नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका ३२ जनालाई नै ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिने भएको छ ।

आरोपितमध्ये चार उच्च पदस्थ र भुटानी शरणार्थी नेतासहित कम्तीमा पाँच जनामाथि भने राज्यविरुद्धको अपराधमा समेत मुद्दा चलाउनुपर्ने प्रहरीले निष्कर्ष निकालेको छ । आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला सचिवसहित १६ जना प्रहरी नियन्त्रणमा छन् ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणका आरोपितविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध, ठगी र किर्ते गरी चार कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ ।

पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जनाएको छ ।

यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार पीडितको सङ्ख्या झन्डै नौ सयको हाराहारीमा रहेको छ भने संगठित गिरोहले एक अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुलेको छ ।

२०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा सागर राई र सन्देश शर्मा पक्राउ परेसँगै फेलापरेका प्रमाणका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवसहित ठूलो गिरोहको मिलेमतो देखिएको थियो।

वैशाख १९ गते इन्द्रजित राई र २० गते पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयानसँगै रकम लेनदेनको प्रमाणका आधारमा वैशाख २७ गते पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र उनका सहयोगी नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव (निलम्बित) टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते र संविधान सभा सदस्य आङ्टावा शेर्पालाई जेठ १ गते पक्राउ गरिएको थियो।

त्यस्तै नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी मानव अधिकारकर्मी नेता टेकनाथ रिजाललाई जेठ ४ गते पक्राउ गरिएको थियो। पक्राउ परेका १६ जनालाई अनुसन्धान प्रतिवेदनसहित आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको छ।

परिसर स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा निरज राई प्रत्यक्ष रूपमा रकम लेनदेनमा संलग्न रहेको र अन्य १४ जनाको भूमिका बिचौलिया र सहयोगीको रहेको पाइएको छ।

छुट भएका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनस्र्थापना गराउने योजना अनुरूप २०७६ वैशाखमा कार्यदल गठन भएको थियो तर सो कार्यदलको प्रतिवेदनमा नै अनुसूची थपेर नेपाली नागरिकको समेत नाम थपी अमेरिका लैजाने गिरोहको योजनामा यो घटना भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?