न्युजिल्याण्डमाथि पाकिस्तानको सानदार जित

Read Time = 3 mins

कराँची । पाकिस्तानले चौथो खेलमा न्युजिल्याण्डमाथि सानदार जित हात पारेको छ । जितसँगै पाकिस्तान ओडिआई विश्व वरीयतामा शीर्षस्थानमा उक्लिएको छ । लगातार चार जितका साथ पाकिस्तानले भारत र अष्ट्रेलियालाई पछि पार्दै ओडिआई वरीयतामा शीर्षस्थानमा उक्लिएको हो ।

जितका लागि ३३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३.४ ओभरमा २३२ रनमा अल आउट भयो । न्युजिल्याण्डका कप्तान टम लाथमले ७६ बलमा ५ चौकासहित सर्वाधिक ६० रन बनाउनुभयो । मार्क च्यापम्यान ३३ बलमा ४ चौका र ३ छक्कासहित ४६, ओपनर विल योंग १५, टम ब्लण्डेल २३, डर्याल मिचेल ३४ र जेम्स निसम ११ रनमा आउट हुनुभयो ।

पाकिस्तानका स्पिनर उस्मा मिरले १० ओभरमा ४३ रन खर्चेर सर्वाधिक ४ विकेट लिनुभयो । मोहम्मद वासिम जुनियरले ८.४ ओभरमा १ मेडनसहित ४० रन खर्चेर ३ विकेट लिनुभयो । हरिस रौफले दुई र शाहिन शाह अफ्रिदीले एक विकेट लिनुभयो । त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३३४ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजमले ११७ बलमा १० चौकासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेल्नुभयो ।

अघा सलमान ४६ बलमा ४ चौका र २ छक्कासहित ५८, ओपनर शन मसुद ४४, फखार जमान १४, मोहम्मद रिजवान २४ र इफ्तिखर अहमद २८ रनमा आउट हुनुभयो । शाहिन शाह अफ्रिदी ७ बलमा १ चौका र ३ छक्कासहित २३ तथा मोहम्मद हरिस ८ बलमा १ चौका र १ छक्कासहित १७ रनमा नटआउट रहनुभयो ।

न्युजिल्याण्डका म्याट हेनरीले १० ओभरमा १ मेडनसहित ६५ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । पाँच खेलको ओडिआई खेलको सिरिजमा पाकिस्तानले ४-० को अग्रता लिएको छ । अन्तिम खेल आइतबार हुनेछ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?