कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार छाड्न माओवादी-जसपालाई कांग्रेसको आग्रह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसले एमाले नेतृत्वको कोशी प्रदेश सरकार छाड्न नेकपा माओवादी केन्द्र र जसपालाई आग्रह गरेको छ । केन्द्रीय सत्ता गठबन्धनमा माओवादी र जसपा भए पनि प्रदेशमा भने एमालेको नेतृत्वको सरकारमा रहेको भन्दै कांग्रेसले प्रदेश सरकार छोड्न आग्रह गरेको हो । बिहीबार विराटनगरमा कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको बाटो खुला गर्न आग्रह गर्ने निर्णय गरेको हो । ‘मूलतः केन्द्रीय गठबन्धनको राजनीतिमा हामी जसपा र माओवादी केन्द्रसँगै छौँ । त्यसैले एमाले नेतृत्वको प्रदेश सरकार छोड्न उहाँहरूलाई आग्रह गरेका छौँ,’ कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले भन्नुभयो ।

केन्द्रीय समीकरणअनुसारै प्रदेशमा समेत सरकार बन्नुपर्ने कांग्रेसले बताउँदै आएको छ । तर, एमाले संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वको कोशी सरकारमा माओवादीका तर्फबाट दुई र जसपाबाट एकजना मन्त्री हुनुहुन्छ । माओवादीको तर्फबाट जीवन आचार्य र दुर्गाप्रसाद चापागाईं तथा जसपाबाट निर्मला लिम्बू मन्त्री हुनुहुन्छ ।

अंकगणितका हिसाबले तत्काल जसपा र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदासमेत सरकार गठनका लागि आवश्यक दाबी भने नपुग्ने देखिन्छ । केन्द्रमा बनेको हालको गठबन्धनमध्ये कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा गरी चार दल कोशी प्रदेशसभामा छन् ।

कांग्रेसको २९, माओवादीको १२ (सभामुखबाहेक), एसको चार र जसपाका एक सांसद गरी यो गठबन्धनमा ४६ सांसद मात्र छन्, जुन ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि एक अपुग हो । चारदलीय गठबन्धन बने पनि सरकारमा दाबी गर्न सो गठबन्धनलाई राप्रपाको समर्थन चाहिन्छ । तर, तत्काल राप्रपाले एमालेसँग सहकार्यसमेत नटुटाउने मनसायमा देखिन्छ । गठबन्धनमा झैँ कोशी प्रदेशमा एमालेका ४० र राप्रपाको ६ जना गरी मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत ४६ को समर्थन भने कायम देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?