विश्वेश्वरप्रसाद कोइरालाले ‘दोषी चश्मा’ (२००६) मा मान्छेलाई मनोवैज्ञानिक दृष्टिले दुई प्रकारमा गणना गरेका छन् । अन्तर्मुखी र बहिर्मुखी । यसको आधार मनोविज्ञान रहेको देखिन्छ । उनी यसमा मनोविज्ञानमा मात्रै परिसीमित रहेका छैनन् । उनी प्रजातान्त्रिक समाजवादी नेता भएका हुनाले उनले समाजको संस्कार तथा शासनसंयन्त्रको आधारमा प्रहरीलाई प्रतीक बनाएर शासनको प्रकृति र प्रवृत्तिको चित्रण गरेका छन् । तानाशाह सरकारले राज्यका निमित्त भनेर कुनै पनि संस्थालाई मान्दैन, सबै आफ्ना लागि भनेर परिभाषित गर्छ र उपयोग पनि गर्छ गराउँछ ।
प्रजातान्त्रिक सरकारले प्रहरी संगठनलाई जनताको सहयोगी, तिनको ज्यानधनको संरक्षक, समाजको दुःखसुखको साथीका रूपमा त्यसलाई विकास गराएर प्रयोगमा ल्याउँछ तर तानाशाहले प्रहरीलाई आतंक, शक्तिको प्रतीक, डर, त्रास र शासनको असली ताबेदारका रूपमा प्रयोग गरेको हुन्छ भन्ने सन्देश ‘सिपाही’ भन्ने कथाका माध्यमले दिन खोजेको देखिन्छ । अन्तर्मुखी मान्छे अँध्यारो कोठा हो जसमा हीरा, मणिमाणिक्य छ या सर्प, बिच्छी, भ्यागुता आदिले त्यो कोठो भरिएको छ कसैले भन्न सक्दैन । बहिर्मुखी मान्छे बहँदो खोलो हो पानी सङ्लो, धमिलो दह र बगे–नबगेको नांगा आँखाले देख्न सकिन्छ । बहिर्मुखी मान्छे व्यासासनमा बसेको पौराणिक पण्डित हो जसको चरित्र पवित्र ठानिन्छ । समाजले मान्छ पुज्छ ।
संस्कार तथा संस्कृतिको प्रतीकमात्रै होइन संरक्षक नै ठानिन्छ भित्रभित्रै ऊ जतिसुकै दुराचारी र भ्रष्टाचारी होस् । भ्रष्ट पण्डित समाजका व्यक्ति व्यक्तिदेखि डराउँछ । आफ्ना मनका काम कुरा गर्न उसले अनेकौं प्रकारका बर्का ओडेर आफूलाई लुकाउनुपर्दछ । लुकेर जाँड खाने समाजमा शासक पण्डित जस्तो हुँदोरहेछ । जनतासँग डराउँदो रहेछ । एउटा आचरणमा आफू पनि बसेर अरूलाई पनि आचरणका घेरामा राख्न बल गर्दोरहेछ । भारतमा मदिरा लुकेर तोकेको समयमा मात्र पाउँछन् साधारण नागरिकले । नेपाल जस्तो खुलमखुला जाँडराँडका सेवकले शासन चलाउँदा भने समाज, राष्ट्र, सभ्यता, संस्कृति, उन्नति र प्रगतिलगायत सबै भड्खालामा परेर अधोयात्रा गर्न विवश बन्दारहेछन् सिंगो मानव सभ्यता नै कुण्ठित हुँदो रहेछ ।
प्रधानमन्त्री भएर प्रधानमन्त्री आवास क्षेत्र, प्रधानन्यायधीश आवास क्षेत्र दलाल लाएर बेच्ने, गृहमन्त्री भएर विदेशी शरणार्थीका ठाउँमा लाखौं लाख असुलेर देशवासी बेच्ने, लोग्ने हवल्दार भयो भनेर गीत गाउँदै नांगै दिउँसो नाच्ने स्वास्नीहरूलाई वनारसका राँड, साँड र सन्यासीका दर्जामा राखे के हान्ती होला र ?
धेरै दिनदेखि कुनै अग्लो ठाउँमा बसेर तल्लो मैदानी भागमा देखिने दृश्यमा रमाएर बेलाबेला राम्रो लागेका दृश्यको फोटो खिचे झैँ म पनि आँखा चिम्लेर मेरा समाजको ऐतिहृय र वर्तमानको अवलोकन गरिरहेको थिएँ । म भर्खर पढ्न लाग्दा ब्राहृमण कूलको भएको हुनाले धेरै कुरामा परहेज थियो । खाने, बस्ने र सर्संगत गर्ने कुरामा पनि म अरू साथीभन्दा अलि संकीर्ण रहेछु । जब मलाई आधुनिकताको हावा लाग्न लागेको थियो त्यो बेला आफूभन्दा उमेर अनि कक्षामा पनि माथिका साथीहरूले चार–पाँचजना मिलेर एउटी यौनजीवालाई बोलाएर भत्केको मान्छे नबस्ने खण्डहरे एउटा घरमा लुकाएर राखेर पालैपालो खाने कुरो पुर्याएर पालेर बैंसका उद्वेग शमन गरेको देखेँ÷भेटेँ र तिनलाई छात्रावासबाटै निष्काशन गराउन लट्टो दिएर लागेँ ।
साथी कोही भागे कोही आचारसंहिता लागेर बाहिरिए । अनि मेरा मनमा उचित गरेँ कि अनुचित गरेँ भन्ने मनोद्वन्द्वका आवर्तमा रुमल्लिएँ । गुरुहरूले स्यावासी नै दिए । त्यसमा आनन्द मानेर नै बसेको थिएँ । अहिले फेरि मेरा देशमा तिनै दृश्यावली दोहोरिन थाले । तैँले चाल पाइनस् ? फलानो फालानीसँग पल्केको धेरै दिन भएको थियो फलाना फलानाको बन्दुक हानाहान पो भएछ त । सभामुखको यस्तै हर्कत पनि देखियो । यो देशका मन्त्रीहरू नै उपभोग्याका निमित्त पर्खाल भत्काएर भिडेको पनि देखियो सुनियो र बुझियो पनि । दुनियाँलाई उपदेश दिने पण्डितले छोरो सहितकी स्वास्नीदान लिएर चाहनेका चाहनाको कदर गर भन्ने सन्देश दिएको कुरो पनि सुने ।
महादेव पनि भाङ, धतुरो र गाँजा खाएर रावणलाई पार्वती दिएर पठाउँथे । यसपछि लागो ‘भिन्नरुचिर्हिलोकः’ त्यसै भनिएको होइन रहेछ । आजको मान्छेका प्रकारमा म बीपीसँग सहमत हुन भने सकिन किनभने आज मेरै देशमा जाँड सर्वस्व, राँड सर्वस्व र पुराण सर्वस्व मान्ने देखापरेका छन् । प्रकृतिले दिएको बहिर्मुखी र अन्तर्मुखी प्रवृत्तिबाट मान्छे धेरै गाँज्जिएको छ । कुनै पनि दलमा लागेर अवसर पाएर ठूला ठाउँमा पुग्न सकेकाले जाँड र राँडको सेवान गर्ने अवसर पाउँदा रहेछन् । हात लागेको अवसर गुमाएर पछि थक्थकाउन भनेर कसले मान्ने । नारद पनि त विष्णुसँग रूप साटेर विश्वमोहिनीको स्वयम्वरमा भाग लिन पुगेथे ।
विष्णुले वानरको रूप दिएको हुनाले तिनलाई पनि वानरकै सहयोगमा रावणबाट आफ्नी अंगशायिनी फिर्ता ल्याउनुपर्ने बनाइदिएका थिए । कुनै दलमा लागे पनि उर्वर अवसर लाभ गर्न नसक्ने कुनै प्रकारले जाँडसेवीसम्म चाहिँ बन्दो नै रहेछ । अर्को एउटा बारीमा उम्रेको गन्धे झारजस्तो जसलाई न गाई भैंसीले भोग गर्छन् न त कुनै प्रकारको फूलफल नै लाग्दछ त्यस्ता प्रकारका चाहिँ पुस्तकालय धाउने, कविता, कथा, उपन्यास, निबन्ध आदि लेख्ने र राष्ट्र चलाउनेका अमिल्दा क्रियाकलापमा टीकाटिप्पणी गरेर बस्ने चाहिँ अन्ततः फेरि पुराणका ठेली पल्टाएर मनको बह पोख्न विवश बन्दा रहेछन् ।
हिजो फ्रायड आदिसँग म असहमत भए पनि आज पूरै सहमत हुँ कि जस्तो लाग्न थालेको छ । साहित्य कला आदि हीनमनोभावनाकै क्षतिपूर्ति हुन् कि क्या हो ? भनेर सोच्न लागेको छु । परीक्षाका सबै तह प्रथम श्रेणीमा उत्तीर्ण भएकाहरू बेरोजगार, हरेक तहमा ब्याक पेपर दिएर तह पार गर्ने र कतिपय त शैक्षिक प्रमाणपत्र किनेर ल्याउने चाहिँ देश चलाउने बनेको देख्छु । प्रधानमन्त्री भएर प्रधानमन्त्री आवास क्षेत्र, प्रधानन्यायधीश आवास क्षेत्र दलाल लाएर बेच्ने, गृहमन्त्री भएर विदेशी शरणार्थीका ठाउँमा लाखौं लाख असुलेर देशवासी बेच्ने, लोग्ने हवल्दार भयो भनेर ‘सैंयाँ भेल हल्दार त नंटे नाचब रे’ गीत गाउँदै नांगै दिउँसो नाच्ने स्वास्नीहरूलाई वनारसका राँड, साँड र सन्यासीका दर्जामा राखे के हान्ती होला र ?
राजनीति गरेपछि अकुत धन नकमाउने हो, दुई-चारवटा राहदानी नबेचे, दुई-चार हजार नागरिकलाई गैरनागरिक बनाएर नबेच्ने हो भने सत्ताको के काम ? एउटी बुढीमा र एउटा बुढामा परिसीमित भएर बस्ने भए त राजनीतिमा किन जानु यही हो आजका सत्ताधारीको गायत्री ।
राँड, साँड, सन्यासी सँ बची त सेबीकाशी भन्ने उखान अब पुरानो भयो अब त ‘जाँड, राँडको पुराण सुन्न जाऊँ नेपाल’ भन्न थाल्यो दुनियाँले पनि । विलास र ऐयासले मान्छेलाई दिने जे हो त्यही दिएको छ नेपाली सत्ताले यसमा दुःख मान्ने पनि काम छैन । विवेक र विचारशून्य मान्छे अनर्थ गर्नतिर नलागेर महावीर पुनको अनुकरण गरेर कसरी बसोस् ? मुटु र गिदीमा नै नभएको काम मान्छेले कसरी गरोस् । सत्ताको वागडोर नसमात्ने हो भने राजनीति किन गर्नु ?
राजनीति गरेपछि अकुत धन नकमाउने हो, दुई चारवटा राहदानी नबेचे, दुई-चार हजार नागरिकलाई गैरनागरिक बनाएर नबेच्ने हो भने सत्ताको के काम माला जपेर गेरु लाएर बस्ने र एउटी बुढीमा र एउटा बुढामा परिसीमित भएर बस्ने भए त राजनीतिमा किन जानु यही हो आजका सत्ताधारीको गायत्री । कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रामा राखे पनि बाँङ्गाको बाँगै सामाजिक अवषादले पनि नछुने कस्तो अचम्म ओली टोपबहादुर बचाउन कम्मर कसेर लाग्ने त खाँण-खाँणनी र आफ्नै जोरु बचाउन शेरबहादुर लाजै पचाएर लागेको देखिए । गर्नेलाई भन्दा देख्नेलाई लाज भनेको यही त होला नि !
हामी आफ्ना योग्यताले भ्याएका ठाउँमा बैंसभरि दिमाग र पाखुरा बजार्नेलाई पो यिनले सडकमा दिनदहाडै नांगो भएको देखेर आँखा चिम्लनुपर्ने हाय रे पशुपतिको देश । साँढेले लुगा लाउँदैन र हामी आँखा पनि त चिम्लँदैनौँ । लुगा लाउनेले दिउँसै लुगा फुकाल्दा पो लाज हुँदो रहेछ त । त्यो फुकाल्नेलाई भन्दा वरपरबाट देख्नेलाई लाज लाग्न थाल्यो । शरणार्थी बनेका टेकनाथ रिजाल पैसा कमाउन थालेछन् नेपाली राँडका साँडसँग साँठगाँठ गरेर । गौतम बुद्धका देशबाट एकै पटक स्वार्थलम्पट पेटुका देशमा परिणत गराउँदा पनि नेपाली सामान्य न बौद्धिक कसैलाई लाजै लागेको छैन । पाकिस्तान, श्रीलंकामा यस्तै कर्म गर्नेलाई के गरे जनताले त्यो पनि त देखेकै होलान् ।
नेपालीका शरीरमा रगत होइन टुकुचाको कुहिगन्धे पानी पो बग्न थाल्यो कि क्या हो । कालो कोट लाउने त शेरका स्यालको जमानी बस्न तँछाड मछाड अरे । कालाकोटले ढाकेको कालो चरित्रलाई कसरी उजिल्याउने ? ज्यानमारालाई ठाडै माफी दिने सल्लाह भइरहेको भनेर पाँच हजार ज्यान मारेको जिम्मा लिने बहादुरले भन्दा मैले झलक्क भर्तृहरिको “सत्यानृता च परुषाप्रियवादिनि च...वाराङ्गनेव नृपनीति रनेकरूपा” सम्झेँ । बेस्याचरित्रसँग तिनले राजनीतिलाई तुलना गरेका छन् । यो देशको उन्नतिलाई राक्ने र अवनतिमा लैजाने भनेका नै कांग्रेस कम्युनिष्टका वर्तमान नेता हुन् ।
राजनीतिको मैदानबाट जति चाँडो यिनलाई निकाल्न सकिन्छ नेपालमा त्यति नै चाँडो पुनर्निर्माणको आरम्भ हुन्छ । अब त नेता भनेको ज्यानमारा, भ्रष्टाचारी, नागरिक बेचुवा, बोलीको र चरित्रको ठेगान नभएको भन्ने परिचय नै बन्न लाग्यो । योग्यता नभएका, लम्फु, आहारिसे, पैसा र पदका लागि ज्यान मार्न र देश, नागरिक बेच्न पनि रति नहिच्किचाउने चरित्र भएका भन्ने पनि बिम्ब बनेको सुनिन्छ । नाम नखुलेको कालो पदार्थ खाने तारबाट खसेका नेपाली बबुरका काँडामा अट्केका छन् । कालो पदार्थ खानेका शासनमा बसेका आज प्रगति भएर सेतो, रातो, धूम्र, ट्याबलेट, क्याप्सुल, झोल खाएर, तानेर तन्काएर कालो काम गर्नेका शासनमा उसिसनिसिस् भएर बसेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच