भ्रम र विभ्रममै, विवश हुनुुहुन्न श्रम दिवस !

बद्रीप्रसाद दाहाल
Read Time = 12 mins

काम गर्ने कालु, मकै खाने भालुु ! कामचोरको नाम धर्मराज ! काम छउन्जेल आफ्नो, काम सकियो बिरानो ! काम सर्‍यो भाँडो, आफल तेरो ठाँडो ! काम भने चाँडो चाँडो, खान भने फाँडो फाँडो ! माथिका उखानहरूले श्रमिकवर्गप्रतिको शोषण र श्रमको अवमूूल्यन गर्ने निच सामन्त प्रवृत्तिमा मज्जाले व्यञ्जनाको चड्कन चिउरा चखाएको छ । श्रमिक भन्नाले रगत र पसिना बगाएर श्रम गर्ने व्यक्ति, मजदुर, ज्यामी, भरिया, खेतालो, कुुल्ली, लेबर, कारखाना र स्टेसनहरूमा मजदुरी गर्ने जमात भनेर बुझिन्छ । हाम्रो जस्तो देशमा निश्चित समयको सीमाभन्दा पनि बढी खटेर अमर्यादित हुँदै परिश्रम गर्नुुपर्ने बाध्यताका मजबुर मानव हुन् श्रमिक ।

कार्ल हेनरिख माक्र्स भन्ने जर्मन दार्शनिक जसले द्वन्द्वात्मक भौतिकवाद, कमिनिष्ट मेनिफेस्टो, पुँजी आदि अनगिन्ती कृतिमार्फत श्रम र पुँजीबारे विचार पस्किएर संसारलाई हालसम्म पनि हल्लाइरहेका छन् । उनले श्रम र पुँजीको बारे घतलाग्दो विचार दिएका छन्–ः ‘पुँजी त मृत श्रम हो, जुन जीवित श्रमको शोषण गर्दा पिशाच झैँ जीवित रहन्छ र जति धेरै जीवित रहन्छ त्यति धेरै शोषण गर्छ’ । यसरी उनले पुँजी र श्रमका बीचको भिन्नता देखाएर श्रमको उच्चतालाई उचालेका छन् ।

अमेरिकी राष्ट्रपति स्व. अब्राहम लिङ्कनको शब्दमा : ‘श्रम पुँजीभन्दा पहिले आउँछ र त्यसबाट स्वतन्त्र छ, पुँजी त केवल श्रमको फल हो । यदि श्रमको अस्तित्व नभएको भए पुँजीको पनि मूूल्य हुने थिएन । श्रम पुँजीभन्दा ठूलो छ र त्योभन्दा धेरै ध्यानदिन योग्य पनि ।’ यसरी राजनेता लिङ्कनले पनि पुँजीको जीवन्तता श्रमलाई नै ठम्याउन पुुगेका छन् । श्रमविना पुँजी हुर्कन सक्दैन भनेर किटानी नै गरिदिए ।
यी दुुवै विचारमा समन्वयवादी वा ठिमाहा धारणा राख्दै पोप लियो तेह्रांँ भन्थे-‘श्रम र पुँजी अन्योन्याश्रित छन्, पुँजी श्रमविना हुर्कन सक्दैन र पुँजीको अभावमा श्रमको अस्तित्व छैन’ । यसै क्रममा श्रमको गरिमा उचाल्दै अर्का विचारक हेनरी जर्ज यस्तो सटिक अभिमत दिन्छन् : ‘पुँजी श्रमको परिणाम हो र श्रमले नै यसको उन्नतिका लागि उपयोगमा ल्याउँछ । श्रम नै सक्रिय तथा मूल शक्ति हो’ ।

यतिखेर हामी विश्व श्रमिक दिवस १ मईको सप्ताहमै छौं । १३४औं वर्षमा प्रवेश गरेको यो आन्दोलनको पृष्ठभूमिको रक्तरञ्जित इतिहास कहालीलाग्दो छ । त्यही बलिदानपूूर्ण बहादुरीको प्रतापले आजको श्रमिक संगठनको विकास र विस्तार भएको हो ।

यी माथिका विचारकका सबै कुरालाई भगवान् श्रीकृष्णकै ‘कर्मण्येवाऽधिकारस्ते’ भन्ने गीताज्ञानले नै निर्देशन गरेको आभास हुन्छ भने हाम्रा संस्कृत सूूक्ति ‘उद्यमेन हि सिध्यन्ति, कार्याणि च मनोरथैः’ जस्ता उम्दा श्लोकले श्रमलाई उचाइमा चुमाएको छ । हेर्नोस् त यो नेपाली उखानले पनि सनातन रूपमा कति मजा कुरा भन्दै आयो : इलमीको (श्रमजीवीको) भागमा माछा र मासुु, अल्छीको भागमा आँखाभरि आँसुु । यसैबाट बुझिन्छ संसारमा श्रम महान् हो ।

यतिखेर हामी विश्व श्रमिक दिवस १ मईको सप्ताहमै छौं । १३४औं वर्षमा प्रवेश गरेको यो आन्दोलनको पृष्ठभूमिको रक्तरञ्जित इतिहास कहालीलाग्दो छ । त्यही बलिदानपूूर्ण बहादुरीको प्रतापले आजको श्रमिक संगठनको विकास र विस्तार भएको हो । अमेरिकाको सिकागो शहरबाट चलेको यो अभियानले युरोपियन महादेश हुँदै अन्य महादेशका देशहरूमा पनि मजदुर एकताको हुण्डरी मच्चिँदै नेपालजस्ता देशहरूमा त्यसका बाछिटाहरू पर्न गए । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन मजदुरहरूको हक हो भन्ने सिद्धान्त रोजगारदाता सरकार तथा निजी कम्पनीहरूमा गुुञ्जाए ।

नेपालमा पनि विसं २००३ मा विराटनगर जुटमिलका मजदुरले मजदुर हकहितका खातिर आन्दोलन छेडे । जुन नेपाली श्रमजीवीहरूमा आन्दोलनको चेतना बीजाधान गराउन सफल भयो । २०१९ सालदेखि नेपालमा पनि मजदुुर दिवस मनाउन थालनी भए पनि स्वतन्त्रताको अभावमा त्यो त्यति प्रभावकारी थिएन । ०४६ पछिका दशकहरूमा भने मजदुरका आन्दोलनले ट्रेडयुनियनहरूमा केही बहार आएको महसुुस भए पनि पछिल्ला दशकदेखि हालसम्म मजदुरका संगठन राजनीतिक दलका गोटीमात्र बन्न पुुग्दा पेशागत मर्यादा उनीहरूको हकहितबाट केही विचलित भएको अनुुभव सबैले गरिरहेका छन् ।

यस वर्ष नेपाल सरकारले मजदुर दिवसमा यस्तो नारा दिएको छ : ‘सामाजिक सुरक्षा, मर्यादित श्रम, राष्ट्रको अभियान’ यो सूत्रको अन्तर आबाजको आसय त हृदय छुने खालको छ । तर नेपाल फगत नाराको देश बनेर तारा खसाल्ने सपना देखाउँदै श्रमजीवीहरूलाई भ्रम- विभ्रमको चक्रव्यूहमा पारेर फुस्सा बाँड्न एकतन्त्रदेखि गणतन्त्रसम्मका अकर्मण्य, अक्षम र उत्तरदायित्वविहीन अपारदर्शी शासक र कर्मचारीतन्त्र लगौँटी कसेर देशको मर्ममा शर्म पचाई नितान्त निजी स्वार्थप्रेरित हुँदै दोहनलाई मनमोहन मानेका मान्यै छन् बा !
खबौं रकम सकेर निर्वाचन गरी जनप्रतिनिधि छान्ने नाटक गरे पनि अहिलेसम्म नेपाली राजनीति संक्रमणको चरणभन्दा माथि गतिशील हुनै सकेन । राजनीतिमा स्थायित्व, सुशासन, जवाफदेहिता र पारदर्शीपन आउनै सकेन । केही महत्वाकाङ्क्षी र सत्तापरस्त चिन्तनले अभिग्रस्तहरू द्वन्द्व, कलह, तिकगडम र अवसरवादको रौरवमा कौरवीय छल गृहकार्य बनेको कुचरित्रले देशका सबै क्षेत्र तहसनहस भइसक्यो ।

श्रमजीवीहरूका नाममा गरिएका अन्तर्राष्ट्रिय हस्ताक्षरका वाचा र संविधानसभाबाट आफैंल बनाएका संविधानका धारा थारा बनाउने षड्यन्त्र देशमा ठूूला मान्छेहरूले गरिरहेका छन् । रोजगारदाताहरू मजदुरका पसिनाको चरम शोषण गर्ने, अझ त्यतिले नपुुगेर कामबाटै निकाल्ने र श्रमशक्तिको कानुुनविपरीत ओसारपसा तथा तस्करी गर्ने खाले महापातकी कुकामको बढोत्तरी हुँदैछ । जर्जर सामन्तवादी राज्यसत्तालाई पुँजीवादमा रूपान्तरण गर्दै समाजवादी स्वतन्त्रता र समानताको राज्यव्यवस्था ल्याउने स्यालहुुइय्या अभिलेखीकरणमै उतारेर ऐन कानुन, नियमका ठेली बनाए पनि कार्यान्ययनमा ल्याउन उदासीन छन् हालसम्मका शासकहरू ।

विश्वका एक सय सत्तरीभन्दा बढी देशमा सस्तो भाउमा श्रमशक्ति निर्यात गरेर उनीहरूले पठाएका विप्रेषणमा आफू र आफन्त मिली तर मार्ने शासकीय प्रवृत्तिले श्रमलाई नै भ्रम-विभ्रममा पार्दै खोक्रो दिवस मनाउने बोक्रे कसरत छर्लंग छ ।

लोकतन्त्र आएको तीन दशकभन्दा बढी हुँदा पनि संवैधानिक अङ्गको रूपमा ‘राट्रिय श्रम आयोग’ गठन नहुनुले अग्रगमनकारी भनिएका राज्यचालकहरूको खुट्टी आमकामदारवर्गले देखिसकेका छन् । त्यसैले त आँखाभरि आँसुु बहाएर वैधअवैध बाटो पराइका मुलुकमा ससाना बाबुनानी र वृद्धवृद्धा आमाबा छोडेर भास्सिन विवस छन् कयौं हर्हराउँदा नेपाली नौजवान । अदक्ष र अर्धदक्ष नवयुवा श्रमिकहरू पारई देशको कामको चापले असमयमै मृत्यु वरण गरेर बन्दबा कसमा विमानस्थल आइरहेका कारुणिक दृश्यले जनसाधारण शोकग्रस्त हुँदै आफ्नै मृत्यु पर्खन कठिन दैनिकी बन्दैछ ।

हो नेपालको संविधान २०७२ को धारा ३३ र ३४ मा रोजगारको हक र श्रमको अधिकार व्यवस्था गरे पनि अहिलेसम्म श्रमिकहरूका मुद्दा व्यवस्थित हुन सकेका छैनन् । श्रमऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ ले ठेलीमार्फत चिल्ला र मीठा वाक्य बाँडे पनि श्रमजीवीका भाग्यभविष्य झन् अँध्यारो दुलातिर हामफाल्दै छन् । बर्सेनी पाँच लाख पचास हजार श्रमशक्ति नेपालको बजारमा आउँदा रोजगारीको ठोस नीतिमा ओस परेर बेरोजगारको भारले तहसनहस भइरहेको छ देश । विश्वका एकसय सत्तरीभन्दा बढी देशमा सस्तो भाउमा श्रमशक्ति निर्यात गरेर उनीहरूले पठाएका विप्रेषणमा आफू र आफन्त मिली तर मार्ने शासकीय प्रवृत्तिले श्रमलाई नै भ्रम-विभ्रममा पार्दै खोक्रो दिवस मनाउने बोक्रे कसरत छर्लङ्ग छ ।

अब साँच्चै देशमुखी राजनीति गर्ने राजनीतिक अभिकर्ता सरकारमा छन् भने सरकारले नेपाली श्रमिकहरूको रगतपसिना आफ्नै देशमा छताछुुल्ल बनाउने दिशातिर संविधान र ऐननियमका स्पीरिटलाई परिणाममुखी बनाउन शीघ्र पाइला चालून् । सधैं गाँस, बाँस, कपासजस्ता आधारभूत पक्ष हामीलाई किसान, मजदुर र श्रमजीवी हाम्रा पालक र देवता हुन् । अझै पनि भ्रमविभ्रममा यो कामकरूवर्ग उपेक्षित हुनुभनेको राष्ट्रको उपेक्षा गर्नु हो । सम्बन्धित सबैलाई पशुपतिनाथले चेतनाको कृपा गरिदिऊन् ! ! ! अस्तु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?