रुपन्देही । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताईएको छ ।
बुधबार बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम आई.सि.एफ. संगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चूनौतीको विषयमा भनाई राख्दै नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उक्त तथ्यांक प्रस्तुत गर्नुभएको हो ।
उहाँले लुम्बिनी प्रदेश बैदेशिक लगानीको आकर्षक क्षेत्र पनि रहेको बताउँदै वैदेशिक लगानी पहिलो रोजाइ सेवा मुलक, उत्पादन मुलक र पर्यटन क्षेत्रमा रहेको भनाई राख्नुभयो । त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला ८८२, घरेलु तथा साना उद्योग करिव २५ हजार र करिव १ लाख ५० हजार व्यवसायिक प्रतिष्ठान रहेको उहाँले जानकारी गराउनु भयो ।
तराईका ६ र पहाडका ६ गरी १२ जिल्ला रहेको लुम्बिनी प्रदेशको जम्मा क्षेत्रफल २२ हजार २८८ वर्ग कि.मि. छ । यो प्रदेशमा प्रचुर कृषि भूमि तथा प्राकृतिक रुपमा धनी प्रदेशको रुपमा रहेकाले कृषिजन्य तथा बनप्रदावारमा आधारित उद्योग तथा पर्यटन उद्योगमा राम्रो सम्भावना देखिएको उहाँले जानकारी गराउनु भयो । उहाँका अनुसार राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा लुम्बिनी प्रदेशको करिब १४ प्रतिशत योगदान रहेको छ ।
लुम्बिनी प्रदेशमा दुई औधोगिक क्षेत्र, भैरहवामा विशेष आर्थिक क्षेत्र छ । त्यसबाहेक पनि भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी, परासी–भुमही मुख्य औद्योगिक कोरिडोर रहेका छन् । यी कोरिडोरमा मात्रै लुम्बिनी प्रदेशमा रहेका कुल उद्योगका ५० प्रतिशत उद्योग रहेका छन् । त्यसैगरी रुपन्देहीमा प्रस्तावित मोतिपुर औधोगिक क्षेत्र, बाकेमा नौवस्ता औधोगिक क्षेत्र रहेका छन् । यी औधोगिक क्षेत्रको निमार्ण र सञ्चालनको ढिलाईले उद्योग विस्तार र वैदेशिक लगानीमा तिव्रता आउन नसकेको उहाँले बताउनु भयो ।
त्यस्तै सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले प्रदेशमा लगानीको राम्रो सम्भावना भएपनि नीतिगत अस्प्रष्टताका कारण प्रयाप्त लगानी आकर्षण पनि हुन नसकेको र लामो समयदेखिको बैंक तथा वित्तिय संस्थामा उत्पन्न भएको लगानीयोग्य पुँजीको अभाव तथा व्याजदरमा भएको अस्वभाविक बृद्धिका कारण भएका उद्योग प्रतिष्ठान पनि धान्न धौ धौ भएको बताउनु भयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम आई.सि.एफ. का प्रमख, आवासिय प्रतिनिधी बाबाकर एस फेईले आईएफसी विश्व बैंक समूहको सदस्य उदीयमान बजारहरूमा निजी क्षेत्रमा केन्द्रित सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था रहेको र विकासशील देशहरूमा बजार र अवसरहरू सिर्जना गर्न पूँजी, विशेषज्ञता र प्रभाव प्रयोग गरेर सय भन्दा बढी देशमा काम गर्दै आएको जानकारी गराउनु भयो ।
यसले निजी क्षेत्रसँगको साझेदारीमा अत्यावश्यक सेवाहरू विद्युत, दूरसञ्चार, यातायात, खानेपानी र सरसफाइ जस्ता पूर्वाधार परियोजनाहरू विकास गर्न दीर्घकालीन वित्तपोषण र उद्योग–अग्रणी विशेषज्ञता प्रदान गर्ने उहाँले जानकारी गराउनु भयो । उहाँका अनुसार आईएफसी माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४५३ मिलियन डलरको ऋण फाइनान्सिङ प्याकेजको प्रमुख प्रबन्धक हो । जुन नेपालमा सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी हो । अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच