नक्कली भुटानी शरणार्थी प्रकरण :

राजनीतिक संरक्षणको प्रयास जारी, सरकारमाथि एमालेको निरन्तर दबाब

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान बनेको संगठित गिरोहमा संलग्नहरू हाई प्रोफाइलका व्यक्तिहरू एकपछि अर्को गरी धमाधम पक्राउ पर्न थालेका छन् । यस प्रकरणमा बहालवाला सचिवदेखि पूर्वमन्त्रीका सल्लाहकारसहित नौजना पक्राउ परिसकेका छन् भने केहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यो घटनामा राजनीतिक नेतृत्व तहका व्यक्तिसमेत मुछिएपछि मुलुकको राजनीति तरंगित बनेको छ । यो प्रकरणमा मुछिएका व्यक्तिहरूलाई संरक्षण गर्न उच्च राजनीतिक नेतृत्व तीव्र प्रयासमा छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका शीर्ष नेताहरू नै मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमाथि तीव्र दबाब बढाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार भेटेर अनुसन्धानबारे पुनः चासो व्यक्त गर्नुभएको छ । पछिल्ला तीन दिनमा अध्यक्ष ओली सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेको शनिबार दोस्रोपटक हो ।

यस प्रकरणमा पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने पार्टी उपाध्यक्ष रामबहादुर थापाको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ । यसअघि पक्राउ परेका ललितपुरका सानु भण्डारीको डायरीमा अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीले ६० लाख रुपैयाँ लिएको खुलेको छ । शनिबारको भेटमा अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे आफ्नो चासो राख्नुभएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभएको छ ।

कसैको दबाबमा पर्दिनँ : प्रधानमन्त्री
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैको दबाबमा नपरी दोषीमाथि कारबाही हुने प्रतिक्रिया दिनुभएको छ । शनिबारको भेटमा पनि अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी सम्बन्धमा अनुसन्धानबारे चासो राखेको जानकारी दिँदै भन्नुभयो, ‘ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो । प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा त भएन । तर, हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ । निर्दोष कोही नपरून्, दोषी कोही नछुटून् भन्ने हाम्रो मान्यता छ ।’

म अभियुक्त बचाउन लागेको भन्ने हल्ला हो : ओली
एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको दाबी गर्नुभएको छ । शनिबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग एक घण्टाभन्दा लामो समयसम्म छलफल गर्नुभएका अध्यक्ष ओलीले अभियुक्त बचाउन लागेको भनेर आफूविरुद्ध हल्ला फैलाइएको दाबी गर्दै भन्नुभयो, ‘तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा ? केही यस्ता खालका मान्छेहरू छन्, त्यस्ताहरूले हल्ला फैलाएका हुन् ।’ ओलीले प्रधानमन्त्री दाहालसँग थप के विषयमा छलफल भयो भन्ने विषयबारे भने प्रतिक्रिया दिनुभएन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहनुभएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी कहाँ छन् ? भन्ने प्रश्नको जवाफमा अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईंहरूले खोज्नु न । तपाईंहरू नै बताइदिनुस् । टोपबहादुर मेरो सम्पर्कमा हुनुहुन्न ।’

यसअघि बिहीबार रायमाझी भागेर कतै गइहाल्ने मान्छे नभएको बताउनुभएका ओलीले शनिबार भने रायमाझी सम्पर्कमा नभएको स्वीकार गर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले तीन दिनभित्र दोस्रोपटक प्रधानमन्त्री दाहाललाई भेट्नुभएको हो । बिहीबार प्रधानमन्त्रीलाई भेटेपछि ओलीले रायमाझीका सम्बन्धमा भन्नुभएको थियो, ‘एउटा बहालवाला सांसद, पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हतकडी लगाउनु पर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ ।’ त्यतिबेला गृहजिल्ला अर्घाखाँचीमा कार्यक्रम सकेर काठमाडौंका लागि आउनुभएका रायमाझी फरार हुनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सरकारका सचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीप रायमाझीलगायत पक्राउ परिसकेका छन् ।

टोपबहादुरजी फरार भए पनि निकाल्छौँ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका जो कोहीमाथि पनि छानविन हुने र कारबाहीको दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाउनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू धमाधम पक्राउ पर्न थालेपछि कतिपय राजनीतिक नेतृत्व संरक्षणको प्रयासमा लागेको सन्र्दभमा गृहमन्त्री श्रेष्ठले भने यो प्रकरणमा जोडिएका जो कोहीलाई पनि कारबाहीको दायरमा ल्याइछाड्ने प्रतिबद्धता जनाउनुभएको हो । पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार भएको सन्दर्भमा गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘फरार भएपछि त त्यसले हामीलाई मद्दतै गर्छ नि । एक/दुई दिन फरार भए पनि हामीले निकाल्न त निकाल्छौँ नै । इण्डिया गएकै भए पनि कति बसिरहने र ? निगरानी त हामीले गरिरहेकै छौँ ।’

नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ : महरा
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्ने बताउनुभएको छ । नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याज पीडितलाई न्याय दिने कुरामा सरकार अडिग रहेको दाबी गर्दै माओवादी केन्द्रका प्रवक्तासमेत रहनुभएका उपाध्यक्ष महराले भन्नुभयो, ‘नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराध कार्यमा संलग्न कसैलाई पनि सरकारले छोड्नु हुँदैन । यो गम्भीर अपराध हो, गठबन्धनभित्र र बाहिर जोसुकैलाई पनि कारबाही हुन्छ ।’

अभियुक्त नेताहरू आफैँ छानविनमा जाऊ : नेता भट्टराई
नेकपा एमालेका पोलिट्ब्युरो सदस्य खिमलाल भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबै नेताहरू स्वयं उपस्थिति भएर छानविनमा सहयोगी बन्नुपर्ने बताउनुभएको छ । नेता भट्टराईले यसलाई असाधारण, जघन्य र अक्षम्य अपराध भएको बताउँदै अपराधी कुनै राजनीतिक दलको पर्खालभित्र सुरक्षित हुन नहुने र यसको तथ्यमा गएर अपराधी पत्ता लगाउनुपर्ने बताउनुभएको हो । नेता भट्टराईले भन्नुभयो, ‘नक्कली शरणार्थी अपराधः अथोरिटी अपराधी बन्दा राज्यको प्रभाव र विश्वसनीयता समाप्त हुन्छ । यो राष्ट्रियताको प्रश्न पनि हो । विश्व समुदायले हाम्रो देश र सत्तालाई कसरी हेर्ने भन्ने प्रश्न जन्मिन्छ । कसैलाई डाम्ने कसैलाई जोगाउने गरिनुहुँदै, नाम जोडिएका नेताहरू स्वयं उपस्थित भएर छानविनमा सहयोगी बन्नु वाञ्छित छ ।’ नेकपा एमालेका अर्का नेता शेरबहादुर तामाङले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ भनेर सरकारलाई प्रश्न गर्नुभएको छ । उहाँले रायमाझीलाई कतै गैरन्यायिक हिरासतमा राखिएको हो कि भन्ने आशंकासमेत व्यक्त गर्नुभएको छ ।

पूर्वगृहमन्त्री खाँणको स्पष्टीकरण : ‘भुटानी शरणार्थी प्रकरणमा संलग्नता छैन’
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा आफ्नो संलग्नता नभएको जिकिर गर्नुभएको छ । शनिबार विज्ञप्ति जारी गर्दै खाँणले आफ्नो यस ठगी प्रकरणमा संलग्नता नभएको जिकिर गर्दै भन्नुभएको छ, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरीदिनु हुन अनुरोध छ ।’

भ्रष्टाचारीलाई कारबाही गर्न माग
भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । शनिबार अपराहृन काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी लगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग सरकारलाई दबाब दिँदै प्रदर्शन गरेका थिए । उनीहरूले भ्रष्टाचारमा संलग्नलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरू मुछिएपछि उनीहरूलाई कारबाही गर्न सरकारमाथि दबाब परेको छ । सरकारले पनि त्यस प्रकरणमा मुछिएकाहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । दोषीलाई उन्मुक्ति नदिन सरकारलाई प्रदर्शनकारीहरूले सचेत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?