‘टीका चाम्लिङ एकल सांगीतिक साँझ’ हुँदै

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । गीतकार, कवि तथा संस्कृतिकर्मी टीका चाम्लिङ एकल सांगीतिक साँझ आयोजना हुने भएको छ । गीतिसाहित्यका क्षेत्रमा समर्पित भएको झण्डै साढे तीन दशकपछि पहिलो पटक किरात राई चाम्लिङ राखमिहँछा उत्थान समाज, केन्द्रीय कार्यसमिति, नुनथला, खोटाङ र काठमाडौं उपत्यका उपसमितिको आयोजनामा काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा असोज १९ गते शुक्रबार दिउँसो गीतकार चाम्लिङको कविता तथा गीत वाचनका साथ एकल सांगीतिक साँझ ‘सैँ हँमा स्वर्णिम साँझ’ आयोजना हुने भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहनुभएका चाम्लिङको यो पहिलो एकल सांगीतिक साँझ हो ।

प्राज्ञ चाम्लिङका अनुसार नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्य तथा वरिष्ठ संगीतकार प्राज्ञ अशोक लोहोरुङ राईको संयोजनमा प्रस्तुत हुने सांगीतिक साँझमा गायक÷गायिकाहरू राजेशपायल राई, सत्यकला राई, राई नीवन, सीडी विजय अधिकारी, मेलिना राई, अशोक मुकारुङ, रूपकुमार राई, सञ्जय तुम्रोक, सबु राई, सरिता राई आङबुहाङ, मनिशा अधिकारी राई, खुशी थुलुङ, शशिका राई सुनुवार, विनुसा राई, पूर्णिमा ठटाल, सविता चोङबाङले गीतकार चाम्लिङका चर्चित गीतहरू गाउनुहुनेछ ।

कार्यक्रमको आरम्भमा स्वागत गायन प्रस्तुत हुनेछ । कला राई, विक्रम राई, मीना राई, प्रेमकला राई, केबि राई, सचिन राई, सागरसंसार राई, दीपक बान्तावा, रश्मि राई, मनिता चाम्लिङ राई, निनामहाङ राई, हेमन चाम्लिङ राई र मनमा बिराईले स्वागत गान गाउनुहुने जनाईको छ ।
कार्यक्रमको अर्को चरणमा नृत्य प्रस्तुति रहेको छ । नृत्य निर्देशक कमल राई र सुमित गुरुङको निर्देशनमा उपासना नेम्बाङ, चरना सिवाकोटी, विमला लिम्बू र स्वर्णिमा राईले गीतकार चाम्लिङकै गीतमा नृत्य प्रस्तुत गर्ने आयोजक संस्थाले जनाएको छ ।

विसंं २०३० माघ ४ गतेका दिन खोटाङको साबिक नुनथला गाविस-५, हालः दिक्तेल-रूपाकोट-मझुवागढी नगरपालिका वडा–१३, खाम्लामा आमा दिलकुमारी राई र आपा रोजबहादुर राईका ज्येष्ठ छोराका रूपमा जन्मिनुभएका राई पूर्णकालीन कवि, गीतकार र संस्कृतिकर्मी हुनुहुन्छ ।

विशेष गरी गीत, कविता र यात्रासंस्मरण विधामा कलम चलाउने उहाँका सधैंभरि (गीतिअडियो-२०५८), राखौं सम्झना (लोकजुहारी शब्द संकलन-२०५९), सोमबारे हाटैमा (लोक जुहारी शब्द संकलन-२०५९) गीतिएल्बमका साथै सपनाको रङ (गीतिकाव्य कृति-२०६०), समयको रङ (गीतिकाव्य– २०६४), जूनको बस्ती (गीतिकाव्य-२०६८) र मुन्दुम र मालिंगो (गीतिकाव्य कृति-२०७१) प्रकाशित छन् । बागी कविता (कविताकाव्य कृति-२०८०) उहाँको कविता विधातर्फको पहिलो कृति हो ।

यसका अतिरिक्त उहाँका दुई सय जति गीत विभिन्न चर्चित गायक/गायिकाका स्वरमा स्वरांकन भएका छन् र छायांकनसमेत गरिएका छन् । शुक्रबार आयोजना हुने कार्यक्रममा अवसरमा प्राज्ञ चाम्लिङको काव्यकृति ‘बागी कविता’को समेत विमोचन गरिने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?