तातोपानी नाकाबाट १४ हजार टन मल भित्रियो

Read Time = 5 mins

काठमाडौं । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ । पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले सात हजार एक सय टन रासायनिक मल ल्याउने तयारी रहेको बताउनुभयो ।

यसअघि ट्रान्सपोर्टले ३५ सय टन कृषि सामग्री र चार हजार टन साल्ट ट्रेनिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइसकेको उहाँले जानकारी दिनुभयो । केही समयअघि नै आउनुपर्ने मल कोरोनाका कारण रोकिएकाले अहिले आएको सत्यालको भनाइ थियो । तातोपानी भन्सारको मल राख्ने क्षमता सात हजार एक सय टन रहेकाले अहिलेका लागि त्यति बराबरको मल ल्याउने तयारी रहेको र बाँकी मल चीनको सिगात्सेमा ल्याएर राखिएको उहाँले बताउनुभयो । सत्यालका अनुसार तातोपानी नाकाबाट पछिल्लो पाँच दिनमा दैनिक नौवटासम्म मलका कन्टेनर ल्याइएको छ । सडक मार्ग राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिने उहाँले बताउनुभयो । सिल्क ट्रान्सपोर्टले सरकारलाई समयमै मल ल्याएर दिने गरी आयात गरिरहेको र भन्सारमा आएको मलको परीक्षण र इन्पेक्सन प्रक्रिया तत्काल गरिदिए एक हप्तामै कृषि सामग्री कम्पनीलाई बुझाउन सकिने सत्यालको दाबी छ ।

रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातोपानी नाकासम्म कन्टेनरमार्फत् ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदयसिंह बिष्टले खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेकामा पछिल्लो साता रासायनिक मल आयात भइरहेको बताउनुभयो । विष्टका अनुसार पछिल्लो आयात अवस्था हेर्दा भन्सार कार्यालयले राजस्व संकलन गर्ने लक्ष्य पूरा गर्न सक्ने अवस्थामा छैन । तातोपानी नाकाबाट चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य भए पनि हालसम्म दुई अर्ब ५४ करोड अर्थात् ४५ प्रतिशतमात्रै राजस्व संकलन भएको छ । तातोपानी नाकामा भइरहेको आयात अवस्था हेर्दा कम्तीमा ६२ प्रतिशतसम्म राजस्व संकलन हुने अवस्था देखिएको उहाँले बताउनुभयो ।

तातोपानी भन्सार व्यवस्थापनको जिम्मेवारी पाएको ट्रान्सिल टर्मिनल प्रबन्धक अनिरुद्र थापाले पछिल्लो एक सातादेखि दैनिक आठ कन्टेनर रासायनिक मल आयात भइरहेको बताउनुभयो । थापाका अनुसार तातोपानीमा पछिल्लो समय दैनिक तीन सय टन मल आयात भइरहेको छ । भन्सारमा रासायनिक मल सात हजार एक सय टन राख्न सक्ने क्षमता रहेकाले सोहीअनुसार आयातका लागि कम्पनीलाई आग्रह गरिएको उहाँको भनाइ छ ।

भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्यरूपमा एकतर्फी सञ्चालनमा आइरहेकोमा गत मे १ तारिखदेखि भने दुईतर्फीरूपमा सञ्चालनमा आएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?