आज विश्व दूध दिवस

Read Time = 3 mins

काठमाडौं । दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार भन्ने नाराका साथ बिहीबार विश्व दूध दिवस २०८० विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रिय संघको खाद्य तथा कृषि संगठन(एफएओ)ले जुन १, २००१ देखि विश्व दूध दिवस मनाउन सुरु गरेको हो ।

२३औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने नेपाल डेरी एसोसिएसनले जनाएको छ । केन्द्रीयस्तरमा विश्व दूध दिवस २०८० राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ तथा नेपाल डेरी साइन्स एसोसिएसनको सहयोगमा बालबालिका तथा वृद्धाश्रमका वृद्धवृद्धालाई दुग्धपान, दुग्ध क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरी मनाइने बताइएको छ । प्रदेशस्तरमा पनि दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाले विभिन्न कार्यक्रम गरी दूध दिवस मनाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

दूध दिवसको उद्देश्य दैनिक गुणस्तरीय दूध पिउन जनचेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थ उपभोग वृद्धि गर्न प्रचारप्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउने, दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्‍याउन पहल गर्ने, दूध तथा दुग्ध पदार्थको उपभोगमार्फत् खाद्य पोषण सुरक्षणमा सुनिश्चित गर्न सहयोग पुर्‍याउनेलगायत रहेका छन् ।

सोही अवसरमा बुधबार नेपाल डेरी एसोसिएसनले नवकिरण आश्रमका बालबालिका ललितपुरमा दूध तथा दुग्ध पदार्थ वितरण कार्यक्रम गरेको छ । एसोसिएसन बागमती प्रदेशले सोही आश्रमका बालबालिकाको पढाइ र खानपिनका लागि एक लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । बिहीबार डेरी उद्योग संघले आमाघरका वृद्धवृद्धालाई कालिमाटीमा दूध तथा दुग्ध पदार्थ वितरण गर्ने कार्यक्रम रहेको छ भने सोही दिन कृषि तथा पशुपन्छी विकासमन्त्रीको उपस्थितिमा औपचारिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?