कराँते, उसु, बक्सिङ आदि खेलले भने अन्तर्राष्ट्रिय हैसियत कायम गरेका छन् । धावन प्रतियोगिता, पौडी प्रतियोगितामा समेत अन्तर्राष्ट्रिय तह पुग्न सकेको छैन । क्षेत्रीय प्रतियोगिताहरूमा यी खेलले आफ्नो परिचय बनाइसकेको देखिन्छ । नेपालमा क्रिकेट खेलको इतिहास त्यति लामो छैन ।

क्रिकेट खेललाई ओलम्पिकमा समेत समावेश गरेको भर्खरमात्रै हो । नेपालमा त यो खेल नब्बेको दशकसम्म परिचयविहीन थियो । परिचियविहीन खेलका रूपमा आकर्षण हुने कुरै थिएन । तर दक्षिण एसियामा यसले पाएको अत्यधिक सफलता, लोकप्रियता र जनसमर्थनको प्रभाव विस्तारो नेपालमा पनि पर्दै गयो । क्रिकेटप्रेमीहरूको संख्या बेजोड हुँदै गयो । अहिले क्रिकेट खेल प्रत्येक नेपाली मानसिकतामा प्रविष्ट छ । क्रिकेट खेलाडीहरूले नेपालको अन्तर्राष्ट्रिय परिचय स्थापित गरेका छन् । नेपालबाट इण्डियन क्रिकेट लिगमा समेत खेलाडी सहभागी भएको अवस्था छ ।

यस उचाइमा क्रिकेटलाई पु¥याउने अनेक नामहरू भए पनि यतिखेर सर्वत्र सन्दीप लामिछाने सर्वाधिक माथिल्लो स्थानमा रहेका छन् । यद्यपि उनी यौनहिंसाको अभियोग खेपी रहेका छन् । उनले यति ठूलो मनोवैज्ञानिक दबाब झेल्दै देखाएको खेल प्रतिभा अत्यन्त प्रशंसनीय छ । सन्दीपमात्रै होइन खेल भनेको टिमको मनोविज्ञान, दृढ अनुशासन, सामूहिक भावना र निष्ठाले जित्ने विषय हो । प्रतियोगितामा क्रिकेट टिमका सबै सदस्यहरूको उत्तिकै भागिदारी रहेको बिर्सनु हुँदैन । युएई जस्तो समृद्ध देशका खेलाडीहरूले पाउने सुविधा र प्रोत्साहन नेपाली खेलाडीले पाएका छैनन् । युएईमात्रै होइन प्रतिस्पर्धी अरू देशका खेलाडीभन्दा नेपाली खेलाडीको भौतिक सहुलियत गणनायोग्य छैन । तर पनि एसिया कपमा पुग्न देखाएको सानदार खेलको जति प्रशंसा गरे पनि पुग्दैन ।

नेपाली दर्शकहरूले खेल मैदानमा पुगेर भद्र, शिष्ट, शालिन तरिकाले देखाएको समर्थन पनि खेलाडीहरूका लागि ऊर्जा हुनसक्छ भने सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरू समेत खेल मैदानमा पुगेर खोलाडीलाई उत्साहित गर्नु सुखद् पक्ष हो । त्यसमा पनि खेलाडीको मनोबल बढाउन सरकारका तर्फबाट विशेष पुरस्कार दिने घोषणा सराहनीय छ । तर प्रशंसनीय भए पनि सरकारले बेलाबेलामा पुरस्कार रसम्मान प्रदान गर्नासाथ खेल जगतको अन्तर्राष्ट्रिय व्यक्तित्व निर्माण होला त ? यो प्रश्न आफैंमा महत्वपूर्ण छ । अहिले खेल क्षेत्रलाई मद्धत गर्नुपर्ने र व्यवस्थापन गर्नुपर्ने कर्मचारी प्रशासनको अवस्था के छ ? वर्षौदेखि आफ्नो सिंगो वय खेलविकासमा सक्रिय योगदानमै खर्च गर्ने कर्मचारीहरूको अवस्था असाध्य निरीह छ । वर्षौंदेखि पदोन्नति भएको छैन, कतिपय कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेश भ्रमणको अवसर पाए पनि कतिपयले अझैसम्म विदेशको मुख देख्न पाएका छैनन् । त्यहाँ पनि आफन्तवाद, दलवाद पर्याप्त देखिन्छ । राजनीतिक हस्तक्षेप अन्यत्र जस्तै यहाँ पनि अनेक नाममा छ ।

निर्दलीय पञ्चायतकालमा त पञ्चायत जोगाइदिन खेलाडीहरूको दुरुपयोग अत्यन्त थियो । दरबारियाहरूको विर्ता जस्तो थियो खेल मैदान । दुर्भाग्य भन्नुपर्ने हुन्छ परिवर्तित राजनीतिक प्रणालीले पनि यस अवस्थामा कुनै प्रवृत्तिगत परिवर्तन गराउन सकेन । खेल क्षेत्रले भोग्नुपर्ने राजनीतिक दलीय दबाबबाट अझै मुक्त हुने अवस्था छैन । यो दुर्भाग्यपूर्ण यथार्थतालाई सरकारले नीतिग तहमा नै अन्त्य गर्नु आवश्यक छ । साहित्य, कला, संस्कृति, सम्पदा जस्तै गरी खेलाडी भनेका राष्ट्रका स्पन्दन हुन् । स्पन्दनहरूको प्रतिभा विस्तार गर्ने खेल क्षेत्रलाई विस्तारित हुन स्वतन्त्रता जति आवश्यक छ, सरकारको नीतिगत उदारता, आर्थिक सहयोग र समर्थन त्यतिकै आवश्यक हुन्छ । फेरि एकपटक टिम क्रिकेटलाई बधाई र भविष्यमा सफलता मिलोस् शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?