गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

पक्षमा ३५, विपक्षमा २२ र राप्रपा तटस्थ

हिमालय टाइम्स
Read Time = 5 mins

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले ३५ सांसदको विश्वासको मत प्राप्त गर्नुभएको हो । उहाँलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नुभएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मत दिनुभएको थियो । उहाँको विपक्षमा एमालेका २२ सांसदको मत परेको थियो भने । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसद भने तटस्थ बसेका थिए । मतदान प्रक्रिया सुरु हुँदा प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए ।

मुख्यमन्त्री पाण्डे ३५ सांसदको समर्थनमा वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । संविधानको यो उपधाराअनुसार नियुक्त हुने मुख्यमन्त्रीले १६८ (४) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्री पाण्डेले बिहीबार वक्तव्यसहित मत माग्नुभएको थियो । गत पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका एमालेका खगराज अधिकारीको सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस-माओवादीको बहुमतको सरकारको सुरेन्द्रराज मुख्यमन्त्री बन्नुभएको हो ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए । कुनै दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसद्बाट वैशाख ९ गते विश्वास गुमाउनुभएको थियो ।

विश्वासको मतपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी
विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्री पाण्डेको योजना छ । यही वैशाख १५ गते मुख्यमन्त्रीको शपथ लिँदा पाण्डेसँगै दुईजना बिनाविभागीय मन्त्रीले पनि शपथ लिएका थिए । पाण्डेले शपथ लिएकै दिन नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई बिनाविभागीय मन्त्री नियुक्त गरेर तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

कांग्रेसभित्रैबाट मन्त्रीका आकांक्षी धेरै हुँदा पाण्डेले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाउनुभएको हो । खगराज अधिकारीले मन्त्रालयको संख्या १२ बाट सातमा झार्नुभएपछि पाण्डेले पनि सोही संख्या कायम गर्ने घोषणा गरिसक्नु भएको छ ।
अब कांग्रेसबाट तीन र माओवादीबाट एक मन्त्री बन्ने कांग्रेस सांसदहरूको दाबी छ । तर, माओवादीले तीनवटा मन्त्रालय पाउनुपर्ने दाबी गरे पनि अघिल्लो सरकारमै दुई मन्त्रालय पाएकाले सोही संख्यामा सीमित हुने कांग्रेसको अडान छ । एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे)ले पनि मन्त्री पाउनुपर्ने दाबी गरिरहनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?