नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीद्वरा हिमलुङ हिमालको सफल आरोहण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । विश्वमा पहिलोपटक नेपाल माउण्टेन एकेडेमीमा अध्ययनरत नौजना विद्यार्थीले हिमलुङ हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल माउण्टेन एकेडेमीद्वारा सञ्चालित पर्वतारोहण अध्ययनको दोस्रो ब्याचको आठौँ सेमेष्टरका विद्यार्थीले सात हजार १२६ मिटरको हिमलुङ हिमालको सफल आरोहण गरेका हुन् ।

स्नातक तहका २१ विद्यार्थीहरूको आरोहणमा एकै समयमा नौ जनाले हिमाल आरोहण गरेका हुन् । पिक प्रमोशन प्रालिले अभियानको व्यवस्थापन गरेको थियो । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध शैक्षिक कार्यक्रममा सात हजार मिटरभन्दा अग्ला हिमाल आरोहणसँगै अध्ययन अनुसन्धानअन्र्तगत विद्यार्थीले हिमाल अरोहण गरेका हुन् । नेपाल माउण्टेन एकेडेमी एक मात्र संस्था हो जसले पर्वतारोहणलगायत पर्वतारोहणमा स्नातक र स्नातकोत्तर अध्ययन गराउने गर्दछ । नेपाल माउण्टेन एकेडेमीका अध्यक्ष वङदी शेर्पाले विद्यार्थीले हिमाल आरोहण गरेर अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम राखेको बताउनुभयो ।

यसअघि विद्यार्थीहरूले छैटौँ सेमेष्टरमा मेरा शिखर ६ हजार ४७६ मिटर र चौथो सेमेष्टरमा चेरगुरी चुचुरो चार हजार ९८३ मिटर सफलतापूर्वक आरोहण गरी अध्ययन गरेका थिए ।

पर्वतारोहण अध्ययन, साहसिक अध्ययनको मास्टर, माउण्टेन र पर्वतारोहण विज्ञानमा स्नातकोत्तर उनीहरूले हिमाल आरोहण र माउण्टेनरिङ क्षेत्रको अध्ययन अनुसन्धान गर्ने गर्दछन् । हिमाल अरोहणका लागि तालिममा ट्रेकिङ गाइड, स्की तालिम, सम्पर्क अधिकृत तालिम, उच्च पर्वतारोहण तालिमसमेत दिँदै आएको छ । हिमाल आरोहण गरेर विश्व कीर्तिमान गर्ने विद्यार्थीहरूमा रोसान्तराज खत्री, सरोज लामिछाने, नवीन उप्रेती, विधान भण्डारी, आशीष खड्का, सौगात अधिकारी, सरोज तामाङ, कुशल रानाभाट, विकास वटाला र प्रशिक्षकहरूमा लामबाबु शेर्पा, छिरिङ जाङ्बु शेर्पा, लाक्पा राण्डु शेर्पा, फुर्वा ग्लेजेन शेर्पा, आङ गेलु शेर्पा, लाक्पा तेन्जी शेर्पा रहेको नेपाल माउण्टेन एकेडेमीले जनाएको छ । हिमलुङ हिमाल तिब्बतको सिमानो नार–फु क्षेत्रमा अवस्थित छ । जुन नेपालको सबैभन्दा पृथक् क्षेत्र हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?