संघ र प्रदेशका मन्त्रालय संख्या घटाऔँः सांसद गुरुङ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बजेट पूर्वको छलफलमा भाग लिदैँ सांसद गुरुङले संघमा मन्त्रालयको संख्या घटाएर १२ देखि १५ वटा मन्त्रालय बनाउनुपर्ने बताउनुभएको हो । त्यसैगरी प्रदेशमा मन्त्रालयको संख्या ७ वटा कायम गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले मन्त्रालय धेरै हुँदा फजुल खर्च भएको भन्दै खर्च कटौतिका लागि मन्त्रालय संख्या घटाउन आवश्यक रहेको बताउनु भयो । त्यस्तै संघीय सरकार अन्तर्गतको विभागहरु घटाएर १५ विभाग कायम गर्नुपर्ने र जिल्ला समन्वय समिति पनि खारेज गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘संघमा २५ वटा मन्त्रालय बनाउँदै छौँ । संघीय शासनमा मुलुक गइसकेपछाडी प्रशासन सुधार, सुझाव आयोगले दिएको प्रतिवेदनको आधारमा के भन्छ भनेदेखि १२ देखि १५ वटा मन्त्रालय संघमा चाहिन्छ । प्रदेशमा ७ वटा मन्त्रालय चाहिन्छ । अहिले हामी प्रदेशमा १२÷१३ वटा मन्त्रालय चलाउँदै छौँ । ७ मा झारौँ । त्यो एउटा प्राथमिकता राखौँ । दोस्रो कुरा संघको मन्त्रालय १२ देखि १५ राखौँ । त्यसले पनि धेरै फजुल खर्च अन्त्य हुन्छ । तेस्रो कुरा संघ सरकार अन्र्तगत जति विभागहरु छन् । ति विभागहरुलाई घटाएर हामी १५ वटा विभागमा झारौँ । यति भयो भने धेरै फजुल खर्च घट्छ । संविधान संशोधन गरेर भएपनि यो अनावश्यक बोझ ७७ जिल्लामा बसेको जिल्ला समन्वय समिति भंग गरेर, यसलाई खारेज गरेर १५ सय कर्मचारीको फजुल खर्च हट्छ । १५ सय कार्यालयहरु हट्छ । १५४ वटा गाडीहरुको फजुल खर्च घट्छ । तेल खर्च, कार्यालय खर्च घट्छ । यसो गरेर फजुल खर्चबाट मुक्त गरेर अगाडी बढायो भने जनतालाई एउटा विश्वास हुन्छ ।’

उहाँले पुँजीगत खर्च अभिवृद्धि गर्ने उपायहरुको सम्बन्धमा सरकारले सोच्नुपर्ने बताउनु भयो । उहाँले पूर्वाधारहरुको सम्बन्धमा नयाँ योजना आवश्यक नभएको भन्दै निर्माणाधिन अवस्थामा रहेका ठुला आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?