अर्जुन र किशोरको पुनरागमन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । विकेट किपर अर्जुन साउद र तीव्रगतिका बलर किशोर महतोले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गर्नुभएको छ । नेपालले आगामी महिना जिम्बाबेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटका लागि घोषणा गरेको टोलीमा दुवैजनाले पुनरागमन गर्नुभएको हो ।

नेपालले विश्वकप छनोटका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको हो । अर्जुनले गत डिसेम्बरमा आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया भम्रणपछि नेपाली टोलीमा डेब्यु गर्नुभएको हो । किशोर गत वर्ष भदौमा भएको केन्या भ्रमणपछि पहिलोपटक नेपाली टोलीमा पर्नुभएको हो ।

नेपाल दक्षिण अफ्रिकामा आगामी महिना जिम्बाबेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि बुधबार जानेछ । त्यहाँ दुई वार्मअप खेल खेलेपछि नेपालको विश्वकप छनोट सुरु हुनेछ ।

नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो हुनुहुन्छ ।

नेपाल विश्वकप छनोटको समूह ‘ए’ मा छ । उक्त समूहमा नेपालसँगै वेस्टइण्डिज, जिम्बाबे, अमेरिका र नेदरल्याण्ड्स छन् । समूह ‘बी’ मा आयरल्याण्ड, श्रीलंका, युएई, स्कटल्याण्ड र ओमान छन् । प्रतियोगिता १८ जुन देखि ९ जुलाईसम्म जिम्बाबेमा हुनेछ ।

सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल जिम्बाबेसँग १८ जुनमा खेल्नेछ । नेपालले दोस्रो खेल २० जुनमा अमेरिकासँग खेल्नेछ । नेपालले वेस्टइण्डिजसँग २२ जुनमा खेल्नेछ । नेपालले २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । यदि समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ ।

सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

यदि नेपालले सुपर सिक्समा स्थान बनाउन नसके प्लेअफ खेल्नेछ । फाइनल भने जुलाई ९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले सोमबार नै २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?