आफ्ना नेतालाई भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेद्वारा संसद् अवरुद्ध

प्रष्ट नपारेसम्म संसद् चल्न नदिने अडान, बैठक आज दिउँसो बस्ने

अनिल क्षेत्री
Read Time = 18 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्तापक्षका सांसदहरूले अध्यक्ष केपी शर्मा ओलीलाई भ्रष्टाचार गरेको निराधार आरोप लगाएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेकोमा एमाले सांसदहरूले त्यसभन्दा अगाडि पार्टी अध्यक्ष ओलीलाई भ्रष्टाचारको निराधार आरोप लगाइएको विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै बैठक अवरुद्ध पारेका हुन् । बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्तारूढ दल माओवादीका सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीमाथि झुटो आरोप लगाएको दाबी गर्नुभयो । माओवादी केन्द्रका सांसद दाहालले ओलीले पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी राखेको भनेर गलत प्रचार गरेको प्रमुख सचेतक गिरीको जिकिर छ । एमाले संसदीय दलको उपनेतासमेत रहनुभएका सुवासचन्द्र नेम्वाङले कारबाही गर्ने स्थानमा बसेर आधारहीन कुरा राख्न नहुने जिकिर गर्दै भन्नुभयो, ‘सत्तापक्षको तर्फबाट जिम्मेवार एकजना सांसदले जुन कुरा राख्नुभयो त्यो आधार छैन । गैरजिम्मेवारपूर्ण छ । आफू सरकार चलाइराख्नु भएको छ । सम्पूर्ण डाँडुपन्यु छ । सरकार सबै कुरा थाहा पाउँछ । संसद्को रोष्टममा उभिएर भन्नुभयो, ‘सुनको जलहरीको नाममा पित्तलको जलहरी चढाएर भ्रष्टाचार भएको छ । कि प्रमाणित गर्नुपर्ने नत्र गलत आरोप लगाउन पाइँदैन । दूधको दूध पानीको पानी होस् र सुनको जलहरी होइन भने प्रमाणित होस् । यदि होइन भने प्रमाणित गर्नुपर्छ कि पर्दैन । यति गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी भाग लिन सक्छौँ ?’

एमालेका प्रमुख सचेतक पदम गिरीले सत्ता पक्षका सांसदले बिनाप्रमाण संसद्बाटै प्रमुख प्रतिपक्षी दलको नेतालाई इंगित गरेर भ्रष्टाचारको आरोप लगाएको भन्दै त्यसबारे सरकारले जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने चेतावनी दिनुभएको हो । पशुपतिमा लगाइएको जलहरीमा सुनको सट्टा पित्तलको प्रयोग भएको वा नभएको भन्ने विषयमा सरकारले पहिले प्रष्ट पार्नुपर्ने माग गर्दै गिरीले भन्नुभयो, ‘यसको सत्यतथ्य कुरा के हो ? यो के आधारमा आएको छ ? के तथ्यमा आएको छ ? सत्तापक्षले प्रतिपक्षलाई यसरी सदनबाट भ्रष्टाचारको आरोप लगाउन मिल्दैन, त्यसको वास्तविकता पत्ता लगाएर सदनलाई जवाफ दिनुपर्छ । प्रतिपक्षीमाथि एकपछि अर्को गर्दै नियोजित ढंगले जान खोजिएको छ, यो स्वीकार्य छैन ।’ माओवादी केन्द्रका लेखनाथ दाहालले जेठ १० गते प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहँदा यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीमा अनियमितता भएको र पशुपतिमा जलहरी लगाउने क्रममा सुनको साटो पित्तल प्रयोग भएको दाबी गर्नुभएको थियो ।

यसैबीच, प्रतिनिधिसभा बैठक आज (शनिबार) पुनः बस्ने भएको छ । शुक्रबार साँझ ६ बजेका लागि तय भएको बैठक अन्तिम समयमा आजसम्मका लागि स्थगित भएको हो । शुक्रबार मध्यान्ह १२ः४५ बजे २० मिनेटका लागि स्थगित भएको बैठक दिउँसो ३ बजेका लागि तय गरिएको थियो । त्यसपछि बेलुकी ६ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा सूचना टाँस गरी स्थगित भएको हो । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार दिउँसो ४ बजेका लागि बैठक तय भएको जानकारी दिनुभयो ।

के हो पशुपतिनाथ मन्दिरको सुनको जलहरी काण्ड ?
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा पशुपति नाथको मन्दिरको गर्भ गृहमा चाँदीको जलहरीको स्थानमा सुनको जलहरी लगाउने निर्णय गर्दै त्यसको कार्यान्वयनसमेत गर्नुभएको थियो । पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला ओलीले सुनको जलहरी राख्न सरकारले ३० करोड दिने घोषणा गर्नुभएको थियो । २०७७ फागुन १२ गते राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरको गर्भ गृहमा रहेको शिवलिंगमा ९६ किलोको सुनको जलहरी राखिएको थियो । त्यसअघि रहेको चाँदीको जलहरीलाई विस्थापित गर्दै सुनको जलहरी राख्ने विषय त्यो बेला निकै विवादसमेत भएको थियो । जलहरी परिवर्तन गरिनु प्राचिन स्मारक ऐनका साथै शैव दर्शन विपरीत भएको तर्कसहित विभिन्न पक्षहरूबाट विरोध पनि भएको थियो । पूर्व बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिव लिंगमुनि सुनको जलहरी राख्ने काम प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको भन्दै सर्वोच्चमा मुद्दासमेत दायर गर्नुभएको थियो । जलहरी राखिसकेपछि सर्वोच्चले तत्काल जलहरी नराख्न भन्दै अन्तरिम आदेशसमेत दिएको थियो ।

२०७० सालमै पशुपति विकास कोषले राख्ने भनेको सुनको जलहरी विवाद भएपछि तत्काललाई रोकिएको थियो भने ओली प्रधानमन्त्री भएका बेला झण्डै एक अर्ब रुपैयाँमा १०८ किलो सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको थियो । ९६ किलोको जलहरी राखे पनि त्यसमा १२ किलो सुन थप्न बाँकी राखिएको थियो । १०८ किलो सुनको जलहरी राख्न ८० करोड रुपैयाँ खर्च लागेको कोषले बताए पनि महालेखाको प्रतिवेदनले भने करोडौँ रुपैयाँको सुन हराएको आशंका गरेको थियो । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा माओवादीका सांसद दाहालले अघिल्लो बैठकमा यसबारे कुरा उठाउनुभएको थियो । सांसद दाहालले ओली प्रधानमन्त्री भएका बेला सुनको भन्दै पित्तलको जलहरी राखेको आरोप लगाएपछि क्रुद्ध भएको एमालेले बैठक अवरुद्ध गरेको हो ।

महालेखाले पनि उठाएको थियो प्रश्न
सत्तापक्षले एमाले अध्यक्ष ओलीलाई निराधार भ्रष्टाचारको आरोप लगाएको भन्दै शुक्रबार एमालेले संसद् अवरुद्ध पा¥यो । एमालेले संसद् अवरोध गर्नेसम्मको विषय बनाएको पशुपतिमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषय यसअघि महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको योजना हो । पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने योजनामा महालेखा परीक्षकको ५९औँ प्रतिवेदनले नै प्रश्न उठाएको थियो । महालेखाले पशुपतिनाथमा जलहरी लगाउने बेला सुनको यकिन विवरण नआएको प्रष्टसँग लेखेको थियो । प्रतिवेदनअनुसार ओली प्रधानमन्त्री भएकै बेला सरकारले पशुपति मन्दिरको शिवलिंगको गर्भगृहलाई पूर्ण रूपले ढाक्ने गरेर १०३ किलो ७७३ ग्राम सुन खरिद गर्न ८० करोड ११ हजार खर्च गरेको थियो । महालेखाले प्रतिवेदनमा लेखेको छ, ‘विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा दुई किलो ८९० ग्राम, चाँदी एक किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ । निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रु. सात करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।’ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बुधबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री ओली सरकारमा बस्दा धेरैवटा भ्रष्टाचारका काण्डहरू आएको र पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने बेला पित्तल लगाएको भन्दै आरोप लगाए पनि त्यसदिन भने एमालेले कुनै प्रतिक्रिया दिएको थिएन ।

जलहरीको बेल्ट बनाएको तथ्यांक र बिल भेटिएन
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले २०७७ फागुनमा पशुपतिमा सुनको जलहरी राख्दा जलहरीको बेल्ट राखेको तथ्यांक र बिल नभेटिएको जानकारी दिनुभएको छ । उहाँले फागुन ११ गते १०६.८२ किलो सुनको जलप लगाइएको जानकारी दिँदै भन्नुभयो, ‘दुई किलो जतिको बेल्ट बनाएर एक सातापछि राखिएको थियो । पछि बेल्ट बनाएर राखिएको तथ्यांक भएन । त्यसको बिल पनि भेटिएन ।’ पशुपतिमा सुनको जलहरी राखिएकै दिन सर्वोच्च अदालतले पुरातात्विक सम्पदामा कुनै पनि चिज चलाउन वा थपघट गर्न नपाइने कानुन भएकाले चरण–चरणमा उक्त काम रोक्न अन्तरिम आदेश दिएको थियो । तर, विरोधका बाबजुद तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी अनावरण गर्नुभएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भने त्यतिबेला एक÷दुई दिनको फरकमा १०८ किलो सुनकै जलहरी पशुपतिमा राखिएको दाबी गर्नुभएको छ । जलहरीमा पित्तल नमिसाएको दाबी गर्दै खतिवडाले भन्नुभयो, ‘१०८ किलो सुन राष्ट्र बैंकबाट किनेर ल्याइएको हो । बैंकले मिसाएको भए थाहा भएन । विश्वास नलागे निकालेर जाँचे हुन्छ । जलहरीलाई बलियो बनाउन एक किलो चाँदी र आधा किलो तामा भने मिसाइएको हो ।’

भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह : अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह भएको जिकिर गर्नुभएको छ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसद्मा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्तिप्रति संकेत गर्दै भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु नै देशद्रोह भएको जिकिर गर्नुभएको हो । अध्यक्ष ओलीले एमाले सधैँ भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउन खोजेको समेत दाबी गर्नुभएको छ । पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘आज संसद् अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार ग¥यो भनेर बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद् अवरुद्ध हुनैपर्छ ।’

छानविन समिति गठन गर्न सांसद दाहालको माग
माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसद्मा पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटनाबारे संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ । शुक्रबारको संसद्मा आफूले यसबारे प्रश्न उठाउँदा संसदीय मर्यादा उल्लंघन नभएको उहाँको भनाइ छ । सांसद दाहालले भने बरु एमाले अध्यक्ष केपी ओलीले नै संसद्मा बोल्दा संसदीय मर्यादा उल्लंघन गर्ने गरेको आरोप लगाउनुभएको छ । संसद् अवरुद्ध भएपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै सांसद दाहालले भन्नुभयो, ‘बरु केपी ओलीज्यूले नै दुई घण्टाको अभिव्यक्तिमा हरेक पाँच मिनेटमा संसदीय मर्यादा उल्लंघन गर्नुहुन्छ । मैले प्रश्न उठाउँदा व्यक्तिमाथि किटान गरेको छैन । तत्कालीन प्रधानमन्त्रीको रूपमा केपी ओलीज्यूले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ भनेको मात्रै हुँ । संसदीय छानविन समिति गठन गरौँ न त । त्यो सुन कसले खायो ? उहाँहरूले आपत्ति जनाउनुपर्ने कुनै आधार छैन । उहाँको सरकारको पालामा भएका भ्रष्टाचारका घटनाको छानविन गरौँ भनेर फेहरिस्त बुझाउने क्रममा मैले पशुपतिको जलहरी लगाउँदा भएको अनियमितताको पनि प्रसंग उठाएको हुँ ।’

सत्तापक्षले प्रश्न गर्नै नपाउने भन्ने कहीँ लेखिएको छैन : राणा
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले सत्ता पक्षले भ्रष्टाचारका सवालमा प्रश्न उठाउनै नपाउने भनेर नियमावलीमा कहीँ पनि नलेखिएको प्रतिक्रिया दिनुभएको छ । एउटा सांसदले सदनमा उठाएको सार्वजनिक महत्वको विषय कुनै छानविन नगरी रेकर्डबाट हटाउन नमिल्ने उहाँको तर्क छ । प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपति मन्दिरमा जलहरी लगाउने बेला तत्कालीन सरकारले भ्रष्टाचार गरेको भन्ने वक्तव्य दिएको विषयमा नेकपा एमालेले संसद् अवरोध गरेपछि प्रतिक्रिया दिँदै सांसद राणाले भन्नुभयो, ‘सत्तापक्षले प्रश्न गर्नै नपाउने भन्ने संसद्को नियमावलीमा कतै पनि छैन । प्रतिपक्षले सरकारमा भएको दललाई गाली गर्ने, सरकारमा भएको दलले चाहिँ चुप लागेर बसिरहनुपर्ने भन्ने हुँदैन । म केपी शर्मा ओली, एमालेको अध्यक्षले भनेपछि कालो पनि सेतो बन्छ भन्ने खालको उहाँहरूको सोच छ । एउटा सांसदले सदनमा उठाएको विषयलाई त्यति हलुका रूपमा लिन मिल्दैन । त्यसबारे छानविन हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?