जरोसम्म अनुसन्धान पुग्नु आवश्यक

हिमालय टाइम्स
Read Time = 10 mins

लहरो तान्दा पहरो गर्जिन लागेको छ । भुटानी शरणार्थी समस्यालाई सुनको फुल पार्ने कुखुरो जस्तो बनाउने खेलको पर्दाफास भएपछि यो खेलको जरोसम्म अनुसन्धान हुनुपर्छ भनी आग्रह गर्नु अन्यथा हुँदैन । खेलको सन्दर्भ भुटानी शरणार्थीसम्म सीमित छ भन्ने होइन । गैरकानुनी रूपमा मानव तस्करीको सिण्डिकेट नेपालमा सञ्चालित छ र यो सामान्य मानिसहरूको पहुँचभन्दा निकै टाढा रहेको छ भन्ने यथार्थताकासाथ अनुसन्धान हुनु अनिवार्य छ । निर्दलीय पञ्चायतकालमा लागू औषधिको व्यापार र प्राचीन मूर्ति चोरीका घटनाले जति कुख्याती कमाएका थिए त्यो भन्दा बढी कुख्याती चेलिबेटी बेचविखनका निकृष्ट घटनाहरूले कमाएका थिए । यस्ता अनेक अपराधपूर्ण काण्डहरूको उत्कर्षमा नागरिकमा विद्रोही चेत भरिएर अन्ततः समय आउनासाथ संयुक्त जनआन्दोलनका रूपमा त्यो विष्फोटित भएको इतिहास प्रमाणित छ । अहिले मानव तस्करी र भ्रष्टाचारको जालोले देश चुर्लुम्म छोपिएको छ । भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचारले बुनेको जालोमा सानो प्वाल पारेको छ । यो प्वाल कुन रूपमा कसरी वृद्धि हुने हो वा पुनः टालिने हो भन्न सकिँदैन ।

नेपाली जनताले स्वतन्त्रता र अधिकारका पक्षमा, समानता र सद्भावनाका पक्षमा, राष्ट्रियता र पुनर्जागरणका पक्षमा राजनीतिक परिवर्तनलाई सदा साथ दिएका हुन् । जनताले आँखा चिम्लेर नेताहरूका भनाइमा विश्वास गरेका हुन् । जसले परिवर्तन र क्रान्तिको नेतृत्व गर्‍यो त्यही दल र नेतृत्वलाई अगाध विश्वास र सम्मान प्रदानगरेका हुन् । तर परिवर्तनपछिको नेतृत्व जनताको विश्वास जित्नेमा भन्दा बढी जनविश्वासमाथि घात गर्ने हुन पुग्यो । केही अपवादलाई छाडेर इतिहासका हरेक घटनामा यो प्रत्यक्ष देख्न सकिन्छ । नेपालमा परिवर्तनपछि सत्तामा पुग्नु भएका बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र सुशील कोइरालाबाहेक अधिकांश नेतृत्व जनताको भावनानुरूप काम गर्न र निष्ठापूर्वक परिवर्तनलाई संस्थागत गराउन कोही पनि लागेको देखिएको छैन । आजको भुटानी शरणार्थी काण्ड त्यसै दुष्कृतिमा लागेको फलमात्रै हो । यो फलको मुना त्यसै लागेको छैन । नेताहरूमा पलाएको शासकीय महत्वाकांक्षा र अहंकार, आफूलाई देवत्वकरण गरी जताबाट आए पनि प्रसाद ग्रहण गर्ने चरित्र, आफन्त र आफ्ना चाकरीदारहरूको भरणपोषण गर्ने चाहना र भावी सन्ततिका लागि अकूत श्रीसम्पतिको व्यवस्था गर्ने लोभ ।

यही लोभले विगत तीनदशकको नेपाली राजनीति निकै दुर्गन्धपूर्ण भएको छ । पञ्चायतकालको दुर्गन्ध देखाएर वर्तमानको दुर्गन्धलाई सही प्रमाणित गर्न जसरी सकिँदैन त्यसरी नै ०६३ को परिवर्तनभन्दा पहिलेका दुर्गन्धको उदाहरण राखेर विगत डेढदशक यताका अपकर्महरूलाई सिद्ध गर्न संभव हुँदैन । किन भने ०६३ को जनआन्दोलन पूर्वका विकृतिको अन्त्य गर्न, त्यस्ता कुनै पनि विकृति नदोहोर्‍याउन्, जनताको सेवा गर्न, सुविधा प्रदान गर्न र देशको विकास गर्न नै अहिले संघीय लोकतान्त्रिक प्रणाली स्थापना भएको हो । यो प्रणालीलाई कुनै पनि हालतमा यसतो जनइच्छाविपरीत जाने छुट छैन । प्रसिद्ध राजनीतिशास्त्री रवर्ट ए डाहलका भनाइमा लोकतन्त्र मानिसहरूमा प्रिय हुनुका अनेक कारण छन् । ती कारणहरू रहेनन् भने लोकतन्त्रको औचित्य तत्कालमा स्थापित हुँदैन । अर्थात् लोकतन्त्र अलोकप्रिय हुने संभावना रहन्छ । लोकतान्त्रिक परिवर्तनले निरंकुश र दमनकारी शासनको अन्त्य, मानव अधिकारहरूको स्थपना, नागरिक स्वतन्त्रता, नैतिक स्वायत्तता, राजनीतिक समानता, आत्मनिर्णयको अधिकार, अति आवश्यक निजी हितको रक्षा, तथा शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्दछ । यदि यी स्थापित परिणामले दीर्घजीवन पाउनसकेनन् भने लोकतन्त्रको अवशान निकट मान्नुपर्ने हुन्छ ।
०६३ को ऐतिहासिक परिवर्तनले नेपाली जनतालाई सार्वभौम सत्तासम्पन्न स्वतन्त्र नागरिकमा परिणत गरेको थियो । तर अझै पनि नेपालीहरू स्वतन्त्र सार्वभौम भएको देखिँदैन । सामान्यतः कुनै निर्वाचनमा उम्मेदवार हुनु, मतदिनु वा जय वा पराजयका लागि निर्णायक हुनुमात्रै स्वतन्त्र सार्वभौम भएको प्रमाणित हुँदैन । अहिले त नेपाली नागरिकहरू आफ्नो मत र मनलाई समेत कहिले कुनै आकर्षक नारामा, कहिले भय र दबाबमा, कहिले सामान्य रूपैयाँ,पैसा र खानपिनमा बिक्री गरिरहेको देखिन्छ । आमनागरिकको प्रश्नमात्रै होइन यो राजनीतिक दलमा आबद्धहरू समेतले विवेकलाई बन्दक बनाइरहेको अवस्था छ । उनीहरू तथाकथित अनुशासनका नाममा मालिक प्रवृत्तिका ठालूहरूका सेवा गरिरहेका छन् । नयाँ पुराना उमेरका जो सुकै जुनसुकै पदमा पुगेका भए पनि पार्टीका सदस्यहरू तिनलाई ईश्वरका अवतार सिद्ध गर्न समग्र ऊर्जा खर्च गरिरहेका हुन्छन् । त्यसरी पदासीनहरू स्वयंभू, शिव आवतार आफूलाई घोषित गरिरहेका छन् । यो स्वयंबाट भएको स्वयंभू घोषणाले नै आर्थिक भ्रष्टाचार र व्यभिचारको जरोमा मलजल गरिरहेको छ ।

भुटानी शरणार्थी प्रकरणमा यतिखेर अनेक जिम्मेदार विशिष्टहरूको संलग्तामाथि अनुसन्धान सुरु भएको छ । अनुसन्धानका क्रममाा अनेक स्वयंभू शिवावतारहरू धमाधम गिरफ्तारीमा परेका छन् । पक्राउ पर्नु वा अभियोग लगाउनुले मात्रै कोही पनि दोषी वा दण्डनीय मानिँदैन । अभियोग कानुनतः प्रमाणित हुनुपर्दछ । अनुसन्धानलाई कानुनले प्रमाणित नगरेसम्म कोही पनि अपराधी हुँदैनन् । तर कानुनी भाषानुसार बोल्नै पर्ने जनताको भाषा हुँदैन । जनताका आँखामा एकपटक गिरेपछि पुनः उठ्न कठिन हुन्छ । हुन त केही पात्रहरू जमिनमा उत्तानो परे पनि जनतालाई भ्रमित पार्न सफल हुनेगरेका अनेक घटना विगतमा छन् । ती अपवादमात्रै हुन् । यथार्थ र स्थायी हुन सक्दैनन् । अहिले दुईजना पूर्वगृहमन्त्रीहरू, एकजना बहालवाला सचिव, एकजना कथित रक्षा विशेषज्ञ, केही वरिष्ठ पदाधिकारीका धुन्धुकारी पुत्रहरू र सहयोगी पक्राउ परेका छन् । या आरम्भ हुनसक्छ एक प्रकरणको । तर वितेका सत्र वर्षको अवधिमा भएका सबै आर्थिक भ्रष्टाचारहरूको फाइल जहाँ जुन रूपमा भए पनि अब खुल्नु जरुरी छ । अन्यथा लोकतन्त्रको विकल्प अलोकतन्त्रका रूपमा नेपाली जनताले व्यहोर्नुपर्ने हुनसक्छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउनेहरू जति अपराधी हुन् त्यो भन्दा बढी पैसा तिरेर अर्को देशको नागरिक हुन खोज्ने मनोविज्ञान अपराधी रहेको छ । त्यतातिर अनुसन्धनको सियो घुम्नु आवश्यक छ । त्यो सँगै भुटानी शरणार्थीलाई तेस्रो राष्ट्रमा पठाउन सहमति गर्ने, हस्ताक्षर गर्ने नेपाली पदाधिकारीहरूलाई समेत कानुनको कठघरामा उभ्याउनुपर्दछ ।
अहिले गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रारम्भिक बधाई दिनुपर्छ र खुट्टा नकमाइकन अनुसन्धानको दायरा फराक पार्न आग्रह गर्नुपर्दछ । यो सँगै अत्यन्त साहसपूर्वक अनुसन्धानमा सक्रिय अधिकृतहरू सम्मान र प्रशंसायोग्य रहेको हुनाले उनीहरूलाई विशेष बधाई दिन कन्जुस्याइँ गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?