प्रतिवादीको बयान अन्तिम चरणमा, आज तीन जनाको लिने तयारी

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीको बयान अन्तिम चरणमा पुगेको छ । काठमाडौं जिल्ला अदालतले बिहीबारसम्म १५ जना अभियुक्तको बयान लिएको छ । पक्राउ परेका १८ मध्ये बाँकी तीन जनाको आज (शुक्रबार) बयान लिने अदालतको तयारी छ । जिल्ला अदालतले बिहीबार तीन जनाको बयान लिएको छ ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बिहीबार पूर्व-उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पा र अर्का प्रतिवादी शमशेर मियाँको बयान लिइएको हो । अदालतले जेठ १२ गतेदेखि प्रतिवादीहरूको बयान लिन थालेको थियो ।

यसअघि बुधबार चार जनाको बयान लिइएको थियो । न्यायाधीश न्यौपानेको इजलासमा बुधबार प्रतिवादी गोविन्द चौधरी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीको बयान लिइएको थियो । पहिलो दिन दुईजना अभियुक्तको मात्रै बयान लिइएको छ ।

पक्राउ परेकाहरू सबैको बयान सकिएपछि थुनछेक आदेश आउनेछ र अभियुक्तहरूलाई थुनामा पठाउने कि बाहिर राख्ने भन्ने आदेश अदालतले दिनेछ । दुवै पक्षको बहस सकिएपछि इजलासले प्रतिवादीका सम्बन्धमा अदालतमा पेस गरिएका प्रमाण, उनीहरूको बयान र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको अवस्थामा उनीहरूलाई थुनामा पठाउन सक्नेछ । अपराधको मात्रा कम देखिएको वा तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्ने लागेमा इजलासले केही प्रतिवादीलाई साधारण तारेखमा पनि राख्न सक्नेछ भने भागेर अन्यत्र जानसक्ने कतै सम्भावना नदेखेको अवस्थामा धरौटी लिएर पनि तारेखमा बस्ने आदेश दिन सक्नेछ ।

यसअघि नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा संलग्न ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियता विरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

प्रकरणमा जोडिएका ३० जनाविरुद्ध साढे २७ करोड बराबरको बिगो कायम गरी आरोपपत्र दायर गर्नुपर्ने प्रहरीको निष्कर्ष छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व-उपप्रधानमन्त्री रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १७ जना पक्राउ परेका छन् । प्रकरणका आरोपितमध्ये १२ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धान चाँडै निष्कर्षमा पुग्ने अमेरिकाको विश्वास
अमेरिकाले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले शरणार्थी प्ररकणको अनुसन्धान चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेको बिबिसी नेपाली सेवाले जनाएको छ । समाचारमा जनाइएअनुसार दूतावासले प्रकरणमा लागेका आरोपहरू चिन्ताजनक रहेको टिप्पणी गरेको छ । ‘नेपालमा भइरहेको अनुसन्धानबारे आफूहरूले बुझिरहेको भन्दै नेपाल सरकारको प्रतिबद्धताअनुरूप वास्तविकता चाँडै निक्र्याेल गर्ने’ दूतावासकी प्रवक्ता एना रिचे-एलनको विश्वास छ । उहाँले ‘कानुनबमोजिम सत्य उद्घाटित गर्ने नेपाल सरकारको कदमहरूको प्रशंसा’समेत गर्नुभएको छ । बिबिसीका अनुसार यसअघि संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर)ले पनि प्रकरणमा गहिरो चिन्ता प्रकट गरेको थियो । युएनएचसिआरको नेपालस्थित कार्यालयले ‘नेपाली नागरिकहरूलाई झुक्याइएको र ठगी गरिएको’ विषयप्रति आफूहरूको गहिरो चिन्ता रहेको जनाएको थियो । युएनएचसिआरले पनि अनुसन्धानको स्वागत पनि गरेको बिबिसीले जनाएको छ ।

एक फरार अभियुक्त अदालतमा उपस्थित
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थप एक अभियुक्त अदालतमा हाजिर भएका छन् । पक्राउ पुर्जी जारी भएपछि फरार हरिभक्त महर्जन बिहीबार आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । जिल्ला अदालतमा उपस्थित भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको जनाएको छ । बिहीबार अदालतमा उपस्थित हुने महर्जन यसअघि पक्राउ परेकी लक्ष्मी महर्जनका श्रीमान् हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?