नक्कली भूटानी शरणार्थी प्रकरणका दोषि जुनसुकै तहका व्यक्ति भएपनि कारबाही हुन्छः प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषि जुनसुकै तहका व्यक्ति भएपनि कानूनी कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरमार्फत सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले दोषी जुनसुकै तहका पदाधिकारी तथा व्यक्ति भएपनि कानूनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको हो ।

उहाँले प्रहरीको निष्पक्ष र व्यवसायिक अनुसन्धानमा हालसम्म कुनैपनि हस्तक्षेप नभएको र आगामी दिनमा पनि हस्तक्षेप नगरिने बताउनु भयो । उहाँले दोषि नउम्किउन् र निर्दोष नपरुन् भन्नेमा सरकारको जोड रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउन यो सरकारले कुनै कसर बाँकी राखेको छैन । र बाँकी राख्ने पनि छैन । नेपाल प्रहरीको निष्पक्ष र व्यवसायिक अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप भएको छैन । हस्तक्षेप गरिने छैन । र हस्तक्षेप हुन दिइने पनि छैन । भ्रष्टाचारसँग सम्बन्धित अन्य प्रकरणको पनि कानून अनुसार अनुसन्धान र कारबाही हुने व्यहोरा म प्रष्ट गर्न चाहन्छु । दोषी कोही पनि उम्किन नपाओस् । निर्दोष कोहीपनि नपरोस् भन्ने हाम्रो जोड रहेको छ । जुनसुकै तह र तप्काका भएपनि यो अपराधमा संलग्न जो कोहीपनि कानूनको दायरामा आउने नै छन् । त्यो प्रक्रिया अगाडी बढाइपनि सक्नुभएको छ । भिभिआइपीहरु पनि परि त राखेका छन् । त्यसकारण यसमा स्वतन्त्र र निष्पक्ष रुपले छानबिन भइराखेको कुरा त्यसले प्रमाणित गर्दछ । यस्ता विषयमा सरकारले कुनै आग्रह या कुनै पूर्वाग्रह नलिइ निष्पक्ष, तटस्थ र व्यवसायिक छानबिन गरी अन्तिम निस्कर्ष निकाली अपराधिलाई कानूनको दायरामा ल्याउन जोड गरेको छ । प्रधानमन्त्रीको हैसियतले मैले उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई यसमा दृढतापूर्वक र निष्पक्षताका साथ दोषी नउम्कने र निर्दोष नपर्ने निति अन्तर्गत अगाडी बढ्न निर्देशित गरेको छु ।’

प्रधानमन्त्री दाहालले प्रहरीले स्वतन्त्र र निष्पक्ष छानबिनको प्रक्रिया अगाडी बढाइराखेको जानकारी गराउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याएर मात्रै सुशासनको नयाँ प्रक्रियाको थालनी गर्न सकिन्छ भन्नेमा सरकारको विश्वास रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?