चट्याङ लागेर घाइते तीन यार्सागुम्बा सङ्कलकको चार दिनपछि उद्धार

रासस
Read Time = 2 mins

दार्चुला । दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा सङ्कलकको चार दिनपछि उद्धार गरिएको छ ।

घाइते यार्सा सङ्कलकहरुको आज बिहान ९ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

चट्याङबाट घाइते यार्सागुम्बा सङ्कलकहरुको उद्धारका लागि सुर्खेतबाट सोमबार आएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण  सदरमुकाम खलङ्गामै थन्किएको थियो ।

शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको हुमदुम्तीमा तीन यार्सागुम्बा सङ्कलक घाइते भएका थिए । चट्याङ लागेर दुहुँ गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए ।

उनीहरु गाउँलेसँगै यार्सागुम्बा सङकलनका लागि हिमाली भेग उक्लेका थिए । दार्चुलको हिमाली भेगमा जेठदेखि असार अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?