नक्कली शरणार्थी प्रकरणमा समातिँदै ‘ठूला माछा’

पूर्वगृहमन्त्री खाँण पक्राउ, एमाले सचिव रायमाझी निलम्बित

डिबी शर्मा
नारायण भण्डारी
Read Time = 20 mins

काठमाडौं । नक्कली भुटानी शरणार्र्र्र्थी प्रकरणमा जोडिएका ‘हाई प्रोफाइल’ व्यक्तिहरू पक्राउ पर्न थालेका छन् । प्रकरणमा जोडिएका उच्च पदस्त कर्मचारी र राजनीतिक दलका नेतालाई प्रहरीले पक्राउ गर्न थालेको हो । यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्र राई र सरकारका वर्तमान सचिव टेकनारायण पाण्डे लगायतलाई पक्राउ गरेको प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि नियन्त्रणमा लिएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत मानिएका खाँणलाई काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार बिहान चाबहिलको मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । खाँण मैजुबहालस्थित निवासमा रहेको जानकारी पाएपछि प्रहरीले बिहानैदेखि ‘रेकी’ गरेको थियो । परिसर प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार पक्राउ गर्न प्रहरी निवासमा पुग्दा खाँणले केहीबेर आनाकानी गर्नुभएको थियो । पक्राउ पुर्जीबिनै प्रहरी पक्राउ गर्न आएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको थियो । प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ देखाएर खाँणलाई नियन्त्रणमा लिएको एसएसपी कार्कीको भनाइ छ । खाँणले आनाकानी गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको हो । खाँणसँगै उहाँका निजी सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । उहाँलाई चाबहिलस्थित निवासबाट पक्राउ गरेर प्रहरी परिसर टेकु लगिएको थियो । उहाँलाई बुधबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । अदालतले खाँणलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

मञ्जु सम्पर्कविहीन, अडियो छानविनको माग गर्दैै आरजूको उजुरी
नक्कली शरणार्र्र्र्थी प्रकरणमा खाँणकी पत्नी मञ्जु खाँण र कांग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवापत्नी आरजू राणा पनि जोडिनुभएको छ । मञ्जु र राणा दुवै कांग्रेसका समानुपातिक सांसदसमेत हुनुहुन्छ । यसअघि पक्राउ परेकाहरूले खाँणकी पत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडियोसमेत बाहिरिएको थियो । यद्यपि, अडियोको आधिकारिकता पुष्टि भइसकेको छैन । अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । यता, आरजू देउवाले भने साइबर ब्युरोमा उजुरी दिनुभएको छ । शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणाले बुधबार साइबर ब्युरोमा उजुरी दिनुभएको हो । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको अडिओ झुटो भएको दाबी उहाँको छ । ‘विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ उहाँले दिएको उजुरीमा उल्लेख छ । यस्तै, खाँण पक्राउ परेपछि पत्नी मञ्जु भने मोबाइल अफ गरेर सम्पर्कविहीन हुनुभएको छ ।

लेनदेनमा खाँणको ‘कनेक्सन’
प्रहरीले यसअघि सरकारका सचिव टेकनारायण पाण्डे, प्रकरणमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहमा संलग्न केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरिसकेको छ । प्रहरी हिरासतमा रहनुभएका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिनुभएको थियो । आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिनुभएको हो । खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय मुख्य भूमिका खेलेको प्रमाण भेटिएपछि उहाँलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार खाँण गृहमन्त्री हुँदा शरणार्थी प्रकरणमा बनाइएका नक्कली प्रतिवेदन र कागजात, उहाँ र निकटले पैसा लेनदेन गरेका प्रमाण र पछिल्लो बयानमा गृहसचिव पाण्डेले नै खाँणको संलग्नतामा आफूले काम गरेको स्वीकार गरेपछि प्रहरीले पक्राउ गरेको हो । प्रकरणमा मुछिएका एमाले सचिव रायमाझी भने फरार हुनुहुन्छ । गत बुधबार नै प्रहरीले पक्राउ पुर्जी जारी गरेदेखि उहाँ फरार हुनुभएको हो । यसबीचमा प्रहरीले उहाँको खोजी गरिरहेको छ । मंगलबार प्रहरीले रायमाझीको घरमा समेत खानतलासी गरेको थियो । यसअघि प्रहरी र गृह प्रशासनले यस्ता अपराधमा सानालाई मात्रै निसाना बनाउने गरेको र ठूलालाई उन्मुक्ति दिने गरेको आरोप लाग्ने गरेको थियो । शरणार्र्र्र्थी प्रकरणमा जोडिएका ठूला नेता र प्रशासकलाई पनि समातेपछि भने प्रहरी प्रशासनको प्रशंसा भइरहेको छ । आम मान्छेले भने ‘ठूला माछा’समेत समातिन थालेको भन्दै प्रहरी र गृह प्रशासनको प्रशंसा गरेका छन् । अब यसमा जोडिएका एमाले नेता रायमाझीसहित मुछिएका सबै साना–ठूला व्यक्तिलाई समात्नुपर्ने जनदबाब छ ।

अनुसन्धानलाई बाधा नपु¥याउने शीर्ष नेताबीच छलफल भयो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताउनुभएको छ । सिंहदरबारमा बुधबार शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको बताउनुभएको हो । ‘मिडियामा जसरी तपाईंहरूले प्रचार गर्नुभएको छ, तीनजना नेताको भेट त्यस्तो होइन, हामीहरूको भेट बढी सदनलाई कसरी सञ्चालन गर्ने, समिति बनाउने विषयमा छलफल भएको हो,’ उनले भने । प्रधानमन्त्री दाहालले अगाडि भन्नुभयोे, ‘नक्कली भुटानी शरणार्थी ठगीका विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, त्यसलाई कुनै अवरोध गर्न हुँदैन भन्नेमा शीर्ष नेताको सहमति रहेको छ ।’ प्रहरीले आफ्नो काम गरिरहेकाले यसमा कुनै शंका गर्नुपर्ने स्थिति नभएको उहाँको भनाइ छ । ‘आशंका गरिरहनु जरुरी छैन, हामीले प्रस्ट भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढंगले गरोस् भनेर हामीले आदेश दिएका छौँ । प्रहरीले आफ्नो काम गरेको छ । यसकारण यो विषयमा द्विविधा हुनुपर्ने, आशंका गर्नुपर्ने कारण छैन,’ प्रधानमन्त्री दाहालले भन्नुभयो । सो सम्बन्धमा विधिविधान, नियम र पद्धतिअनुसार अनुसन्धान भएको जनाउँदै उहाँले प्रहरीले आफ्नो काम गरेको बताउनुभयो ।

रायमाझीबाट विश्वासघात भयो : एमाले
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई सचिव पदबाट पार्टीले निलम्बन गरेको छ । बुधबार एमालेले एक विज्ञप्ति जारी गर्दै पूर्व–उपप्रधानमन्त्री रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ । मंगलबार भएको सचिवालय बैठकले रायमाझीलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो । गत बिहीबार गृहजिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी हुनुभएका रायमाझी त्यसपछि बेपत्ता हुनुभएको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर एमाले पार्टीले केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यससम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको महासचिव शंखर पोखरेलद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । ‘राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ । सोही मान्यताअनुरूप पक्राउ पुर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनुभएको थियो । तर, पार्टी नेतृत्वलाई दिएको विश्वासविपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिँजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानले रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने योजनाका मुख्य योजनाकारमध्ये एक भएको निष्कर्ष निकालेको छ । हिरासतमा रहेका गिरोहका सदस्यहरूले यो धन्दामा रायमाझीको संलग्नता रहेको बयान दिएका छन्  ।

खाँणलाई निलम्बन गर्ने विषयमा कांग्रेसले गरेन निर्णय
नेपाली कांग्रेस पदाधिकारी बैठकले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको विषयमा कुनै निर्णय लिएन । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बुधबारको वैठक भ्रातृ संगठन र विभाग गठनको विषयमा केन्द्रित रहेको बताउनुभयो । बैठकपछि डा. महतले अहिले अनुसन्धानकै क्रममा भएकाले कांग्रेसले हतार नगर्ने बताउनुभयो । ‘टोपबहादुर रायमाझी त पूर्जी काटिएपछि फरार हुनुभयो । बालकृष्णजी त्यसरी भाग्नुभएको छैन । आफंैंले अनुसन्धानमा सहयोग गर्नुभएको छ । अनुसन्धान परिपक्व होस, अनि पार्टीले निर्णय गर्छ’, उहाँले भन्नुभयो । सभापति शेरबहादुर देउवाले बुधबार साँझ आकस्मिक पदाधिकारी बैठक बोलाउनु भएको थियो । बैठक फेरि आज (बिहीबार) पनि बस्दैछ ।

निर्दोष डराउनुपर्दैन, भ्रष्टचारीलाई जहाँ गए पनि छोड्दैनौँ : गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गर्नुभएको हो । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने उहाँको भनाइ छ । खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । साथै निर्दोष मानिस डराउनुपर्ने आवश्यक्ता नरहेको पनि उहाँको भनाइ छ । ‘हाम्रो देशमा अरू थुप्रै समस्याहरू छन् । कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । र सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पार्नुपर्छ । खाडी मुलुकमा भएको ३० लाख नेपाली जनता जो आमाबुबाको काख, बालबच्चाको साथ छोडेर बालबालिकाको जीवन रक्षाका लागि श्रम गरिरहेका छन्, उनीहरूलाई यही भूमिमा काम गर्नका लागि भ्रष्टाचारीमाथि कारबाही गर्नैपर्छ । भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मूल रूपमा उठाएका छौँ । कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गए पनि छोड्दैनौँ, यो हाम्रो प्रतिबद्धता हो,’ उहाँले भन्नुभयोे । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मूल मुद्दा बनाएको पनि बताउनुभयो ।

दोषी सबैलाई कारबाही माग गर्दै नागरिक आन्दोलन
नागरिक अगुवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा दबाब आन्दोलन सुरु गरेका छन् । बुधबार अपराह्न काठमाडौंको भद्रकालीमा भेला भएका उनीहरूले ठूला दलका नेताहरूले मिलेर सो प्रकरणमा संलग्नहरूलाई पनि उन्मुक्ति दिन सक्ने भन्दै त्यसो नगर्न खबरदारी गरेका हुन् । सो प्रकरणलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै धोका दिन सक्ने भएकाले आफूहरूले पनि दबाब आन्दोलन सुरु गर्नुपरेको अभियन्ता डा. गोविन्द केसीले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘यसमा पनि षड्यन्त्र हुनसक्छ । अहिले फेरि पनि धोका दिन सक्छन् प्रचण्डले पनि ।’

अर्का नागरिक अभियन्ता सञ्जीव उप्रेतीले सो प्रकरणलाई ढाकछोप हुन नदिन आफूहरूले दबाब आन्दोलन सुरु गर्नुपरेको बताउनुभयो । उहाँले देशलाई बदनाम हुन नदिन आफूहरू पनि लागिपर्ने चेतावनीसमेत दिनुभयो । अभियन्ता उपे्रतीले भन्नुभयोे, ‘सो प्रकरणको छानविनलाई रोक्ने, विषयान्तर गर्ने षड्यन्त्र हुन सक्छन् । त्यसलाई रोक्न हामीले आन्दोलन सुरु गरेका हौँ ।’ नागरिक अभियन्ताहरूले भ्रष्टाचार र अपराधका नायक ठूला दलका नेताहरू नै भएको आरोप लगाउँदै उनीहरूलाई कारबाहीको दायरामा ल्याउन ढिलाइ गर्न नहुने पनि बताउनुभयो । त्यसक्रममा उनीहरूले सो प्रकरणको विरोधमा लेखिएका प्लेकार्डहरू प्रर्दशन गरेका थिए ।

कांग्रेस युवा नेताले दिए गृहमन्त्रीलाई साथ- कसैको दबाबमा नपरी काम गर्नुस्
नेपाली कांग्रेसका युवा नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको अनुसन्धान अघि बढेकोमा उनीहरूले गृहमन्त्रीका कदम र प्रहरी प्रशासनका कामप्रति ऐक्यबद्धतासमेत जनाए । केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण लगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेर कसैको दबाबमा नपरी अनुसन्धानलाई सरकारले अघि बढाउनुपर्ने आग्रह गर्नुभएको हो । ‘कसैको दबाबमा नपरी शरणार्थी प्रकरणमा दोषीमाथि कारबाही गरिनुपर्दछ भनेर हामीले गृहमन्त्रीलाई भनेका छौँ,’ नेता रञ्जित कर्णले भन्नुभयो । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अघि बढ्ने विश्वास दिलाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?