नक्कली भूटानी शरणार्थी प्रकरण : अनुसन्धानलाई बाधा नपुर्‍याउने शीर्ष नेता बीच सहमति

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपु-याउने तीन दलका शिर्ष नेताहरुका बीचमा सहमति भएको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपु-याउने आफूहरुका बीचमा सहमति भएको बताउनुभएको हो । उहाँले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्नेगरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धती अनुसार काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीहरुको भेट बढी चाहीँ सदनलाई कसरी सुचारु रुपले लैजाने, त्यहाँ समितिहरु बनाउने, संयुक्त समितिहरु बनाउने विषयमा नै छलफल हामीले गरेको हो । तपाईहरुलाई लागेको छ त्यही एउटै केसमा होला भनेर त्यो चाहीँ होइन । आशंका गर्नुपर्ने केही कारण छैन । हामीले बिल्कुल क्लियर भाषामा भनेका छौँ । दोषि कोही नछुटोस् । निर्दोष कोही नपरोस् । प्रहरीले आफ्नो काम ठिक ढंगले गरोस् भनेर हामीले स्ट्यान्डिङ अर्डर दिएकै छौँ प्रहरीलाई । प्रहरीले आफ्नो काम गरेको छ । त्यसकारण यसमा दुविधा हुनुपर्ने, आशंका गर्नुपर्ने केही कारण छैन । जे भएको छ विधि, विधान अनुसार, नियम, पद्धती अनुसार प्रहरीले आफ्नो काम गरेको छ । हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौँ । यो विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडी बढाएको छ, उसलाई कुनै डिस्टर्ब गर्नु हुँदैन भन्ने हाम्रो सबैको सहमति छ ।’

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषि देखिएकाहरुलाई प्रहरीले नछाड्ने बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अनुसन्धानले माग गर्ने हदसम्म, अनुसन्धानले आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरु थप अनुसन्धानको निम्ति तानिनुभएको छ । यसलाई निष्कर्षमा पु¥याउन हामी दृढ छौँ । केपी ओली र म बीच के सहमती भयो भने (केही दिन अघिको बालकोटमा भएको भेटमा) यो सामान्य भ्रष्टाचारको केश मात्रै होइन । यो राष्टको अपमान गर्ने, राष्टको स्वाभिमान गिराउने, राष्ट्रघाती कुकर्म पनि हो । त्यसकारणले यसका बिरुद्ध अनुसन्धानको प्रक्रिया अगाडी बढाउनुपर्छ । र दोषि जोसुकै भएपनि कारबाही गर्नुपर्छ भन्नेमा सहमती भयो र मैले त्यसमा सहयोगको माग गरेँ । आड, भरोसाको माग गरेँ । उहाँले म सहयोग गर्छु पुरै । निर्दोष नफस्नेगरी र दोषिलाई नछोड्नेगरी अगाडी बढ्नुस् भन्नुभयो । जुन मैले निर्देशन प्रहरीलाई दिएको छु । त्यसको आधारमा प्रहरी निर्भिकतापूर्वक, निष्पक्ष ढंगले अनुसन्धानको प्रक्रिया अगाडी बढाउन र त्यसलाई निष्कर्षमा पु¥याउन लागिपरेको छ । जो अनुसन्धानले देखाउँ छ, उनीहरुलाई प्रहरी प्रशासनले छोड्दैन ।’

उहाँले प्रहरीले निर्भिकतापूर्वक र निष्पक्ष ढंगले अनुसन्धानको प्रक्रिया अगाडी बढाइरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?